काठमाडौं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति मकाउको पाचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित गरेको छ । नेपाली कांगेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाश शरण महतले विद्युतिय माध्यमबाट प्रमुख आतिथ्यता गरेका थिए । ‘म यो अधिवेशनको सफलताको कामना गर्न चाहान्छु । मकाउमा नेपाली युवाहरुले मेहनतका साथ काम गरिरहनु भएको छ,’ महतले भने ।
विशेष अतिथि पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले नीति, सिद्धान्त, योगदान र इतिहास नभएका राजनीतिक दलबाट देशको विकासको लागि कुनै योगदान नहुने भन्दै नेपाली कांग्रेसले दीगो विकासको जग बसाल्न महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
उनले भारत जस्ता ठूला राष्ट्रलेको आम्दानको महत्वपूर्ण श्रोत रेमिट्यान्स नै भएको जनाउँदै युवाहरु रोजगारीको लागि विदेश जाँदैमा देश गरिब नहुने तर्क गरे । उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मूल श्रोत भएको दाबी गरे।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले विदेशमा बसेर नेपाली युवाहरुको समस्यालाई पहिचान गरेर सम्पर्क समितिले उत्थानका लागि लडेको जिकिर गरे । उनले जापानमा भएकाे १९ औँ एशियन गेममा सिल्भर उपाधी हासिल गर्ने तेक्वान्दो खेलाडी मानबहादुर शाहीलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै तेक्वान्दो खेलाडी तारा महतलाई मायाको चिनो प्रदान गरेका थिए । मकाउ जनसम्पर्क समितिका संरक्षक सुदर्शन थापाले सहभागीहरुलाई स्वागत मन्तव्य दिएका थिए । उनको नेतृत्वदायी सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वागमती प्रदेशका पर्यटन मन्त्री पुकार महर्जनले पनि शुभकामना मन्तव्य दिएका थिए ।
जनसम्पर्क समिति मकाउका संरक्षक, हङकङ जनसम्पर्क समितिका सभापति , हङकङ जनसम्पर्क समितिका पुर्व सभापति लगायत मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
यसैबीच हङकङका लागि नेपाली महावाणिज्यदूत उदयबहादुर राना मगर र वागमती प्रदेशका पर्यटन मन्त्री महर्जन तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीबीच भेटवार्ता भएको थियो । भेटका क्रममा मकाउस्थित नेपाली युवालाई रोजगारीको अवसरका विषयमा चर्चा भएको थियो ।