बलात्कारबाट जन्मिएका छोराले २८ वर्षपछि आमालाई न्याय दिलाए !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०१, २०७९ | १८:४९:३९

अनु–फूलमती

२८ वर्षअघि एक युवतीलाई उनको गाँउका दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए । त्यतिबेला उनको उमेर १२ वर्ष थियो । उनी गर्भवती भइन् र छोरालाई जन्म दिइन् ।
छोराको जन्म भएपछि उनको जीवनमा धेरै कठिन मोडहरू आए । समाजले पनि साथ दिएन । तर एकदिन जब उनको छोरा १३ वर्षको थियो तब उसले आमालाई सोध्यो,“मेरो बाबा को हो ?

छोराको जिद्धीको कारण २८ वर्षपछि आमाको बलात्कारी पहिचान गरी पक्राउ शुरु भएको छ ।

आउनुहोस् जानौं, समाज र कानुनसँग संघर्ष गर्ने आमा–छोराको कथा र कसरी लडिरेका छन् उनीहरु न्यायको लडाईं ?

नाबालिग छ महिनासम्म लगातार बलात्कृत

२८ वर्ष पुरानो दर्दनाक घटनाको बारेमा जान्न बीबीसीले बलात्कार पीडितलाई उनको घरमा भेट्यो । उनी आफ्ना दुई छोरा र बुहारीसँग भाडाको सामान्य घरमा बस्छिन् ।

सन् १९९४ मा जब उनी १२ वर्षकी मात्र थिइन्,“यो सिलसिला (बलात्कारको) छ महिनासम्म चल्यो । उनीहरूलाई (आरोपी नाकी र राजी) समय मिल्दा बाउन्डरीबाट हाम फालेर आउने गर्थे । मलाई थाहा थिएन् यो सब के हो र किन भइरहेको छ ।”
जब उनको स्वास्थ्य बिग्रन थाल्यो तब उनकी दिदीले उनलाई डाक्टर कहाँ चेकअपको लागि लगिन् । चेकअप गर्दा उनी गर्भवती भएको थाहा भयो ।

उनी भन्छिन्,“डाक्टरले मलाई यो कसले गर्यो भनेर सोध्यो । मैले भने, मलाई नाम थाहा छैन तर दुईजना आएर मलाई यस्तो गरे । दिदीले गर्भपतन गराउनुपर्छ भनिन् । तर गर्भपतन हुन सकेन किनभने मेरो उमेर निकै कम थियो । डाक्टरले गर्भपतन गर्दा यो नाबालिगको मृत्यु हुन्छ र यो गर्भपतन हुन् सक्दैन बताए ।”
बलात्कार पीडित र उनको परिवारले यो दमन विरुद्ध आवाज उठाउन चाहन्थे तर २७ वर्षदेखि उनी आतंकमा बाँचिरहेकी थिइन् ।

उनी भन्छिन्,“उनीहरूले मेरो मनमा जुन आतंक बसाएका थिए, पिटेका थिए, थप्पड हानेका थिए, धम्की दिएका थिए, उनीहरूले यति धेरै आतंक दिएका थिए कि म यति वर्षपछि शाहजहाँपुर जान चाहन्नथे । म डराएको थिएँ किनभने उनीहरूले मेरो दिदी, भिनाजु र परिवारलाई मारिदिने धम्की दिएका थिए ।
“यदि मुख खोल्यो भने घरभर आगो लगाइदिनछौं, जलेर मर्नेछौ र थाहा पनि हुनेछैन भनेर धम्की दिए । सानो उमेर बच्चा बेलामा कसैले यस्तो डर देखाएपछि बच्चा त जे भन्यो त्यही गर्छ नी ? उनीहरु यति धेरै डर देखाँउथे कि यदि तिम्रो मुख खुल्यो भने तिमीलाई यहीँ मारिदिन्छौं भन्थे ।”
प्रहरीमा गएर देशको सेवा गर्ने सपना देखेको उनी बताउँछिन् । तर महिनौंसम्म चलेको बलात्कारको घटनापछि उनको सपना सपना मात्रै रह्यो । उनी भन्छिन्,“म लजालु, सानी, दुब्ली थिँए । म सात कक्षामा पढ्थें । दिदीसँग बस्न शाहजहाँपुर जाँदा धेरै सपना थिए । म ठूलो भएर प्रहरी बन्ने र देशको सेवागर्ने सपना थियो तर ती दुई व्यक्तिका कारण सबै सपनाहरू टुट्न पुगेका छन् । मैले स्कूल छाड्नुपर्यो । मैले पढ्न सकिन ।

आतंकमय वातावरण

त्रासको त्यो माहोलबाट बच्न दिदी–भिनाजुसँग रामपुरमा बस्न लागेको उनी बताउँछिन् । रामपुरमा नै १३ वर्षको उमेरमा उनले छोरालाई जन्म दिइन् ।

उनी भन्छिन्,“जुन बच्चाको लागि मैले यति धेरै दुख सहेकी थिएँ, मैले यति धेरै बलात्कार सहें, मैले उसको अनुहार पनि देखिनँ । जब होश आयो, तब मैले बच्चा कहाँ छ भनेर सोधें,आमाले भनिन्,“अब त्यो बच्चा तिमीलाई जीवनमा कहिल्यै भेटिने छैन ।”

त्यसपछि सन् २००० मा उनको जीवनमा नयाँ मोड आयो । उनको बिहे भयो र उनको अर्को छोरा जन्मियो । उनी भन्छिन्,“विवाह गरेपछि ससुराली घर गएँ । मेरो जीवनमा सबै ठीकठाक चलिरहेको थियो । त्यो घटनालाई म पूर्णतया बिर्सन चाहन्थें । जे भयो, त्यो फेरि दोहोरिओस् भन्ने चाहना थिएन् । तर विवाहको ६ वर्षपछि उनको जीवनमा फेरि एकपटक त्यो घटेको घटनाले स्तब्ध बनायो ।

उनी भन्छिन्,“ममाथि घटेको घटनाबारे श्रीमानलाई कसरी थाहा भयो मलाई थाहा छैन । उनले सबै दोष ममाथि थुपारिदिएर झगडा गर्न थाले । मैले भनेको कुरा केही पनि सुनेनन् । त्यसपछि एक दिन मलाई घरबाट बाहिर निकालियो र म मेरो दोस्रो सन्तान लिएर फेरि दिदी कहाँ फर्केर आँए ।”

१३ वर्षपछि पहिलो पटक आमा छोराको भेट

यसैबीच उनको पहिलो छोरालाई एउटा परिवारले काख लिएको थियो । तर एकदिन कुनै रुपमा तिनीहरु आफ्ना आमाबाबा होइनन् भन्ने कुरा छोराले थाहा पायो ।
आफ्नो छोराको बारेमा उनी भन्छिन्,“गाउँमा मानिसहरूले तिमी जसलाई आमा, बाबा भन्छौ, त्यो तिम्रो होइन भन्थे । त्यसपछि उसलाई यो कुरा थाहा भयो । मुस्लिमको सन्तान हो भनेर उनीहरुले पनि यो कसको रगत हो थाहा छैन भन्दै उसलाई दुर्व्यवहार गर्न थाले ।”

र त्यसपछि एक दिन १३ वर्ष पछि अस्पतालमा एकअर्काबाट अलग गरिएका आमा र छोराको भेट भयो । बच्चालाई काख लिएका परिवारले उसलाई आमाकहाँ फर्काइदिए ।

त्यो क्षण सम्झँदै उनी भन्छिन्,“मेरो छोरो मकहाँ फर्किएपछि मैले उसलाई पहिलो पटक देखेँ । ऊ मसँगै बस्न थाल्यो ।”

तर आमालाई भेटेर पनि छोरा निराश र विचलित थियो ।

उनी भन्छिन्,“त्यो सानो बच्चा निकै डिप्रेसनमा परेको थियो । स्कूलमा केटाकेटीले जिस्काउने गरेकाले उनी स्कुल जाँदैनथे । जसलाई हामीले बच्चा काख लिन दिएका थियौं, उनीहरू बुबाको नाम दिन तयार थिएनन् । उनले भने कि मैले किन दिने मेरो नाम । उनीहरुले आफ्नो नाम दिएनन् । यदि उसको भर्ना गर्न जान्थयौं भनेपनि बुवाको नाम सोधिन्थ्यो । हामी दुवैले कति संघर्ष र निर्दयतामा बाँचेका छौं ।”

छोराले आफ्नो बुबा को हो भनेर जान्न चाहन्थ्यो । उनी भन्छिन्,“ उ भन्छ, म यो संसारमा यसरी आएको हुँ ? मलाई यो संसारमा जबरजस्ती ल्याइएको हो ? न मेरो कोही बाबा छ न त मेरो कुनै पहिचान छ । यस्तो पहिचानलाई बोकेर म के गर्ने ?

आमा छोरालाई समाजमा उठ्नबस्न पनि गाह्रो भएको थियो ।

छोराको प्रश्न

छोरा आफ्नो बुवा र आफ्नो अस्तित्वलाई लिएर सधैं आमालाई प्रश्न गर्थे ।

छोरासँगको बहसको बारे उनी भन्छिन्,“छोराले आमालाई भन्ने गर्थे, उ मेरो बुवा होइन, उनी मेरी आमा होइनन् । तिमी मेरी आमा हौ, तिमीले मलाई मेरो नाम पछिको थर बताइदेउ के हो ?”

छोरा यति धेरै डिप्रेसनमा परेको थियोकि आत्महत्या गर्ने प्रयास समेत गरेको उनले बताइन् । उनी भन्छिन्,“सानैमा म उसलाई गाली गर्थें । तर बिस्तारै ठूलो हुँदै गएपछि डिप्रेसनमा जान थाल्यो । उसले भन्थ्यो म यो नामहीन जीवन बाँच्न सक्दिनँ, म आत्महत्या गर्छु, मलाई स्पष्टसँग सबै भन्नुहोस्, के हो प्रष्ट कुरा । जब उसले आत्महत्या गर्न खोज्यो, हामीले उसलाई बचायौं, बुझायौं र सबै घटना सुनायौं ।

सबै कुरा बुझेपछि छोराले भन्यो,“तपाईंको गल्ती कहाँ छ ? मेरो गल्ती कहाँ छ ? तपाईंले आफ्नो सजाय भोग्नुभयो । यति वर्षसम्म यही कलंक बोकेर बाँच्नुभयो,मेरो जीवन पनि बर्बाद पार्यौ । जसले यस्तो गर्यो उसलाई पहिले सजाय हुनुपर्ने होइन् ? हामी किन संसारबाट यसरी टाढा बस्ने ?

छोराबाट प्रोत्साहन

उनी भन्छिन्,“छोराले मलाई जे भए पनि आमा यो लडाइँ लड्नुपर्छ र मैले उनीहरूलाई पाठ सिकाउनैपर्छ भन्यो । उसले अरू कसैलाई पनि त्यस्तै गरेको हुनसक्छ भन्यो । यदि तपाईं अगाडि आउनुभयो भने हुन सक्छ अझै धेरै मानिसहरु अगाडि आउनेछन् । यसले हाम्रो मुद्दा बलियो हुन्छ र उनीहरुलाई सजाय हुन्छ ।अपराध गरेपछि कोही पनि बच्न सक्दैन भन्ने सन्देश समाजमा जान्छ ।”

छोराबाट हौसला पाएपछि सन् २०२० देखि शाहजहाँपुर जान थाले । तर फर्कन उनको लागि सजिलो थिएन ।

उनी भन्छिन्,“म २०–२५ वर्षपछि शाहजहांपुर गएर रिपोर्ट लेख्न पुगेँ र त्यो पनि निकै डराएको थियो । मलाई उनीहरूले हामीलाई फेरि कतै देखेर त्यस्तो केही नहोस् भन्ने लागिरहेको थियो ।

२०२० मा शाहजहानपुर पुग्दा नयाँ कानुनी संघर्ष सुरु हुँदैछ भन्ने कुरा उनलाई थाहा थिएन ।

उनी भन्छिन्,“एफआइआर गराउन धेरै प्रयास गरेँ, प्रहरी थानाबाट सीधै गर्न सकिएन । अदालत जानका लागि वकिललाई भेट्दा वकिलले भने, ‘यति पुरानो मुद्दा हो, कहाँ भेट्टाउने र तिमीले कसरी प्रमाणित गर्छौ कि तिमी त्यो वर्ष त्यहाँ बस्ने गर्दथ्यौ । मैले म पहिले बसेको घर पनि भेट्टाउन सकिरहेकी थिइन् ।

सहज थिएन् मुद्दा दायर गर्न
“आरोपीहरू पनि फेला परेनन्, सबै कुरा बदलिएको थियो । जब हामी एफआईआर दर्ता गर्न बारम्बार जान्थ्यौं, बारम्बार आउँथ्यौं, वकिल साहेब भन्थे,“म्याम यसमा केही छैन, तपाईं फर्कनुहोस् । तर मैले भनें, मेरो कदमहरु उठिसकेका छन् र म न्याय लिएरै छाड्छु ।

उनले वकिललाई भनिन्,“ तपाईंलाई प्रमाण हामी ल्याइदिन्छौँ, हाम्रो मुद्दा लिनुहोस् ।”

त्यसपछि उनले अदालतमा निवेदन दिईन् । त्यसपछि, शाहजहांपुरको मुख्य न्यायिक मजिस्ट्रेटको आदेशमा मार्च २०२१ मा, सदर बजार थानामा एउटा मुद्दा दर्ता गरियो जसमा हसन उर्फ ब्लेडी ड्राइभर र उनका भाइ गुड्डुलाई अभियुक्त बनाइएको थियो ।

तर पनि २८ वर्ष पुरानो मुद्दामा नयाँ अनुसन्धान थाल्न सजिलो थिएन ।

उनी भन्छिन्,“प्रहरीले आरोपी खोजेर ल्याउनुस भने । त्यसपछि म आफैं खोज्न गएँ । मैले उसलाई भेट्टाएँ र फोनमा पनि कुरा गरेँ । उसले पनि मलाई चिन्यो । उसले भन्यो तिमी नै बोलेको हो नि ? मैले भनें म नै बोल्दैछु । मैले दुवै दाजुभाइसँग कुरा गरेँ । तिमी अझै जीवित छौ, मरेकी छैनौं उनीहरूले भन्न थाले । मैले भनें,म मरेकी छैन,अब मर्ने पालो तिम्रो ।”

मुद्दाको बारेमा उनी भन्छिन्,“सत्य कहिल्यै लुकाउन सकिँदैन, जे सत्य हो, त्यो सधैं बाहिर आउँछ र त्यसैले आज म यो ठाँउमा छु ।”

डीएनए परिक्षणबाट अभियुक्त पक्राउ

पुलिस र पीडितले अभियुक्तको खोजी गरे तर उनीहरूलाई स्क्यानरमा ल्याउन डीएनए परीक्षण आवश्यक थियो ।

उनी भन्छिन्,“एफआइआर दर्ता हुन लागेको बेला मैले प्रहरीलाई सम्पर्क नम्बर दिएँ र त्यसपछि डीएनए परीक्षणको लागि बोलाएँ । पछि नकी हसनको रिपोर्ट पोजेटिभ आयो । यद्यपि यो कसको छोरा हो मलाई थाहा थिएन् । किनभने दुवैले बारम्बार बलात्कार गर्थे ।

यस विषयमा शाहजहांपुर एसएसपी एस आनन्दले बीबीसीलाई भने, “यो केस एकदमै अप्रत्याशित थियो । जब महिला अगाडि आएर उनले मुद्दा दायर गरिन् हामी धेरै छक्क पर्यौं । तर हामीले मौका लियौं र पहिला छोराको डीएनए परिक्षण लिएर सुरु गर्यौं ।”

विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, ‘पहिला अभियुक्तलाई सूचना दिएर प्रहरी चौकीमा बोलाइएको थियो । बोलाएपछि उनीहरुको डीएनए नमुना लिइएको थियो । डिएनए नमुना लिएपछि म्याचिङका लागि पठाइएको थियो । त्यसपछि २०२२ को फेब्रअरीमा डीएनए परिक्षण स्याम्पल म्याच भएर आयो । यति पुरानो घटना भएकाले सोझै जेल पठाउन सकिँदैनथ्यो । महिलाले मेडिकल गर्न अस्वीकार गरेकी थिइन् । २०–२५ वर्षपछि मेडिकलमा केही आउने वाला पनि थिएन् ।”
“उनीहरूले मेरो जीवन बर्बाद गरे”

अन्ततः ३१ जुलाई २०२१ मा प्रहरीले आरोपी राजीलाई पक्राउ गर्यो ।

एसएसपी एस आनन्द भन्छन्,“जब राजीलाई पक्राउ गरियो, हामीजस्तै उनी पनि अचम्ममा परेका थिए कि यति पुरानो केस कहाँबाट बाहिर आयो ।”

त्यसोभए के उनले अपराध स्वीकार गरे भनेर प्रश्न गर्दा एसएसपी एस आनन्द भन्छन्,“हो गरे ।”

पहिलो पक्राउपछि छोराले आमालाई भने,“म धेरै खुसी छु । मलाई दोब्बर खुशी तब मात्रै हुनेछ जब दोस्रो मान्छे(नाकी) पनि पक्राउ पर्नेछ ।

हुनसक्छ, आगामी दिनमा उनी अदालतमा अभियुक्तसँग आमने–सामने हुनेछन् । उनी भन्छिन्,“अदालतमा उनीहरू आमने–सामने भए भने मेरो एउटै इच्छा छ, उनीहरू दुवैलाई दुई थप्पड हान्ने । उनीहरूले मेरो जीवन जसरी बर्बाद गरे, त्यसको लागि जुनसुकै सजाय कम छ । म कडा भन्दा कडा सजाय दिलाउन प्रयास गर्छु ।

कसरी आयो मिडियामा यो घटना ?

अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाका बरेली संवाददाता कंवरदीप सिंहले यस घटनाको बारेमा २०२१ मा थाहा पाए । जब पुलिसले बलात्कार पीडितको निवेदनमा एफआईआर दर्ता गर्यो ।

एक वर्षभन्दा बढी समयदेखि लगातार यस विषयमा रिपोर्टिङ गर्दै आएका कंवरदीप भन्छन्,“जब मैले यो एफआईआर पढ्े मलाई यो जेनुयन लाग्यो । हामीले दैनिक जीवनमा धेरै गुनासो देख्छौं । त्यसैले यो देखेर मलाई वास्तविक हो भन्ने लाग्यो । त्यसपछि मैले एसएसपी र स्थानीय एसएचओलाई भनें कि यो कुरा वास्तविक छ जस्तो देखिन्छ ।”

कंवरदीप भन्छन्,“त्यसपछि मैले बलात्कार पीडित र उनको छोरासँग कुरा गरें र हामीले सकेसम्म मिडियामा कभर गरेका थियौं । हामीले देखेका छौं, यस्ता घटनाहरूमा एफआईआर दर्ता हुन्छ भनेर हामीले कल्पना पनि गर्न सक्दैनौं । तर यस घटनामा न्याय मिल्न थाल्यो ।”

कंवरदीप भन्छन्,“उहाँलाई न्याय दिलाउनमा उनको छोराको महत्त्वपूर्ण भूमिका थियो भन्ने कुरा म भन्छु । बाँकी हामीले हाम्रो रिपोर्टिङ मात्रै गरिरहेका थियौं । यो भन्दा बढि के गर्न सक्थ्यौं ।”

कसरी चलिरहेको छ परिवार ?
अहिले गिरफ्तारी भैरहेको छ र न्याय पाइने देखिएपछि उनी भन्छिन्,“म काम गर्छु । मेरो छोरो पनि काम गरिरहेको छ । कान्छो अहिले पढ्दै छ । उसलाई आईएएस बनाउनु छ । जेठोलाई पढ्न पाएन । किनकि सानैदेखि स्कुल जाँदा उसलाई समस्या हुन्थयो । आइडेन्टीटी कहाँबाट ल्याउने ? त्यसैले उसले पढ्न पाएको छैन । र रहयो कुरा परिवारको, परिवारसँग त म खुसी छु । दुवै बच्चासँग खुसी छु । एउटा राम्रो परिवार छ । काम गर्छौं र घर चल्छ ।

उनी भन्छिन्,“मेरो जेठो छोराले मलाई यति जबरजस्ती गरेको थियोकि आमा तिनीहरुलाई सजाय दिनैपर्छ भन्थयो । मेरो छोराले मलाई धेरै साथ दियो र भन्यो तपाईं लड्नुस हामी तपाईंको साथमा छौं ।

तर के यो परिवारले त्यो घटना र त्यसले भोगेको वर्षौंको यातनाबाट कहिल्यै मुक्ति पाउन सक्छ ?

यसबारे उनी भन्छिन्,“धेरै पुरानो भइसक्यो, तर उनीहरूले हामीलाई दिएका घाउहरू अझै निको भएका छैनन् । आज पनि हाम्रो जीवन ठप्प भएको छ र हामी त्यो पललाई बारम्बार सम्झन्छौं । कहिलेकाहीँ सोच्छौं त्यस्ता ब्वाँसाहरु पनि हुन्छन् जो आफ्नो स्वार्थका लागि बालिकाको जीवन बर्बाद गर्छन् । सबैको आफ्नो जीवन छ, सबैलाई इश्वरले बाँच्ने अधिकार दिएको छ । म फेरि आउनु,लड्नुको कारण हो, मानिसहरुलाई थाहा होस् ।

उनी भन्छिन्,“२८ वर्षअघि मसँग जब यो सबै भयो, मिडिया, मोबाइल केही थिएन । तपाईंले आफैं प्रहरी चौकी जानुपर्थ्यो । अब घरमै बसेर फोन गरेर बोलाउन सकिन्छ ।

उनी आफ्नो संघर्षबाट अन्य महिलाहरूलाई पनि प्रेरित गर्न चाहन्छिन् र भन्छिन्,“ तपाईं उनीहरुविरुद्ध लड्नुहोस्, एफआईआर दर्ता गर्नुहोस् । ताकि अरूको आमा दिदीबहिनीसँग यस्तो बलात्कार गर्ने हिम्मत नहोस् । मानिसहरू चुपचाप बस्छन् । म पनि चुपचाप बसेँ । म पनि सोच्थें, भाग्यमा यस्तो लेखेको हो कि तर त्यस्तो केही होइन् । कसैले जानाजानी यस्तो गर्छ भने यो भाग्यमा लेखेको हँुदैन । प्रहरीमा जानुपर्छ ताकि उसले अरुसंग यस्तो नगरोस् ।”
अन्त्यमा उनी भन्छिन्,“प्रहरी प्रशासनको पूर्ण सहयोग रहेको छ । एउटा पक्राउ पर्यो, अर्को पक्कै पनि समातिन्छ ।”

सम्बन्धित खबर