शालिकरामको आँशु नबुझ्ने रवी लामिछानेका आतंकवादी भिड !

शालिकरामको आँशु नबुझ्ने रवी लामिछानेका आतंकवादी भिड !

रीता बुढाथोकी

काठमाडौं, ६ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन अभियोगमा न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासंग’ कार्यक्रम प्रस्तोता रवी लामिछाने विगत केहिदिनदेखि प्रहरी हिरासतमा छन् ।


चितवनमा उनका समर्थकले नारावाजी गरेर उनलाई ‘फसाउन खोजिएको आरोप लगाइरहँदा मृतक शालिकराम पुडासैनीका परिवारलाई सान्तवना दिने कोही छैनन् । यता, रवीका समर्थकहरुले सामाजिक सञ्जालमा संवेदनाहिन तर्कहरु गरिरहेका छन् । चितवन तनावग्रस्त छ । रवीका समर्थकहरुले छानबीन गर्ने प्रहरी प्रमुख दानबहादुर मल्ललाई सामाजिक सञ्जालबाटै ‘इन्काउन्टर’ गर्ने धम्की दिइरहेका छन् । रवीलाई बचाउने नाममा भइरहेको यो गतिविधिलाई संगठित आतंकवाद भन्दा अन्यथा हुँदैन । समाजमा भ्रम श्रृजना गर्ने आतंक फैलाउने गतिविधि स्वयं रवीकै परिवारबाट भइरहेको छ । उनकी श्रीमति निकिता पौडेल र दाजु हरिशरण लामिछानेले रवीलाई भिडको आडमा मुक्त गराउने प्रयास गरेको आभास हुन्छ ।


हिटलरले भनेका छन्,–‘भिड र स्त्री जहिलेपनि शक्तिशाली पुरुषको पछि लाग्छन् ।’


तर, राज्य कानुन र प्रणाली भिड भन्दा विल्कुल फरक कुरा हुन् । राज्य र कानुनले भिडलाई हेरेर होइन सत्यलाई अबलम्बन गर्नुपर्छ ।


राज्य विरुद्ध गतिविधि गरिहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु पक्राउ पर्ने र छुट्ने प्रक्रिया चलिरहेको छ । प्रहरीले ७५ वटै जिल्ला घुमाउँदै हिँडेको पोलिटब्युरो सदस्य खड्क बहादुर विश्वकर्मा सर्वोच्च अदालतकै आदेशमा पटक पटक छुटे । उनको पक्षमा भिड नभएको होइन तर सर्वोच्चले कानुनमै टेकेर उनलाई छाड्न आदेश दियो ।


कानुनको दृष्टिमा सबै एकै हुनुपर्छ । रवी लामिछाने आम नागरिक भन्दा भिन्न अरु केही होइनन् ।
अन्यथा नलिइयोस, म रवीको बिरोधी होइन । भक्त जहिले पनि अन्धो हुन्छ भन्ने मान्यता छ । र, भक्त पनि म होइन । रवीले आफ्नो कार्यक्रम मार्फत कैयौँको उद्धार गर्न पहल गरेका छन् । उनले प्रस्तुत गरेका बिषय बस्तुहरु जनपक्षिय छन् । त्यसैले त रविलाई जनताले समर्थन गरेका हुन् । यसको मतलब, यो होइन कि, रवीले गरेका गलत कार्यको पनि समर्थन गर्नुपर्छ । यो कदापी हुनु हुँदैन । कार्यक्रम मार्फत रवीले गरेका असल कामको म पनि समर्थक हुँ । यो कार्यको उनको जति प्रशंसा गरे पनि कमै हुन्छ । रवीलाई अलौकिक तत्व अथवा देवत्वकरण गरेर अरु पत्रकारलाई होच्याउँनु कहाँ सम्मको न्याय हो ?


रवीका भक्तहरुबाट म पनि अपमानित हुनु परेको एउटा घटना छ ।


एक दिन बालुवाटारबाट नेपाल यातायातमा चढेर अनामगर जाँदै थिएँ । बसमा यात्रुहरु ठेलम–ठेल थिए । एक यात्रुले जेष्ठ नागरिक सिट ओगटेर बसेका थिए । उनकै छेउमा एक जना बृद्ध उभिरहेका थिए । मैले ति यात्रुलाई बृद्धको लागि सिट छोडिदिन आग्रह गरेँ । तर, उनले सिट छाड्न आनाकानी गरिरहेका थिए । धेरै बेर अनुरोध गरेपछि मात्र उनले सिट छाडे । ति बृद्ध खुसी हुँदै सिटमा बसे । उनले मेरो नाम सोधे । के काम गछौँ भनेर सोधे । मैले आफ्नो परिचय दिएँ । ‘म पत्रकार हुँ’ भन्ने थाहा पाउना साथ ति सिट ओगटेर बस्ने व्यक्ति जंगिए । “तिमीहरु के पत्रकार हौँ ? तिमीहरु नाथे पत्रकार, पत्रकार त रवी लामिछाने हुनु पर्छ ।” म त नाजवाफ भएँ । उनीसंग मुख लाग्नु उचित ठानिन । तर, मनमा एउटा कुरा सधै खड्किरह्यो । रवीलाइ पत्रकार देख्नेहरुले म र म जस्ता मेहनत गरेर समाचार लेख्ने पत्रकार ‘नाथे’ पो हुने रहेछ । हामीलार्ई किन पत्रकार नदेखेका होलान ?
अनि लाग्यो, मैले पत्रकारिता गर्नु गलत थियो या मलाई गलत बनाइँदैछ । यद्यपी, मैले पत्रकारिता पेशा सुरु गरेको एक दशक भन्दा बढि भइसकेको छ । मैले आफु पत्रकार भएकै कारण तितो अनुभव गरेकोे त्यो नै पहिलो घटना थियो ।


१ वर्ष अघि अर्घाखाँचीकी लिला नेपाली रवी लामिछानेलाई भेट्न भन्दै राजधानी आइन् । आफ्नी छोरी समिता नेपालीको बलात्कारपछि हत्या गरिएको र बलात्कारी प्रहरी प्रशासनले नै लुकाएको भन्दै रवीबाट न्याय पाउने आशामा उनी राजधानी आएकी थिइन् । न्यूज २४ को कार्यालय नभेटेर उनी मेरो सम्पर्कमा आइन् । मैले उनलाई लिएर सिधै न्यूज २४ को कार्यालयमा गएँ ।


हामीलाई निकै बेर बाहिरै रिसेप्सनमा रोकेर राखियो । मैले रवीलाई भेट्न आउनु भएकी लिला दिदीको पीडाबारे रिसेप्सनमा जानकारी गराएँ । रिसेप्सनमा बसेकी एक जना महिलाले भित्र फोन गरिन् । भित्रबाट बोलवट भएपछि हामी भित्र गयौँ । म अलि उत्सुक पनि थिँए । किनकी सधै टेलिभिजन सेटमा देखिने, कुशल कार्यक्रम प्रस्तोता, निडर र पीडितहरुका आशाका केन्द्र रवी लामिछानेलाई पहिलो पटक प्रत्यक्ष भेट्दै थिए । मैले लिला दिदीलाई भने, “दिदी, नआत्निुस रवीले पार लाउछन् लपाईको केश । सबैको गरेका छन्, तपाइंको कसो नगर्लान ।”


लिला दिदीको अनुहारमा केही चमक छाएको थियो । छोरीको हत्यापछि पहिलो पटक दिदीको अनुहारमा खुसीका रेखा दौडिरहेका थिए । हामी भित्र गयौँ । भित्र दिपक बोहोरा थिए । बोहोराले ‘किन आउनु भयो’ भनेर हामीलाई सोधे । लिला दिदीले आफुमाथि बज्रपात परेको र न्याय नपाएको कुरा सुनाइन् । दिपकले अर्घाखाँचीका प्रहरी प्रमुखलाई फोन घुमाए । फोनमा प्रहरीले के के भने थाहा भएन । तर उनले सिधै भने, हामीले तपाईको केश हेर्न सक्दैनौ । यो त पुलिस केश हो । लिला दिदीले रिक्वेस्ट गरिन्, “म त टाढाबाट आएकी हुँ, रवी सरलाई नभेटी मैलै न्याय पाउन्न ।

कृपया मलाई मलाई एक पटक रवी सरसंग भेटाइदिनुस् ।” दिपकले सबै केश आफुले हेरेपछि उचित लागे मात्र रवीसंग पुग्ने कुरा बताए । दिदीले अझै ढिपी गरिन् । “मेरो छोरीको न्यायका लागि पैसा लाग्छ भने पनि म खर्च गरुँला । तर, म कहिलेसम्म अन्यायमा परिरहने सर ?” दिपकले भने, “कार्यक्रम प्रशारण हुने भयो भने पैसा लाग्न सक्छ, तर तपाइको केशमा हामीले केही गर्न सक्दैनौँ । त्यसपछि लिला दिदी निन्याउँरो अनुहार बनाएर बाहिरिन् ।


सबैका आशाका केन्द्र भनिएका रवीले आफुलाई चित्त बुझेका मान्छेको मात्र केशमा कार्यक्रम गर्दारहेछन् । या, मृतक शालिकरामले आरोप लगाएजस्तै राम्रै पैसा आउने भए मात्र कार्यक्रममा स्थान दिने हुन कि ? लिला दिदीको अनुहार हेरेर त्यो दिन अध्याँरो बन्यो । लिला दिदीलाई उनले भेट्नै नखोज्नु, दिपक बोहोराले रवीसंग भेट्न नदिनु उनीहरुको आफ्नै सेटिंग होला कतै । मैले चित्त बुझाएँ ।


कुरा रवीको गरौँ । कार्यक्रम ‘सिधा कुरा जनतासंग’मा रवीको प्रस्तुती कडा शैलिको छ । कतिपय केशमा उनले पीडकलाई थर्काउने, धम्क्याउने र सिधै च्यालेन्ज दिने काम पनि गर्छन् । उनको यो कार्य आम पत्रकारिताको मर्म बिपरित नै छ भन्दा फरक नपर्ला । तर पनि पीडितलाई न्याय दिलाएकोमा रवीको तारिफ मैले पनि कैयौँ पटक गरेकी छु । अर्को कुरा, रवीले सिधा कुरा जनतासंग टेलिभिजन कार्यक्रम मार्फत जुन बिषय बस्तु प्रस्तुत गरेका थिए त्यो उनी एक्लैले संभव थिएन । कार्यक्रममा एउटा टिम हुन्छ र त्यो टिमका उनले प्रस्तोताको भूमिका निर्वाह गरेका हुन् ।


हामीले पर्दामा जे देख्छौँ त्यसलाई मात्र सहि ठान्छौँ । हरेक बिषय बस्तुलाई सतही ढंगले बिश्लेषण गर्नु हाम्रो कमजोरी पनि हो । हाम्रो आँखाले देखेको सबै कुरा सत्य हुँदैनन् । पर्दा पछाडीका हिरोहरु त शालिकरामहरु नै हुन् । अनि, रवी लामिछानेलाई पत्रकार भनिएको छ । उनी पत्रकार हुँदै होइनन् । किनकी, नेपालको आधिकारिक पत्रकार हुनका लागि सुचना विभागले जारी गरेको प्रेस प्रतिनिधि कार्ड अनिवार्य हुनु पर्छ । तर, रवी लामिछानेले सुचना विभागको कार्ड लिएका छैनन् ।

उनले खुल्लेयाम सुचना बिभागको प्रेस कार्डको विरोध गर्दै आएका छन् । त्यसैले, रवीलाई आम मेहनती र श्रमजिबी पत्रकारको दाँजोमा राख्न खोज्यो भने श्रमजिबी पत्रकारहरुमाथि अपमान हुन सक्छ ।

कुरा रह्यो, शालिकराम मृत्यु प्रकरणसंगै रवीको पक्राउ । यो प्रकरणमा रवी निर्दोष नै होलान् । या, दोषी पनि हुन सक्छन् । यस बिषयमा प्रहरीले छानबिन गरिरहेको छ, गर्न दिनुपर्छ । तर, आफै कानुन हातमा लिन खोज्नु उदण्ड र उच्श्रृखलताको पराकाष्टा हो ।

जुन सुकै स्तरको अपराधमा फसेको भए पनि रवी लामिछानेलाई छुनै नहुने भन्ने सोचले नेपाली समाज कतातिर जाँदैछ भन्ने प्रतित गराँउछ । र अपराधमा नजोडिएको भए पनि रवी लामिछानेलाई फसाएरै छोड्नुपर्छ भन्ने दुवै मानसिकता समाजका लागि घातक छन् । कसैलाई फसाउने कि जोगाउँने मुख्य कुरा होइन । मुख्य कुरा त घटनाको निस्पक्ष छानविन गरेर दूधको दूध पानीको पानि बाहिर ल्याउँनका लागि रचनात्मक सहयोग गर्नु पनि हो ।


पत्रकार पुडासैनीको मृत्युपश्चात प्राप्त भिडियोमा रविको नाम मुछिएपछि अनुसन्धानका लागि पक्राउ गर्नुु त प्रहरीको दायित्व हो । रवीलाई पक्राउ गर्नासाथ प्रहरीे प्रशासनको बिरोधमा ढुंगा मुडा गर्नु, नेपाल बन्द गर्नु, अदालत घेराउ गर्नु जस्ता कार्य रवि समर्थकहरुले जो गरिरहेका छन्, यस्तो परिस्थितिले रवीलाई झनै दोषि करार गराउनमा भूमिका खेल्छ । रवी निर्दोष नै हुन सक्लान, या पुडासैनीले लगाएको आरोप सही पनि हुन सक्ला । तर, सडकबाट वकालत गर्ने कार्य जाहेज हुँदैन । प्रमाणका आधारमा रवी दोषी या निर्दोष ठहरिएलान ।

त्यो काम अदालतलाई नै छाडिदिऔँ ।
कुनै ब्यक्तिलाई देवत्वकरण गर्दै मृत्युबरण गरिसकेका पुडासैनीलाई अन्याय हुन दिनु हुँदैन । पुडासैनीकी श्रीमती श्रीमान गुमाउँदाको पीडामा बिछिप्त बनेकी छिन् । आमा बेहाल अवस्थामा छिन् । आफै परलोक हुने बेलामा कुनचाँही आमा बुवाले आफ्ना सन्तानको मृत्यु स्वीकार गर्न सक्छन र ? यतीबेला पुडासैनीको परिवारमा भयानक बज्रपात परेको छ । त्यससंगै राज्यले एक होनहार पत्रकार गुमाएको छ । यता पट्टी त कसैको ध्यान पुगेकै छैन । मात्र रवी पक्राउ परेको बिषयले सडक तातिएको छ । रवीका अन्ध समर्थकहरुले पुडासैनीका परिवारको क्रन्दन पनि सुन्नु पथ्र्यो । तर, त्यो कतै देखिएन ।


मन नपरेको मान्छेको बिरोध गर्नु र मन परेको मान्छेको समर्थन गर्नु हरेक कानुनी राज्यमा सबैलाई अधिकार हुन्छ । तर समर्थनका नाममा पुरै अन्धभक्त हुने र बिरोधका नाममा पुरै खुइलाएर निमिट्यान्न पर्ने प्रबृत्तिको बिकास भइरहेको छ । अन्तत्वगोत्वा, यसले क्षती निम्त्याउँछ ।


रवीका समर्थकहरुले भने झैँ रवीले कुनै गल्ती नै गर्नै सक्दैन भन्ने होइन । रवी र शालिकरामले लामो समय एउटै संस्थामा रहेर काम गरेका छन् ।

काम गर्दै जाँदा उनीहरुबीच केही कुरामा असन्तुष्टि पैदा भएको हुन सक्छ । त्यसैले त शालिकरामले रवीको साथ छोडेर अर्कै टेलिभिजनमा हाम फालेको देखिन्छ । हामीले शंका गर्नु पर्ने थुप्रै कारणहरु हुन सक्छन् । जस्तै, शक्ति, सम्पत्ती र स्त्री भोग पनि हुन सक्छ । तर, चितवनमा रवी समर्थकहरुले घटनालाई बिषयान्तर गरेको जस्तो देखिन्छ ।
यद्यपी, रविको नाममा भएको प्रदर्शन, रविको लागी मात्रै होइन । राज्यको न्यायप्रणाली प्रतिको अविश्वास र आक्रोश हो । साँचो अर्थमा सरकारलाई चुनौती पनि हो । यो त लोकतन्त्रको लागी डरलाग्दो स्थिती हो । त्यसकारण दोषिलाई कारवाही र पीडितलाई न्याय दिलाउने पक्षमा राज्य र जनता उभिनै पर्छ ।


अन्त्यमा रवीलाई मानिस भन्दामाथिको केही हो भनेर सोच्नु नै गलत हो । उनी मानिस नै हुन् । उनका सिमा र कमजोरी हुन्छन् त्यो नराम्रो नै हो भन्न सकिँदैन । उनीमाथि पनि राज्यले छानबीन गर्न सक्छ । अदालतले दोषी वा निर्दोष ठहर्याउन सक्छ । भिडले निर्दोष र दोषी करार गरेर हाम्रो समाज कहाँ पुग्ला ? शालिकरामको आँशु नदेख्ने ‘आतंकवादी भिड’ले रवी लामिछानेलाई निर्दोष भन्न कसरी सक्छ ?

Trending News