मंगलबार पनि घट्यो सेयर बजार

दियो पोस्ट  

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ । हिजो ९ अंकले घटेको नेप्से परिसूचक आज भने उच्च अंकले घटेको छ । आज ४६ अंकले घटेसँगै नेप्से परिसूचक २०३० अंकमा आइपुगेको छ ।

कारोबार सुरू भएको समयमा बजार उकालोतर्फ लागेपनि १२ बजेदेखि ओरालो लाग्न सुरू गरेको थियो । त्यसपछि, निरन्तर घट्दै बजार अन्तिम समयसम्ममा ४६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ८६ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यसक्रममा आज कारोबार भएका १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ । निर्जीवन बीमा कम्पनी समूहको सूचक २३९ अंकले घट्दा जीवन बीमा समूहमा २१५ अंकको गिरावट देखिएको छ । यस्तै, उत्पादनमूलक समूहमा १४५ अंकको गिरावट आउँदा लघुवित्त समूह ११३ अंकले घटेको छ ।

यसका साथै, विकास बैंक समूह १०० अंकले घट्दा व्यापार समूह ८५ अंकले र होटल एण्ड टुरिजम समूह ७८ अंकले घटेको छ । यसबीचमा तीन वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्दा नादी ग्रुप पावर र आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर समान ९ प्रतिशतभन्दा धेरैले बढेका छन् ।