
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका-३, मा भएको झडपमा मृत्यु भएका रवीन्द्र मेहेताको शव बुझ्न परिवारले अस्वीकार गरेका छन् ।
परिवारले गृहमन्त्री स्वयं उपस्थित हुनुपर्ने, आफ्ना मागहरू सम्बोधन गर्नुपर्ने र सरकारसँग औपचारिक सम्झौता भएपछि मात्र शव अस्पतालबाट उठाउने अडान लिएका हुन् ।
आज उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो । हाल परिवारका सदस्य तथा आफन्त शिक्षण अस्पतालको आईसीयू कक्षबाहिर बसेका छन् । उनीहरूले सरकारसँग सहमति नहुँदासम्म अस्पताल नछोड्ने बताएका छन् ।
यसअघि सोही घटनामा मृत्यु भएका अन्य तीन जनाका परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउनेलगायतका विषयमा सम्झौता गरेको थियो ।
मेहेताका परिवार र आफन्तले पनि आफूहरूसँग त्यही प्रकृतिको सम्झौता भएपछि मात्र शव बुझेर अन्त्येष्टि गर्ने अडान कायम राखेका छन् ।