काठमाडौँ, असार २५ । प्रतिनिधि सभाको बुधबारको वैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको विरोधपछि संसद वैठकमा अवरोध भएको हो ।
सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दललाई बोल्ने समय नदिएर संसदको कामकारवाही सुचारु गर्न लाग्दा काँग्रेस र राजपाका संसदहरुले उठेर विरोध गरेका थिए । प्रतिपक्षी सांसदहरुले मंगलबारनै आफ्नो कुरा सुनाइसकेको भन्दै सभामुखले बस्नका लागि अनुरोध गरे ।
कैयौँपटकको आग्रहपछि पनि प्रतिपक्षी दल नबसेपछि सभामुखले विरोधकै बिचबाट संसदको कार्यवाही अगाडी बढाएका थिए । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गर्दै बेल घेर्न पुगेका थिए ।
नाराबाजीकै बिचबाट सभामुख महराले प्रतिनिधी सभाका सचिव गोपालनाथ योगीलाई राष्ट्रिय सभाबाट प्राप्त संदेशको जानकारी गराउन अनुरोध गरे । सचिव योगीले विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्रिय ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औँ संसोधन विधेयक सम्वन्धमा राष्ट्रिय सभाबाट प्राप्त संदेशको जानकारी गराएपछि सभामुख महराले आगामी ३० गतेसम्मका लागि प्रतिनिधि सभा वैठक स्थगित भएको जानकारी गराए ।