२२ दिनदेखि धादिङका शिव कुमार बेपत्ता : हत्या गरिएको आशंका बढ्दा प्रहरीको उदासिनता !

दियो पोस्ट  

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५ का ४० वर्षिय शिवकुमार कार्की बेपत्ता भएको महिनादिन पुग्न लागि सक्यो । तर, उनी कहाँ छन् भनेर अहिलेसम्म न प्रशासनले भेउ पाएको छ नत परिवारका सदस्यले । ३५ वर्षीय इन्द्र कँडेलसँग असार ३१ गते घुम्न निस्केका उनको अझै पनि कुनै खबर छैन ।

चार महिना अघि मात्रै कुवेतबाट बिदामा नेपाल आएका कार्की साउन २२ गते रोजगारीका लागि फेरी विदेश जाने तयारीमा थिए ।

बेनीघाट रोराङ गाउँपालिका–५ स्थित एक बारमा मदिरा सेवन गरी निस्केका उनीहरुमध्ये कार्की हराएको थिए ।
हालसम्म पनि नभेटिदा हत्या गरिएको होकी भन्ने आशंकामा उनको परिवार छ ।

शिवले प्रयोग गर्ने मोबाइलबाट कुमारी तिवारीको मोबाइल नम्बरमा पटक–पटक कल गरेको र अन्तिमपटक सम्पर्क भएको समेत देखिएको आधारमा प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीय तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएका साथी इन्द्र कँडेललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनी हराएको सम्बन्धमा खोजबिनको माग गर्दै स्थानीयले बिशालटार प्रहरी चौकीमा धर्ना दिएका छन्, भने बेनीघाटस्थित वडा नम्बर ५ को कार्यालय घेराउ गरेका छन् ।

उनको हत्या भइसकेको स्थानीयहरुको भनाई छ । स्थानीय दिपेश कँडेलका अनुसार शंका गरेको ठाउँमा उनको एउटा चप्पल भेटिएको थियो । “बेपत्ता भएको यत्रो दिन भइसकेको छ । सोधपुछका लागि पक्राउ गरिएकी महिलाले समेत उसलाई हामीले मारेर फालिसक्यौं भनेर बयान दिएकी रहिछन्,” उनले भने,“उनको बयानबारे हामीले सोध्दा प्रहरीले होइन भन्छ ।”

साथै अर्की स्थानीय अमृता श्रेष्ठका अनुसार अहिले पनि स्थानीयले शान्तिपूर्ण तरिकाले धर्ना दिँदै आएका छन् । “साथीसँगै हुक्का बार बाट मदिरा खाएर घर निस्कनु भयो र अबेरसम्म पनि घर नआएपछि परिवारसहित खोज्न थालियो,” श्रेष्ठले भनिन्,“नियन्त्रण लिएकी कुमारी तिवारीको मोवाइल डिटेल निकाल्दा अन्तिम फोन उनकैमा आएको देखियो । उनले प्रहरीसामु हामीले यो ठाउँमा मारेर फालेका हौं भनेर बयान दिएकी रहिछन् । तर अहिले आफ्नो मानसिक संतुलन ठिक नभएको भनेर दाबी गर्दै आएकी छन् । उनको त्यो बयानका आधारमा खोजी गर्न जाँदा त्यहाँ बेपत्ताको एउटा चप्पल मात्रै भेटियो ।” उक्त चप्पल कार्कीकै भएको पुष्टि भइसकेको छ ।
प्रहरी नियन्त्रणमा रहेकी तिवारीले भने पछिल्लो समय बयान फेर्दै आइरहेकी छन् । उनी नाताले शिवकुमारकी माइजु पर्छिन् । कार्कीका दुई जना छोराहरु छन् ।

धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रका अनुसार अहिले पनि खोजी कार्य जारी छ । “उहाँको खोजीका लागि सबै जिल्लाहरुमा हामीले जानकारी पनि दिइसकेका छौं । आशंका गरिएको सबै ठाउँमा पनि खोजतलास गरिसकेका छौं । घटनामा सम्बन्धित व्यक्तिहरु चार जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरिरहेका छौं ।” उनले भने,“उहाँ आएको बाटोमा चप्पल भेटिएको हो तर भएको भए त्यही ठाउँ तिर हुन सक्छ भन्ने आशंका हो । तर उहाँले त्यो आपसपास चाँहि हुन सक्नु हुन्छ भनेको हो । विभन्न तरिकाबाट अनुसन्धान भइरहेको छ ।” तिवारीले भने त्यसरी बयान नदिएको एसपी मिश्रको दाबी छ ।

यो घटनामा राजनीतिक दबाव पनि छ भन्ने हल्ला छ नि ? भन्ने हाम्रो प्रश्नमा मिश्रले भने,“यसमा त्यस्तो कुनै सम्बन्ध छैन । राजनीति त सबैको आ–आफ्नो होला । तर यो घटनालाई मोड्ने गर्ने गरि कुनै पनि राजनीतिक कनेक्सन छैन । बेपत्ता कार्कीको परिवारसँगै हामीले खोजतालस र अनुसन्धान गरिरहेका छौं । अहिले पनि उहाँको छोरा र मेरो टोली सँगै हुनुहुन्छ सायद । स्थानीयहरुले पनि खबरदारी गरिरहुन भएको छ र हामीले पनि आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेका छौं ।”
पहिले इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको थियो तर अहिले जिल्ला प्रहरी कार्यलयमा यसकै लागि टोली गठन गरेर खोजी, अनुसन्धान भइरहेको उनको भनाई छ ।