काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते एउटा सर्कुलर जारी गरेको थियो । कोरोना महामारीका कारण मारमा परेका ऋणीलाई लक्षित गर्दै राष्ट्र बैंकबाट मान्यता प्राप्त क, ख र ग वर्गका सबै बैंक तथा वित्तिय संस्थाहरुलाई निषेधाज्ञा अवधि सकिएको एक महिनासम्म कुनै पनि ऋणीको घर जग्गा लिलामी नगर्न स्पष्ट निर्देशन थियो ।
‘निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तिय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सुचना वा लिलामी सम्बन्धी सुचना जारी गर्न पाइने छैन,’ राष्ट्र बैंकद्वारा जारी सर्कुलर भनिएको छ । तर, राष्ट्र बैंकको सर्कुलरलाई क बर्गको मेगा बैंक नेपालले अवज्ञा गरेको भेटिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही सेवा सुचारु गरेपनि निषेधाज्ञा अझै जारी छ । तर, मेगा बैंकले निषेधाज्ञा अवधिमै ऋणीहरुको सम्पत्ति लिलामीको सुचना निकालेको पाइएको छ ।
गत साउन ४ गते प्रकाशित नयाँ पत्रिका दैनिकमा ऋणीको घर जग्गा लिलामीको सुचना प्रकाशित भएको पाइएको हो ।
मेगा बैंकले ऋणी एभरेष्ट आउटर वेयर इण्डष्ट्रिज प्रा.लीको नाममा साउन ६ गते ३५ दिने सुचना निकालेको छ । व्यक्तिगत जमानीकर्ताहरु कृष्णहरी घिमिरे र शौरभव घिमिरे तथा कमला घिमिरेको नाममा लिलामी निकालेको छ । त्यस्तै सोही पृष्ठमा ६ दिन भित्र ऋण नतिरे चल अचल सम्पत्ति लिलाम गर्ने अर्को सुचना छ । भुमादेवि गौतमको नाममा रहेको ग्लोबल माउन्टेन आउट वेयर उद्योगलाई ७ दिन भित्र ऋण नतिरे घरजग्गा लिलामी गर्ने सुचना बैंकले निकालेको छ ।
राष्ट्र बैंकका प्रवक्ता भन्छन्,‘सोधी खोजी हुन्छ’
राष्ट्र बैंकका प्रवक्ता देवराज कुमार ढकालले आफूले यस विषयमा सोधीखोजी गर्ने बताए । ‘हामीले यो सर्कुलर राम्रा ऋणीलाई लक्षित गरेर जारी गरेका हौँ । तर, कोही २ वर्षदेखि ऋण नतिरेका छन् भने त बाध्यता हुन सक्छ । तर, म भोली बुझ्छु ।’