सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ स्थित सुकुटे विच क्याम्प एडभेन्चर रिसोर्टले सरकारी जग्गा अतिक्रमणगरेको ठहर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त रिसोर्टले अवैध रुपमा सरकारी जग्गा अतिक्रमण गरेर रिसोर्ट संचालन गरेको ठहर गरेको हो ।
कित्ता नम्बर ४३४ र ४२९ को पुरै सरकारी जग्गा र कित्ता नम्बर ४३५ को आंशिक जग्गा गैरकानुनी रुपमा कब्जा गरि रिसोर्ट संचालन गरेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र चौतारा साँगाचोकगढी नगरपालिकालाई कानुन बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो । तर, सुकुटे विच रिसोर्टका मालिक महेन्द्र सिंह थापाले सेटिङ गरेर सिन्धुपाल्चोक ल्याएको हुँ भन्दै आएका सिडिओ भूपेन्द्र थापाको असहयोगका कारण हालसम्म पनि उक्त रिसोर्ट खाली गराउन सकेको छैन ।
स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीले स्थानिय निकायलाई समेत गुमराहमा पार्ने कोशिस गरेका छन् । रिसोर्ट संचालक महेन्द्र सिंह थापाको आर्थिक प्रभावमा परि सिडिओ थापाले अख्तियारको पत्र तथा निर्देशनलाई समेत लत्याएको आरोप छ । अख्तियारले गत वैशाख ३० गते मात्रै होइन पछिल्लो ताकेता समेत गरेको छ । तर, प्रमुख जिल्ला अधिकारी थापाले अख्तियारको निर्देशनलाई मात्रै होइन सिडिओ कार्यालयले गरेको छानबीन प्रतिवेदन समेत गायब बनाएका छन् । छानबीन प्रतिवेदनमा सरकारी जग्गा अतिक्रमण गरिएको ठहर गरेर अख्तियारलाई प्रतिवेदन बुझाइएको थियो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यापालिका बैठकले समेत अख्तियारको निर्देशाअनुसार सार्वजनिक जग्गा खाली गराउने निर्णय गरिसकेको छ । गत असार ७ गते मेयर कृष्ण प्रसाद सापकोटासहितको कार्यापालिका बैठकले अतिक्रमित सरकारी जग्गा संरक्षण गर्ने र कानुनअनुसार सबै अधिकार वडा कार्यालयलाई जिम्मेवारी दिएको थियो । कार्यापालिका बैठकको निर्णय अनुसार वडा नम्बर ३ लाई अख्तियारी समेत दिएको छ । तर, वडा कार्यालयले जिल्ला प्रशासन कार्यायसँग सम्पूर्ण आवश्यक कागजात माग्दा समेत सिडिओ कार्यालय मौन छ । गत साउन ३ गते वडाअध्यक्ष बिमल श्रेष्ठले नगरपालिकाको निर्णय र अख्तियारको निर्देशाअनुसारको सम्पूर्ण प्रतिवेदन माग गर्दै सिडिओ कार्यालयलाई पत्राचार गरेको छ । तर, प्रमुख जिल्ला अधिकारी थापाले निवेदन समेत दर्ता नै नगरी सम्पर्क विहिन भएको आरोप छ । प्रमुख जिल्ला अधिकारी थापालाई रिसोर्ट संचालक थापाले आर्थिक प्रभाव र दबावमा पारेर निवेदन समेत दर्ता नगरेको आरोप छ ।
माओवादी केन्द्र निकट व्यक्तिहरुलाई रजाएर सरकारी जग्गा नै अतिक्रमण गरेपनि संरक्षण पाइरहेका थापाले पछिल्लो समय कांग्रेस नेताहरुलाई समेत हात लिने कोशिस गरिहेका छन् । नेपाली कांग्रेस सत्तामा आएसँगै उनले कांग्रेस नेताहरुको चाकडीमा आफूले हडपेको सार्वजनिक जग्गालाई बैधता दिने कोशिसमा थापा छन् । उनले यही प्रयोजन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई समेत भेटिसकेका छन् । सिंह समक्ष उनले मन्त्रिपरिषदबाट निर्णय गराएर भएपनि सार्वजनिक जग्गा हत्याउन याचना गरेका थिए ।
यसैबीच समाचारका लागि प्रतिक्रिया लिन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई सम्पर्क गर्दा उनले सुकुटे विचलाई सार्वजनिक जग्गा खाली गर्न सुचना जारी गरिसकेको बताए । उक्त सुचना वेभसाइटमा राख्न लगाउने समेत उनको दाबी थियो । तर, लामो समयपछि भने उनले सुचना समेत वेभसाइटमा राखेका छन ।
मेरो तस्विर प्रकाशन गर्न अनुमति लिनुपर्छ : थापा
अपडेट
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफ्नो विषयमा प्रकाशित समाचार झूटो र तथ्यहिन भएको आरोप लगाएका छन् । त्यतिमात्रै होइन जिल्ला प्रशासन कार्यालयाके वेभसाइटमा रहेको उनको तस्विर समेत अनुमति लिएर मात्रै प्रकाशित गर्नुपर्ने अनौठो दाबी समेत गरेका छन् । जबकी यो देशका राष्ट्रपतिको तस्विर समेत संचारमाध्यमले वेभसाइटबाटै लिएर प्रकाशन गर्न पाउँछन् । उनको खण्डन यस्तो छ ।