विप्लव समुहको गोली प्रहारबाट प्रहरी जवानको मृत्यु, विप्लवका जिल्ला इन्चार्ज पनि मारिए !

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २५ । भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुह र प्रहरीबिच भिडण्त भएको छ । सदरमुकामको हटियामा चन्द समुहका कार्यकर्ता र प्रहरी बिच दोहोरो गोली हानाहान हुँदा एक प्रहरी जवान र एक विप्लव कार्यकर्ताको मृत्यु भएको छ ।

प्रहरीसँग आमनेसामने भएपछि विप्लव समुहका कार्यकर्ताले गोली चलाएका थिए । विप्लव कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जीव राईको मृत्यु भएको छ । जवाफी फायरिङमा प्रहरीले चलाएको गोेली लागेर विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको छ ।

गोली लागेर घाइते भएका प्रहरी जवान संजिव र विप्लव कार्यकर्ता निरकुमारको उपचारको क्रममा भोजपुर जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने प्र्रहरी जवान जिल्ला प्रहरी कार्यलय भोजपुरमा कार्यरत थिए । त्यस्तै कार्यकर्ता निरकुमार विप्लव समुहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन ।

घटना विहान ९ बजेको हो ।बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

सिडिओ भन्छन्, ‘शंकास्पद व्यक्तिलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली चलाईयो‘


भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवाडाका अनुसार विप्लव नेृतत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि बढेको भन्नेबारे प्रहरी जानकार थियो। भोजपुर बजारमै विप्लव समूहको शंकास्पद गतिविधि बढेपछि प्रहरीले सर्च अपरेसन चलाएको थियो। सोही क्रममा सादा पोसाकमा आज ५ जना प्रहरी गस्तीमा थिए। सदरमुकामको ७ नम्बरस्थित हटिया लाग्ने ठाउँ प्रहरीमा गस्तीमा थिए। सोही क्रममा शंकास्पद मान्छे आएको जानकारी पाएपछि सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गर्न खोजे। त्यसक्रममा लछारपछार भयो। त्यस बेला प्रहरी जवान सोमनाथ भट्टराईको कुमको हड्डी भाँचियो।

लछारपछारकै क्रममा विप्लव समूहका ती कार्यकर्ताले पेस्तोलले प्रहरी जवान सञ्जीव राईमाथि गोली प्रहार गरे। सँगै रहेका अर्का प्रहरीले पनि त्यसपछि कार्यकर्तामाथि गोली प्रहार गरेका थिए।