‘प्लस टु’ का विद्यार्थीमाथि साउथ वेस्टर्न स्टेट कलेजको ‘लुट’ : कलेज मालिकको अकुत सम्पत्ति

दियो पोस्ट  

काठमाडौं । आधारभूत शिक्षा निशुल्क हुने विषयमा नेपालको संविधान २०७२ को मौलिक हकमै उल्लेख छ । तर, दुई खाले शिक्षा प्रणाली भएको यो मुलुकमा मौलिक हक सम्बन्धी यो व्यवस्था नै कामकाज विहिन बनेको छ । एकातिर सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कँदो छ भने अर्कोतिर यही मौकालाई लिएर निजि क्षेत्रले शिक्षालाई व्यापारीकरण गर्दैछ । निजि कलेजहरुले यतिबेला विद्यार्थी भर्नाको नाममा लुट मच्चाइरहेका छन् । निजि कलेजले विद्यार्थीलाई कति रकम लिन पाउने हो भन्ने यकिन शुल्क निर्धारण समेत राज्यले गरेको छैन । कारण राज्यकै निकायमा रहेका व्यक्तिहरु नै निजि शिक्षाबाट फाइदा असुल्ने धन्दामा छन् ।

राजधानीको बसुन्धारामा रहेको साउथ वेस्टर्न स्टेट कलेजले विद्यार्थीले चर्को शुल्क असुल गरेर लुट नै मच्चाइरहेको छ । आफूलाई आइएसओ ९००१ ः १०१५ पाएको बताउने यो कलेजले माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई चर्को शुल्क उठाउने गरेको छ । तर, सरोकारवाला निकायले थाहा नपाएजस्तो नाटक गरिरहेका छन् ।

एसईई पास भएका विद्यार्थीहरुको घुँइचो हुने यो कलेजमा यतिबेला विद्यार्थीका अभिभावकहरु लुटिएका छन् । विभिन्न शिर्षक बनाएर अभिभावकबाट अशुली धन्दा नै चलिरहेको छ । कलेजले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीलाई ३ लाख रुपैयाँ हाराहारीमा अशुली गरिरहेको छ । भर्ना शुल्क मात्रै २३ हजार ५ सय रुपैयाँ असुली गरिन्छ । ल्याब शुल्कको नाममा वार्षिक १२ हजार रुपैयाँ असुली हुँदो रहेछ । त्यस्तै लाइब्रेरी शुल्कको नाममा ४ हजार रुपैयाँ, एमआइएस ट्रेनिङ एण्ड पब्लिकेशनको नाममा वार्षिक ६ हजार रुपैयाँ, अस्पताल शुल्कको नाममा २ हजार रुपैयाँ र वार्षिक शुल्क भनेर फेरी ४७ हजार ४ सय रुपैयाँ असुली गरिन्छ । त्यतिमात्रै होइन मासिक ट्युशन शुल्क भनेर प्रति विद्यार्थी प्रति महिना ८ हजार ८ सय रुपैयाँ असुली गरिन्छ । कक्षा ११ मा भर्ना भएको विज्ञान संकाय पढ्ने विद्यार्थी मात्रै १ लाख ५३ हजार रुपैयाँ बुझाउनुपर्ने कलेजेल सार्वजनिक गरेको ‘फि स्ट्रक्चर’मा देखिन्छ । तीनै विद्यार्थीले कक्षा १२ मा पुग्दा फेरी १ लाख २९ हजार तिर्नुपर्ने उल्लेख छ ।
त्यस्तै व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीले माथि उल्लेखित सबै उपशिर्षकमा गरेर कक्षा ११ मा १ लाख ३४ हजार र कक्षा १२ मा एक लाख ११ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कानुन र मानविकि संकायका विद्यार्थीले कक्षा ११ मा पनि १ लाख १६ हजार रुपैयाँदेखि १ लाख ४ हजार रुपैयाँ सम्म बुझाउनुपर्छ ।

वार्षिक यतिका रकम बुझाउने विद्यार्थीलाई वार्षिक परिक्षाको नाममा छुट्टै शुल्क लिने गरिएको छ । विभिन्न अन्य कक्षा र अन्य गतिविधिको नाममा समेत विद्यार्थीबाट चर्को अशुली हुने गरेको विद्यार्थीहरु बताउँछन् । वेलकम, फारवेल र पिक्निकको नाममा समेत लाखौँ रुपैयाँ उठाइने गरेको छ । यस्ता कार्यक्रमबाट विद्यालयका शिक्षक तथा व्यवस्थापनले उठाउने शुल्कमा समेत भ्रष्टाचार हुने गरेको छ । यसैबाट केहीले काठमाडौंमा घर घडेरी समेत जोडेका छन् ।

कलेजमा चर्को शुल्क उठाएर राजेन्द्र केसी मालामाल

राजेन्द्र केसी साउथ वेस्टर्न स्टेट कलेजका मालिक हुन् । संस्थापक समेत रहेका उनी कलेजकै प्रिन्सिपल समेत छन् । कलेजमा विद्यार्थीबाट चर्को शुल्क असुलेर उनले काठमाडौंमा अकुत सम्पत्ति जोडेको आरोप छ ।