काठमाडौं । नेपालको सेयर बजार अहिले उछालको गतिमा दौडिरहेको छ । यो क्रममा केही कम्पनीहरुमा लगानीकर्ताको विशेष आकर्षण रहेको छ । सेयरका खेलाडीहरुले खेलेका कारण केही सीमित कम्पनीको सेयरमूल्य रकेटको गतिमा उडाइएको छ । तिनै कम्पनीमध्ये सडकदेखि संसदसम्म चर्चा पाएको एउटा कम्पनी हो नेपाल फाइनान्स कम्पनी लिमीटेड ।
पछिल्लो समय केही खेलाडीहरुले यो कम्पनीको सेयरमा तीव्र खेल खेलिरहेका विषयहरु बाहिर आइरहेका छन । कतिपयले यो कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) थोरै मात्र रहेको र प्रति सेयर नेटवर्थ समेत औसत रहेको तथा नाफा समेत सामान्य मात्र रहेकै अवस्थामा अपरेटरहरु छिरेपछि रु। ३७० प्रतिकित्ताको सेयर मूल्य बढाएर २४०० रुपैयाँसम्म पुर्याइसकिएको र यो बढोत्तरी अस्वभाविक रहेको दाबी गरिरहेका छन् । तर, नेपाल फाइनान्सको एउटा वार्षिक प्रतिवेदनमा यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै लगानीकर्ताले नसोचेको प्रतिसेयर आम्दानी गर्नसक्ने तथ्य फेला परेको हो ।

नेपाल फाइनान्सको वेबसाइटमा प्रकाशित उसको ३१ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)मा यो कम्पनीले केही महिना अघि निश्कासन गरेको १ः०।७० प्रतिशत अनुपातको हकप्रद सेयरको विषय उल्लेख गरिएको छ । अध्यक्षले साधारणसभा प्रस्तुत गरी पारित भएको प्रतिवेदनमा भनिएको छ–‘यस ऐतिहासिक संस्थालाई पुनर्जीवन प्रदान गरी राष्ट्रको आर्थिक तथा वित्तीय क्षेत्रमा योगदान पुर्याउने गरी एक सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्न एवम नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी रु ८० करोडको मापदण्ड पूरा गर्नका लागि गत आर्थिक बर्षमा १ः०।७० को अनुपातमा हकप्रद शेयर जारी पश्चात हाल सस्ंथाको चुक्तापूँजी रु। ७२ करोड ९४ लाख ९६ हजार ७४६ रहेको र बिक्री हुन नसकेको बाँकी हकप्रद शेयर १०,९४,४७१।१८७ कित्ता लिलाम बिक्रीको माध्यमबाट विभिन्न मितिहरुमा सूचना प्रकाशित गरिएको भएतापनि हाल शेयर बजारमा देखिएको शिथिलताको कारणले उक्त शेयर बिक्री हुन नसकेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । तथापी उल्लेखित शेयर बिक्री पश्चात संस्थाको चुक्तापूँजी ८३ करोड ८९ लाख ४३ हजार ८६५ पुग्ने ब्यहोरा समेत यहाँहरुमाझ जानकारी गराउन चाहन्छु।’
अध्यक्ष हिरेन्द्रमान प्रधानले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनमा उल्लेखमा यो अनुच्छेदबाट के बुझिन्छ भने नेपाल फाइनान्सले १० लाख ९४ हजार ४७१।१८७ कित्ता हकप्रद सेयर विगतमा सेयर बजार शिथिल बनेका कारण बिक्री गर्न सकेको थिएन । अर्थात, ठूलो परिमाणमा हकप्रद सेयर बिक्री नभएर थन्किएको छ ।
अहिले नेपाल फाइनान्सको दोश्रो बजार मूल्य बढेर २४०० रुपैयाँ प्रतिकित्ता माथि पुगिसकेको छ । यसको अर्थ अब यो कम्पनीले अहिलेकै समयमा नबिकेको हकप्रद सेयरलाई लिलामीमा राख्ने हो भने प्रतिकित्ता १००० रुपैयाँभन्दा माथि खरीद गर्न चाहनेले हारालुछ गरी दरखास्त दिने निश्चित छ । यदि यस्तो अवस्था भयो भने कम्पनीले चुक्तापूँजीमा १० करोड ९४ लाख रुपैयाँ सपोर्ट हुनेछ भने प्रतिकित्ता न्यूनतम ९०० को दरले प्रिमियम प्राप्त हुनेछ । यसको अर्थ नबिकेको हकप्रदलाई प्रिमियममा बिक्री गरेपछि कम्पनीलाई एकैपटक ९८ करोड ५० लाख अतिरिक्त आम्दानी हुनेछ ।
सेयरहरु बिक्री गर्दा प्रिमियमबाट प्राप्त हुने आम्दानीलाई बैंक तथा वित्तीय संस्थाहरुले सेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न पाउँछन् ।
यस्तो अवस्था बन्यो भने ८३ करोड चुक्तापूँजी भएको नेपाल फाइनान्सले सतप्रतिशतभन्दा पनि बढी लाभांश वितरण गर्नसक्ने क्षमता बनाउनेछ । यसको अर्थ चालु आर्थिक वर्षको पहिलो त्रैमासमै कम्पनीको प्रतिसेयर आम्दानी १२० रुपैयाँ हाराहारीमा पुग्नेछ ।
यदि यो कम्पनीको इपीएस १२० रुपैयाँभन्दा माथि पुग्यो भने बुलिस बजारमा यसको सेयर मूल्य पनि प्रतिकित्ता १० हजार माथि पुग्ने निश्चित देखिन्छ ।
त्यसो त यो कम्पनीले ललितपुर फाइनान्सलाई अक्वायर गर्दा सँगै आएको अर्बिट इन्टरनेशनलमा प्रयोग भएको १३ करोड बढी लोनको एउटा मुद्दा समेत जित्ने अवस्थामा छ । मुद्दाको अन्तिम सुनुवाई केही दिनभित्रै सर्वोच्चले गर्दैछ । यो मुद्दा जितेमा कम्पनीमा हाल देखिएको २० करोडको रिटेन लस (सञ्चित नोक्सानी) ७ करोडमा झर्नेछ । कम्पनीले व्यवसाय विस्तारमा पनि आक्रामक लय पक्रिएकोले त्यो नोक्सानीलाई एक वर्षको कमाईले नै घटाई अर्को वर्षदेखि त्यसै पनि लाभांश बाँड्ने अवस्थामा पुग्नेछ ।
यसरी नियमित लयमा समेत अर्को वर्षदेखि लाभांश बाँड्नसक्ने अवस्थामा रहेको नेपाल फाइनान्सले नबिकेको हकप्रद सेयर बिक्रीको प्रिमियमबाट आफ्नो वित्तीय स्वास्थ्यमा कायापलट गर्ने देखिन्छ ।
नेपाल फाइनान्सका एक उच्च अधिकारीले समेत नबिकेको हकप्रद सेयर बिक्रीको उपयुक्त समय बुलिस बजार सुरु भएको बेला नै रहेको उल्लेख गर्दै प्रिमियममा सेयर बिक्री खुलाउने तयारी भइरहेको पुष्टि गरेका छन् ।