माओवादी भ्रष्टिकरण श्रृङखला : ‘प्रचण्डको भतिजो’का नाममा कहाँबाट आयो करोडौँको जग्गा ?

सुदीप विश्वकर्मा  

काठमाडौं । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ देखि मुलुकमा सशस्त्र जनयुद्ध शुरु गर्यो । सर्वहारा वर्ग (गरिब, सुकुम्बासी, श्रमिक र उत्पीडितहरु)को आफ्नै राज्यसत्ता स्थापना गर्ने हेतुले शुरु भएको जनयुद्धमा नेताहरुले आफूलाई पनि सर्वहाराकरण गर्ने प्रक्रिया थालेका थिए । त्यसका लागि उनीहरुले आफ्नो नाममा भएको सम्पत्ति पार्टीकरण गरेको चर्चा हुन्थ्यो । माओवादी नेताहरुले निजी सम्पत्ति विहिन समाजको परिकल्पना गरेका थिए । आफूलाई सर्वहाराकरण गराउँदा एउटा पुस्तकले वैचारिक उर्जा भरेको थियो—त्यो हो ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ती’ ।

फेडरिख ऐङ्गेल्सद्वारा सन् १८८४ मा लेखिएको यो पुस्तकलाई माओवादीहरुले एउटा ऐतिहासिक भौतिकवादी ग्रन्थ मान्छन् । यो पूस्तकले लैंगिक विभेदमाथि प्रवल आक्रमण गरेको छ । परिवार भन्ने संस्थाको जन्मको ईतिहासमाथि ऐतिहासिक आलोचना गरेको छ । मूलत निजी स्वामित्वले शोषणलाई कसरी बढावादिन्छ भनेर विस्तृतमा चर्चा गरिएको छ । त्यसैलाई अनुशरण गर्दै माओवादीहरुले आफ्ना सम्पत्ति पार्टीकरण गरेका थिए ।

त्यसरी नै पार्टीकरण गर्ने पहिलो पंक्तिमा थिए तत्कालिन समाजका एउटा गुमनाम मान्छे अर्थात — पुष्पकमल दाहाल । उनकै नेतृत्वमा भएको १० वर्षसम्मको सशस्त्र युद्धले उनलाई ‘प्रचण्ड’ बनायो ।

 

१० वर्ष युद्धका क्रममा प्रचण्डले आफ्ना नाममा भएका निजी स्वामित्वका सबै सम्पत्तिहरु पार्टीकरण गरेको बताइन्छ ।
युद्धका क्रममा सर्वहाराकरणकै नितीका कारण माओवादी कार्यकर्ताहरुले उठाएको चन्दा, कब्जा गरेको हतियार, पैसा र सबै सम्पत्तिहरु पार्टीलाई बुझाउँथे । पार्टी नेतृत्व अथार्त ‘हेडक्वार्टर’ वा ‘एचक्यु’को आदेश र साशन माओवादीहरुका लागि सर्वोपरी हुने गर्दथ्यो । अध्यक्ष प्रचण्डले दिएको निर्देशनका आधारमा जनताका छोरा छोरीहरुले उठाएको हतियारको बलमा नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तन पनि भयो ।

यो क्रममा युद्धमा भएको बलिदानको कुनै लेखाजोखा छैन । तत्कालिन राज्यसत्ताले गरेको निर्मम हत्या आतंकबाट १० औँ हजारले ज्यान गुमाएका छन् । हजारौँ बेपत्ता छन् । बेहिसाब घाइते र अपांगहरु छन् । कार्यकर्ताहरुको रगतसँग जोडिएका प्रचण्डलाई ‘जनयुद्धका नायक, जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर, सर्वहारा वर्गको मुक्तिदाता’ भनिन्थ्यो ।

उनै प्रचण्ड शान्ति प्रक्रिया हुँदै पटकपटक सत्ताको नेतृत्वमा पुग्न सफल भए । उनी २०६३ सालपछि ३ पटक मुलुकको प्रधानमन्त्री बनिसकेका छन् । उनी प्रधानमन्त्री नहुँदा उनको दल विभिन्न अन्य दलसँग साझेदारीमा सरकारमै थियो । प्रचण्ड शान्तिप्रक्रियामा आएपछि उनको परिवार र उनको जीवनशैलीबारे विभिन्न अफवाहहरु फैलने गरेका थिए । टावरदेखि बंगलासम्मका खबरहरु आइरहन्थे । दुवईदेखि मलेशियासम्मका मुलुकमा कालोधन लुकाएको आरोपहरु उनीमाथि लाग्थे ।

प्रचण्डले लगाउने घडीदेखि सुत्ने बेडसम्मका चर्चा नभएका होइनन् । तर, ती सबै आरोपहरु विरोधीहरुले चलाएको हल्ला र प्रतिक्रियावादीहरुले लगाएको गलत आरोप हो भनेर माओवादी कार्यकर्ता पंक्तिले प्रतिवाद गर्ने गरेका थिए । तर, आफूलाई सर्वहारा वर्गको मुक्तिदाता भनेर चिनाएका प्रचण्डले परिवारको नाममा निजी सम्पत्ति जोडेको तथ्यगत प्रमाण फेला परेको छ ।

पटक पटक प्रधानमन्त्री हुँदा सम्पत्तिको नाममा केही पनि नदेखाएका हाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका आफ्नै ‘भतिजो’को नाममा भने करोडौँको जग्गा भेटिएको छ । हाल राष्ट्रिय सभा अध्यक्ष समेत रहेका उनका भाई नारायण प्रसाद दाहालका छोरा समिर दाहालले राजधानी काठमाडौंमै करोडौँ मुल्य पर्ने जग्गा आफ्नो नाममा राखेको प्रमाण दियोपोस्टले फेला पारेको हो ।

दियोपोस्टले प्राप्त गरेको जग्गाधनी प्रमाण अनुसार चितवन जिल्ला शिवनगर वडा नम्बर ८ घर भएका नारायाण प्रसाद दाहालका पुत्र शमिर दाहालको नाममा काठमाडौंको धापासी वडा नम्बर ७ मा कित्ता नम्बर १५ मा १५३.७५ वर्गमिटर जग्गा २०७७ माघ ४ गते नै नामसारी भएको देखिन्छ । सोही जग्गा मध्ये ७७ वर्गमिटर भने २०८० असार १ गते कञ्चनपुरको झलारी पिपलाडी नगरपािलका २ घर भएकी तारा चन्दको नाममा दाहालले राजिनामा पास गरेर दिएको भेटिएको छ । उनी भिम बहादुर चन्दकी पत्नि रहेको खुलेको छ ।

भिम चन्द नामले चिनिएका उनीबारे खोजी गर्दा उनी नयाँ पत्रिका दैनिकका मालिक कृष्णज्वाला देवकोटा निकट रहेको तस्विरहरु प्राप्त भएको छ । निकटस्थ स्रोतका अनुसार दाहालले साविककाे धापासी गाविस वडा नम्बर ७ हाल टोखा नगरपालिकामा ९४ आना जग्गा समिर दहालको नाममा राखेकाे प्रमाण फेला परेकाे छ । त्यसमध्ये २२ आना जग्गा गोरखा निवासी अर्जुन तिवारीले खरिद गरेका छन् । उनले दाहालबाट प्रति आना ८० लाखको दरले खरिद गरेको स्रोत बताउँछ । हाल अमेरिकामा रहेका तिवारी यस विषयमा बोल्न चाहाँदैनन् । सोही जग्गामा कुनै समय नेचर क्लब संचालनमा आएको स्थानियबासीको भनाई छ ।

को हुन् नारायण दाहाल कसरी कमाउन सक्छन् सम्पत्ति ?

माओवादी युद्धकालमा प्रचण्डको परिवारको ठूलो योगदान छ । तर, पार्टी भित्रैका उनका आलोचकहरु भने दाहाललाई दिल्ली बसेर परिवारलाई सुरक्षित राखेको आरोप लगाउँछन् । उनै दाहालका १३ दिने दाजु भाई हुन् नारायण प्रसाद दाहाल । हाल राष्ट्रिय सभा अध्यक्ष रहेका दाहाल प्रचण्ड परिवारसँग निकट भएकै कारण पटक पटक सत्ता र शक्तिमा छन् । माओवादी पोलिटब्युरो सदस्य ओम शर्मा संस्थापक रहेको रातोपाटी अनलाइनका अनुसार नारायण दाहालको जन्म २०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा भएको हो । २०१९ सालमा वर्तमान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारसँगै दाहालको परिवार पनि चितवनको शिवनगर बसाइँ आएको हो । प्रचण्ड र नारायणका हजुरबा दाजु—भाई हुन् ।

नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै नारायण दाहाल अनेरास्ववियु तर्फ आकर्षित भएका थिए । प्रचण्डसँगै २०२७ सालमा उनी अनेरास्ववियुमा लागेका थिए । २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालिन सदस्य भएका थिए । २०३६ सालमा भरतपुरस्थित विरेन्द्र क्याम्पसबाट आइए पास गरेका दाहालले भक्तपुर सानोठिमी क्याम्पसबाट स्नातक गरेका थिए । लामो समय भारतीय रोजगारीमा गएका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए । दाहाल २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि नेपाल फर्किएका थिए ।

२०५२ सालदेखि शुरु भएको युद्धकालमा उनी नेपाल बाहिर अर्थात भारतमै सक्रिय थिए । उनै नारायण दाहालका जेठा छोरा हुन् समिर दाहाल। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डको प्रशासनिक सल्लाहकार उनै नारायण दाहाल थिए, भने स्वकिय सचिवमा उनकै पुत्र समिर दाहाल थिए । त्यतिबेला दाहालले प्रचण्डको नाम गरेर कर्मचारी सरुवा र बढुवामा आतंक नै मच्चाएका थिए । प्रचण्डले भाई नारायणलाई शान्तिप्रक्रियामा आएदेखि नै सांसदमा मनोनित गर्न छुटाएका थिएनन् । संविधान जारी भएपछि २०६४ को चुनावमा उनी चितवनबाट निर्वाचित भएर संविधानसभा सदस्य बनेका थिए । २०७० मा भने दाहाल चितवनबाट पराजित भएका थिए । शान्तिप्रक्रियामा माओवादी आएदेखि नै दाहाल सत्ता राजनीतिको केन्द्रमा बसेका थिए । माओवादी भित्रको आन्तरिक राजनीतिमा समेत निर्णायक भूमिका खेल्न पाएका उनले भ्रष्ट नेता र कार्यकर्ताको मलजल गरेको आरोप छ । उनलाई रकम बुझाउने र खुसी पार्नेहरुलाई दाहालले पार्टी भित्र समेत नेता बनाउने र हिजो युद्ध लडेका कार्यकर्तालाई अपमान गरेको आरोप छ । दाहालका कारण ईमान्दार नेता कार्यकर्ता समेत पार्टीबाट अन्यत्र मोडिएको आरोप छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि नारायण कास्कीको ईन्चार्ज बनेका थिए । प्रचण्ड काठमाडौं केन्द्रित भएपछि नारायण पनि राजधानी केन्द्रित बने र बागमती प्रदेशको अध्यक्ष, सचिव, सह—ईन्चार्ज भएका थिए । उनी बागमती प्रदेशको ईन्चार्ज हुँदा पार्टीभित्रका ईमान्दार नेता कार्यकर्तालाई पाखा लगाउँदै भ्रष्ट र गैरराजनीतिक चरित्र भएकाहरुलाई उच्च स्थान दिएको आरोप लाग्ने गरेको थियो । जनयुद्धका शहिद, घाईते र अपांगहरुलाई पार्टीमा स्थान नदिएको उनीमाथिको आरोप थियो । उनै दाहाललाई तत्कालिन प्रधानमन्त्री प्रचण्डले २०७८ चैत्र २५ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका थिए ।

दाहाललाई सदस्य मनोनित गर्दा प्रचण्डामथि परिवारवाद लादेको आरोप लागेको थियो । सार्वजनिक आरोपलाई बेवास्ता गर्दै माओवादी अध्यक्ष दाहालले २७ फागुन २०८० मा भाई नारायणलाई नै राष्ट्रिय सभा अध्यक्षमा मनोनयन गराउन सफल भएका थिए । संविधानीक क्षेत्रका विज्ञलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने भएता पनि ‘एस म्यान’लाई राष्ट्रिय सभाको नेतृत्वमा राख्ने प्रचलनलाई नै प्रचण्डले निरन्तरता दिएको आरोप थियो । उनै नारायणको देखिने आम्दानीको कुनै स्रोत छैन । तर, छोराको नाममा यत्तिका सम्पत्ति कसरी आयो भन्ने प्रश्न उठेको छ ।

 

नारायणका पुत्र समिर दाहाल प्रचण्डको परिवारसँग निकट हुनु बाहेक कुनै देखिने उद्यम उनले गरेको देखिँदैन । उनी निकट स्रोतका अनुसार माओवादी अध्यक्ष सत्तामा आउनुअघि चितवनमा अण्डाको धन्दा गरेका थिए । तर, अण्डामा उनी नराम्रो फन्दामा परे । कतिपय निकटहरुको घर बैंकमा राखेर डुबाइदिएको आरोप उनीमाथि छ । अण्डाको धन्दामा डुबेपछि उनी रोजगारीका लागि रुस पुगेको उनी निकटहरु बताउँछन् । माओवादी अध्यक्ष सत्तामा रहँदा विभिन्न सरकारी सेटिङको काम गरेर उनले बुद्धनगरमा समेत एउटा महल बनाएको माओवादीकै नेताहरु बताउँछन् । उनले नेपालदेखि विदेशसम्म सम्पत्ति लुकाएको आरोपहरु लाग्ने गरेको छ ।

 

सम्पर्कमा आउनै चाहाँदैनन् दाहाल

स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेका समिरको नम्बर खोज्दा विभिन्न ३ वटा मोबाइल नम्बर उपलब्ध हुन पुग्यो । यी नम्बरहरुमा पटक पटक सम्पर्क गर्दा उनको फोन भने लाग्दैन ।

सिफारिस