काठमाडौँ, असार २४ । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा सेमिफाइनलका खेलहरु शुरु भएका छन् । करिब पाँच हप्ताभन्दा बढी समय लिग चरणका खेलहरु भइसकेपछि खेल निर्णायक चरणमा पुगेको हो ।
सेमिफाइनलको पहिलो खेल भारत र न्युजिल्याण्डबिच हुन लागेको छ । मंगलबार म्यानचेस्टरको ओल्ड ट्राफोट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि खेल शुरु हुनेछ ।
जारि विश्वकपमा दुबै टिम अपराजित रहँदै आएका छन् । ८ खेल खेलेको भारतले ७ जित हाँसिल गरेर अंकतालिकाको शीर्ष स्थानमा छ भने ६ खेलमध्य ५ खेलमा विजयी हुँदै न्यूजिल्याण्ड चौथो स्थानमा छ ।
भारत र न्युजिल्याण्डको खेल निकै प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ । जारि विश्वकपमा दुवै टोली लयमा रहेका छन् । भारतका रोहित शर्माले लगातार ५ शतक प्रहार गरेका छन् । उनले एउटै विश्वकपमा सर्वाधिक सतकको कीर्तिमानी कायम गरेका छन् । एकै विश्वकपमा सर्बाधिक रन बटुल्ने भारतीय ब्याट्सम्यान सचिन तेन्दुल्करको ६७३ रनको कीर्तिमानबाट उनी मात्र २६ रनले टाढा छन् ।
भारतीय ओपनिङमा रोहितको जोडी लोकेस राहुलले पनि पछिल्ला २ खेलमा क्रमसः ७७ र १११ रन बटुलेका छन् ।
जसप्रित बुमराहको नेतृत्वमा रहेको भारतीय बलिङ आक्रमण पनि उत्तिकै प्रभावशाली छ । बुमराह आफैं एकरुपको बलिङ गरिरहेका छन् । कप्तान विराट कोहलीले सेमिफाइनलजस्तो महत्वपूर्ण खेलका लागि बलरहरुको सन्तुलन मिलाउन प्रयासरत छन् ।
सन् २०१५ को उपविजेता न्युजिल्याण्डले जारी विश्वकपमा मिश्रित प्रदर्शन गरेको छ । बलरहरुको सानदार प्रदर्शन र ब्याटिङमा कप्तान केन विलियमसनको दूरदर्शी नेतृत्वका कारण उसले सुरुआती ६ मध्ये ५ खेलमा जित हासिल गरेको थियो । जसमध्ये भारतसँगको खेल वर्षाका कारण रद्ध भएको थियो ।
तर पछिल्ला ३ खेलमा लगातार पराजयका बाबजुद उसले अंकतालिकाको चौथो स्थानमा रहेर सेमिफाइनल प्रवशे निश्चित गरेको हो । पाकिस्तानसँग समान ११ अंक भएपछि नेट रनरेटमा न्युजिल्याण्डको भाग्य चम्किएको हो ।
मौसम बाधक
इंग्ल्याण्डको मौसम विभागका अनुसार मंगलबारदेखि वर्षा हुने छ । जसका कारण भारत र न्यूजिल्याण्डको खेल प्रभावित हुने अनुमान गरिएको छ ।
त्यहाँको मौसम बिभागले मंगलबारदेखि तीन दिनसम्म वर्षा हुने अनुमान गरेको छ । जारी विश्वकपमा वर्षा कै कारण भारत र न्यूजिल्याण्डबीचको समूह चरणको खेल प्रभावित भएको थियो ।
यदि मंगलबार वर्षाका कारण पहिलो सेमिफाइनल हुन नसके बुधबार खेल हुने छ । सेमिफाइनल र फाइनलमा रिजर्भ दिन रहेको छ भने यो सुविधा समूह चरणमा थिएन् ।
यदि बुधबार पनि वर्षा भयो भने के हुन्छ त भन्ने प्रश्न पनि गम्भीर बनेको छ । यदि वुधबार पनि पानी परेमा सेमिफाइनल रद्द हुने छ । यस्तोमा भारतलाई फाइदा पुग्ने छ । समूह चरणमा बनाएको रन रेटका आधारमा भारत सिधै फाइनलमा पुग्ने छ ।
समूह चरणमा भारत शीर्ष र न्यूजिल्याड चौथो स्थानमा भएकाले वर्षा भएर खेल रद्द भए शीर्ष स्थानको टिम सिधै फाइनल पुग्ने छ ।