काठमाडौँ, साउन ५ । एक साता अघि राजधानीको बालाजुमा हत्या गरिएकी जेनि तामाङको पोस्टमार्टम रिपोर्ट आइतबार शिक्षण अस्पतालले सार्वजनिक गरेको छ । हत्या गरिएकी जेनिशाको पोस्ट मार्टम रिपोर्टमा आत्महत्या देखाइएपछि अस्पताल परिसरमा आन्दोलन र नाराबाजी भएका छन् ।
अस्पतालले अन्याय गरेको र हत्यारालाई जोगाउने कोशिस गरेको भन्दै मानवअधिकारकर्मी सावित्री सुवेदी सहित पिडितहरुले आन्दोलन गरेका हुन । आन्दोलनका क्रममा उनिहरुले जेनिको हत्यारालाई सरकारले जोगाउन खोजेको भन्दै सरकारविरोधी नाराहरु लगाएका छन् ।
आन्दोलित भिड निकै अनियन्त्रित भएपछि नेपाल प्रहरीले लाठी चार्ज समेत गरेको छ । लाठि चार्जबाट एक महिला घाइते भएका छन्। आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले लाठीचार्ज गरेको थियो ।
मानवअधिकारकर्मी सावित्री सुवेदीले जबसम्म अस्पतालले न्याय दिँदैन तबसम्म आफुहरुको आन्दोलन चलिरहने र थप दवाबपुर्ण कार्यक्रमहरु गर्ने चेतावनी दिएकी छिन् । उनले देशमा निर्मला र जेनिजस्ता धेरै छोरीचेलीहरु असुरक्षित भएको भन्दै त्यसको विरुद्ध ढटेर लाग्ने बताएका छिन् ।
यस्तो थियो घटना
जेनिका छिमेकी समेत रहेका बाराकै रमेश सापकोटाका अनुसार जेनि त्रिपुरेश्वरमा बस्दै आएकी थिइन् । उनको स्थाइ घर भने बारा जिल्ला हो । उनको प्रेमी उदयपुर स्थाइ घर भएका भीम बहादुर मगर बालाजुमा बस्दै आएका थिए । एक साता अघि जन्मदिन मनाउनका लागि भीमले जेनिलाई बालाजु बोलाएका थिए । जेनि बालाजु पुग्दा भीम अर्कै केटीसंग बसेको भेटिएपछि दुईजनाबिच विवाद चर्किएको थियो । विवाद उत्कर्षमा पुगेपछि भीमले जेनिको हत्या गरेका थिए ।
उनको पछाडी नीलडाम भेटिएको तथा घाँटीमा समेत चोटहरु लागेको अवस्थामा भेटिएको सापकोटाले दियोपोस्टलाई बताए । घटना भएको एकसाता पछि मात्रै अस्पतालले पोस्टमार्टम रिपोर्ट निकाल्नुले पनि अस्पतालको नियतमाथि प्रश्न उठाउने ठाउँ रहेको उनले बताए ।