
काठमाडौं, ३ साउन । नेपाल ट्रष्टको अर्बौंको सम्पत्तिमा यति समुहको हालीमुहाली छ । पर्यटन व्यावसायी सोनाम शेर्पाको स्वामित्व रहेको यति समुहले नेपाल ट्रष्टको हालीमुहाली मात्रै गरेको छैन यति समुहमै कार्यरत एक ब्यक्तिलाई ट्रष्टको बोर्ड सदस्य बनाएको खुुलशा भएको छ ।

सोनाम शेर्पा र उनका भाई स्वर्गिय आङछिरिङ शेर्पासँग निकट सम्बन्ध मात्रै होइन उनीहरुकै लगानी रहेको अल्टिच्युड एयर नामक हेलिकोप्टर अपरेटर कम्पनिमा कार्यरत सिताराम सापकोटालाई नेपाल ट्रष्टको बोर्ड सदस्य बनाइएको छ ।
केही दिनअघि ट्रष्टका अध्यक्ष उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सापकोटा सहितको बोर्ड सदस्यलाई सपथ खुवाएका थिए ।

सापकोटा यति समुहकै लगानी रहेको अल्टिच्युट एयरमा जिएमको रुपमा कार्यरत छन् ।
यति समुहले नेपाल ट्रष्टको स्वामित्वमा रहेको नारायणहिटि दरबार अगाडी दरबार मार्ग ‘प्राईम लोकेशन’मा रहेको १४ आना जग्गामा ठूलो महल बन्दै छ ।
थामसेर्कु ट्रेकिङले मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँमा ३० वर्षका लागि नेपाल ट्रष्टको उक्त जग्गा भाडामा लिएको हो ।

त्यस्तै ट्रष्टकै स्वामित्वको गोकर्णमा रहेको तीन हजार नौ सय ७१ रोपनी जग्गा यति होल्डिङ र एलएस सुवीर ब्रदर्श नेपाल नामक प्रालीले प्रति रोपनी ८ हजार ९ सय ५३ रोपनी जग्गा भाडामा लिएको छ ।

ट्रष्टको संरक्षक प्रधानमन्त्री केपी ओली हुन् । यति समुहको ओलीसँग निकट सम्बन्ध छ ।
तत्कालिन सरकारले पूर्व राजा विरेन्द्र, रानी एश्वर्य र निजहरुको परिवारको देवसान पश्चात उनीहरुको सम्पत्ति राष्ट्रहितमा लगाउने उद्देश्यले ट्रष्ट स्थापना गरेको थियो । तर, राष्ट्रहि तगर्न बनेको ट्रष्टमा माफिया व्यापारीले रजगज गनै थालेपनि सरकार मुकदर्शक बनिरहेको छ ।
नेपाल ट्रष्ट ऐन, २०७५ मा नितिगत रुपमै स्वार्थ देखिने व्यक्ति उक्त संस्थाको बोर्डमा बस्न नपाउने व्यवस्था छ ।

ऐनको दफा ५ (१) मा राष्ट्रहित र सर्वोच्चम हितका लागि मात्रै ट्रष्टको सम्पत्ति प्रयोग हुने व्यवस्था छ । त्यस्तै ५ नम्बर दफामै विश्व विद्यालय, विद्यालय, महाविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न उक्त सम्पत्ति अनुदान दिने व्यवस्था छ ।
त्यतिमात्रै होइन ऐनमा कस्ता व्यक्ति बोर्ड सदस्य बन्न सक्छन् भनेर किटान नै गरिएको छ । सापकोटाको नियुक्ती नै गैरकानुनी देखिन्छ ।

ट्रष्ट ऐनको दफा ७ ‘ग’मा,‘ ट्रष्टसँग कुनै किसिमको ठेक्कापट्टा वा व्यापारिक कारोबारमा संलग्न नभएको वा ट्रष्टको सम्पत्तिसँग कुनै किसिमको स्वार्थ नरहेको’ व्यक्ति बोर्ड सदस्य बन्न सक्ने व्यवस्था छ । तर व्यापारी सोनाम शेर्पाले आफ्नै स्वामित्वको कम्पनिमा कार्यरत सापकोटालाई बोर्ड सदस्य बनाएका छन् ।