कीर्ते गरेर गोल्ड मेडल हत्याउनेलाई अख्तियारको मुद्धा, २२४ अंक थपेर तीनवटा डिग्री लिएको खुलाशा !

दियो पोस्ट  


काठमाडौँ, असार २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङमार्फत त्रिविको गोल्ड मेडल हत्याउने सुरेन्द्र प्रसाद कोइराला र उनलाई सहयोग गर्ने अन्य दुईजनाविरुद्ध मुद्धा दर्ता गरेको छ । नम्बर थप गरेरे त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल लिएको र पैसाको प्रलोभनमा परेर कानुनविपरितका काम गरेको भन्दै सुरेन्द्र कोइरालासंगै परिक्षा नियन्त्रण कार्यलयका शाखा अधिकृत रामबहादुर कर्माचार्य र बानेश्वर बहुमुखी क्याम्पसका प्रशासनिक अधिकृत केदार भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिएको हो ।

अख्तियारको अनुसन्धानले पाटन क्याम्पसका सुरेन्द्र प्रसाद कोइरालाले त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यलयमा कार्यरत राम बहादुर कार्कीलाई एक लाख पचास हजार रुपैयाँ दिएर गोल्ड मेडल किनेको देखाएको छ । कार्कीलाई सो रकम दिएपछि उनले गैरकानुनी ढंगले सुरेन्द्रलाई अन्य विद्यार्थीहरुको भन्दा धेरै नम्बर दिएका थिए ।

अख्तियारको अनुसार सुरेन्द्र प्रसाद कोइरालाले अन्य विषयको डिग्री लिँदा समेत आर्थिक चलखेल गरेर नम्बर थप गराएका थिए । उनले ग्रामिण विकासमा स्नातकोत्तर गर्दा नम्बर थप गराउन लगाएर प्रथम श्रेणीमा पास भएको अनुसन्धानाबट खुल्न आएको छ । त्यस्तै एमए समाजशास्त्र तर्फ उनि परिक्षामा अनुपस्थित हुँदासमेत पास भएका छन् । अख्तियारले सुरेन्द्र र राम बहादुर कर्माचार्यको मिलेमतोमा नै अहिलेसम्म नम्बर थपेर पास भइरहेको दावि गरेको छ । आयोगका अनुसार सुरेन्द्रले हालसम्म १५ वटा पेपरमा ३ देखि ५० नम्बर सम्म थप गराएका छन् । कर्माचार्य संगको सेटिङमा अर्थशास्त्र तर्फ पाँच वटै विषयमा दस÷दस नम्बर थपिएको पुष्टि भएको छ ।

सुरेन्द्रलाई आफुमात्र पास भएर चित्त नबुझेपछि वानेश्वर बहुमुखि क्याम्पसका प्रशासनिक अधिकृत केदार भट्टराईलाई समेत नम्बर थपेर पास गराएका छन् । कर्माचार्यसंगकै सेटिङमा सुरेन्द्रले केदार भट्टराईलाई पास गराउनका लागि उनिबाट तीन लाख लिएको खुलाशा भएको छ । केदारलाई समाजशास्त्र तर्फको इकोनोमिक्सका पाँचवटा पेपरमा १०÷१० नम्बर थप गराएर प्रथम श्रेणीमा पास गराइएको अख्तियारले जनाएको ।

गोल्ड मेडल र अन्य विषयमा डिग्री हाँसिल गर्नका लागि सुरेन्द्रले चार लाख पचास हजार खर्च गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । उनले कुल २ सय २४ नम्बर थप गराएका छन् । अख्तियारले सुरेन्द्र प्रसाद कोइराला र रामु कर्माचार्यलाई जनही ४ लाख पचास हजार र केदार भट्टराईलाई तीन लाख विगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।