
काठमाडौँ, असार २३ । मलेसियामा जारि एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । सोमबार घरेलु टोली मलेसियामाथि सात विकेटको सानदार जित निकाल्दै नेपाली टोली फाइनल प्रवेश गरेको हो ।
टस जितेको नेपाली टोलीले मलेसियालाई पहिलो ब्याटिङको निम्तो दिएको हो । निकै आक्रमक बलिङ गरेको नेपाली बलरसामु मलेसियन ब्याट्समेनहरु धेरै टिक्न सकेनन् । पहिलो इनिङमा नेपालका सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । त्यस्तै तीलकराज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले १–१ विकेट लिए ।
ध्वंसात्मक बलिङ गरेको नेपालले मलेसियालाई ४० ओभर ५ बलमा अल आउट गर्दै ८७ रनमा समेट्यो । मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमीरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाीधक व्यक्तिगत स्कोर हो । वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए ।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर पछ्यायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले यसक्रममा २ चौका र एक छक्का हिर्काए ।
कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए । यसक्रममा उनले पनि समान २ चौका र १ छक्का हिर्काए ।ओपनर पवन सर्राफले १८ रन बनाए ।
अब नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ ।