काठमाडौँ, असार २४ । जिल्ला अदालत भक्तपुरले चाँगुनारायणकी सावित्रि भट्टराई हत्यामा संलग्न ४ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।
वयान लिने क्रममा केही प्रतिक्रियाहरु बाँझिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालत, भक्तपुरले भट्टराईकी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइसलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रेमी मोहम्मद नौसादसंग मिलेर इश्वरी भट्टराईले आफ्नै आमाको हत्या योजना बनाएकी थिईन । बयानको क्रममा भने सावित्रिले हत्या योजना नबनाएको बताएकी छिन् । उनले प्रेमिसंग मिलेर आफ्नै आमाको हत्या योजना बनाएको कुरालाई अस्वीकार गरेकी छिन् । वयानको क्रममा आफुले नौसादसंग विवाह गर्न चाहेको तर विवाहकै लागि आफ्नै आमालाई मार्ने योजना भने नबनाएको बताइन् ।
यता इश्वरीका प्रेमी नौसादले भने विवाहकै लागि इश्वरीसंग मिलेर उनकी आमाको हत्या गरेको बताएका छन् । नौसादले आफुहरुको प्रेम सम्बन्धको बारेमा आमालाई थाहा भएको र विवाहको लागि आमा तगारो बन्न सक्ने भएपछि आफुले इश्वरीसंग मिलेर सावित्रिको हत्या योजना बनाएको बयान दिएका छन् । उनले आमालाई मार्नकै लागि भारतबाट दुई किलरहरुलाई बोलाएको समेत वयानमा स्वीकार गरेका छन् । इश्वरीले भने यसबारेमा आफुलाई थाहा नभएको बताएकी छिन् ।
दुईजनाको वयान बाझिएपछि थप अनुसन्धानको लागि अदालतले म्याद थप गरेको हो ।
उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेर १६ असारमा सार्वजनिक गरेको थियो । पहिलो पटक मोहम्मद र ईश्वरीलाई कर्तव्य ज्यान मुद्दामा ७ दिन र भोला र रइसलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।