विप्लवको द्वेद चरित्र : कार्यकर्ता जिम हल बन्द गर्दै चन्दा असुल्ने नेताजति प्रचण्डसँग सत्ता सहकार्य गर्ने !

दियो पोस्ट  

काठमाडौं । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौैंले विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्यो । काठमाडौंको रातोपुलस्थित एनआरके जिम हाउस बन्द गराएको अभियोगमा काठमाडौं जिल्ला सेक्रेटरी बताउने दिपक मानन्धरलाई पक्राउ गरि हिरासतमा राखेको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार उनले जिम बन्द गराएर पार्टीको न्याय विभागमा सम्पर्क गर्न आग्रह गरेका थिए । सार्वजनिक भएको एउटा पोस्टर अनुसार विप्लव नेतृत्वको नेकपाले अझै पनि न्याय विभाग जिवित राखेको देखिन्छ । अर्थात छुट्टै न्याय विभाग बनाएर वैकल्पिक सत्ताको अभ्यास जारी रहेको प्रमाण यो घटनाले पुष्टि गराउँछ । तर, अर्को नाटकीय राजनीतिक खेलमा पार्टीका महासचिव विप्लव सहभागी छन् । उती सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित निर्माण भएको समाजवादी मोर्चामा समेत सामेल छन् । एकातिर हालको सत्तालाई सहयोग गर्ने गरि राजनीतिक मोर्चाबन्दीमा छन् भने अर्कोतिर आफ्नो पार्टी मार्फत वैकल्पिक सत्ताको अभ्यास गरिरहेका छन् । यसले विप्लवको द्वेद चरित्रलाई समेत प्रष्ट पार्दछ ।

विशेष स्रोतका अनुसार कोमल ढकाल नामक एमालेका एक विवादित पात्रले ३० हजार रुपैयाँमा ठेक्का दिएको थियो । सोही ठेक्कापूर्तिका लागि मानन्धरले अनावश्यक रुपमा जिम हाउस बन्द गराएका थिए । स्रोतले दिएको यो जानकारीलाई विश्वास गर्ने हो भने विप्लवका नेताहरु पेट पाल्नका लागि जे पनि गर्नुपर्ने अवस्थामा पुगेको देखिन्छ । पार्टी महासचिव आफ्नो सुरक्षाका लागि प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गरिरहेका छन् । यता कार्यकर्ता भने वैकल्पिक सत्ताको नाममा आतंक मच्चाइरहेका छन् ।

विप्लव नेतृत्वको नेकपाको दोहोरो चरित्रबारे प्रश्न गर्न उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । निरन्तरको सम्पर्कपछि कलब्याक गरेका उनलाई प्रश्न सोध्ने वित्तिकै फोन काटिदिए ।

सम्बन्धित खबर