काठमाडौं । साताको दास्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ । कारोबार रकममा भने यस दिन उछाल आएको छ । बजार खुलेको सुरुदेखि नै बढेको नेप्से करिब बन्द हुनुभन्दा आधा घण्टा अगाडिदेखि ओरालो लाग्न थालेको थियो । यस दिन बजार २१४८ बिन्दु पुगेर फर्किएको हो ।
लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक २.६८ अंकले घटेर ३९६.१५ बिन्दुमा झरेको छ ।
सोमबार कुल २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर खरीदबिक्री हुँदा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबार रकममा भने उछाल देखिएको छ । एक अर्बको हाराहारीको मात्र कारोबार हुने गरेको बजारमा आज ४ अर्बभन्दा माथिको कारोबार भएको छ ।
आज कुल १३ उपसमूहमध्ये ४ समूहको मात्र सेयरमूल्यमा वृद्धि देखिएको छ भने बाँकी ९ वटा सूचक घटेको छ ।