भोजपुर गोलीकाण्डबारे के भन्छन् आइजीपी सर्वेन्द्र खनाल

दियो पोस्ट  

काठमाडौं, असार २५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकान्डबारे प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।

बुधबार बिहान बसेको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

उनकाअनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक ‘विप्लव’ समूहले गोली प्रहार गरेपछि घटना भएको हो ।

‘प्रहरीजवान सन्जीव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राईलाई पनि गोली लाग्न पुग्यो’–उनले भने ।

गोली लागेका दुवैजनालाई उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त घटनामा प्रहरीजवान थमनाथ भट्टराईको काँधमा गोली लागेकोसमेत खनालले जानकारी दिए ।

सोक्रममा ठूलो चाइनिज पेस्तोल एकथान, त्यसको म्याग्जिन एकथान र उक्त पेस्तोलमा लाग्ने ६ राउन्ड गोली बरामद भएको पनि उनले बताए ।

प्रहरी प्रधान कार्यालयले हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा बुधबार ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि ‘फायर’ गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुईजना प्रहरीजवानसमेत घाइते भएको जनाएको छ ।

उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उक्त समूहका अन्य चाररपाँचजना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

सिफारिस