कृषि बिकास बैंक र मालारानी गाउँपालिकाबीच सहुलियतपुर्ण कर्जा लगानी सम्झौता

दियो पोस्ट  

अर्घाखांची । कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्क र मालारानी गाउँपालिकाबीच स्थानीय क्षेत्रका युवालाई रोजगारीका अवसरहरु श्रीजना गर्ने बिषयमा सम्झौता भएको छ । कोभिड- १९ (कोरोना)का कारण बेरोजगारी बढेको भन्दै त्यसलाई मध्यनजर राखी स्थानीय युवालाई उद्यमशिलतामा सहभागी गराई रोजगार बनाउने उद्धेश्यले बैंक र गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा बिना धितो उपलव्ध गराउने बिषयमा सम्झौता भएको हो ।

मालारानी गाउँपालिकाको कार्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि उक्त सम्झौता गरिएको कृषि विकास बैैक ५ न. प्रदेश कार्यालय भैरहवाका बरिष्ठ व्यवसाय अधिकृत अनिल भुसालले जानकारी दिए । कार्यक्रममा बोल्दै कृषि विकास बैैक ५ न. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले कोभिड–१९ को महामारी बढेको र यसबाट देशको अर्थतन्त्र खस्किएको प्रसंग उल्लेख गर्दै बेरोजगार युवाहरुलाई रोजगारी बनाउने उद्धेश्यका साथ आफुहरुले प्रस्ताव पेश गरेको बताए । बैँकको तर्फबाट आफुहरुले पेश गरेको प्रस्ताव पत्र गाउंपालिकाले सहर्ष स्वीकार गरेर स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७७ समेत पारित गरि कार्यक्रमको लागि अग्रसरता देखाएको निर्देशक थापाले जानकारी दिए । उनले भने-“कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक भएको र बैंकको प्रमुख उदेश्य ग्रामिण क्षेत्रमा बित्तीय पहुचको माध्यमबाट धेरै भन्दा धेरै रोजगारी सृजना गरी आर्थिक रुपमा सवल बनाउने रहेको छ र सो कार्यको लागि गाउपालिकासंग हातेमालो गर्न बैंक तयार छ ।”

निर्देशक थापाले मालारानी गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, बिदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्धन गरी उद्यमशीलता विकास गर्न तथा वित्तीय पहुंचका साथै साक्षरता विस्तार गर्दै बैंक र गाउंपालिकाको सहकार्यमा त्यस क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याउने बारेमा सम्झौता तथा सहमती पत्रको मुख्य उदेश्य रहेको बताए ।

सम्झौता अनुसार कृषि बिकास बैंकले गाउंपालिकाका स्थानीय बासिन्दाहरुलाई बिभिन्न ५ प्रकारका सहुलियतपूर्ण कर्जा बिना धितो प्रदान गर्ने छ । व्यवसायिक कृषि तथा पशुपंछी कर्जा अन्तर्गत १० लाख रुपैँया, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैँया, बिदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैँया, महिला उद्यमशिलता कर्जा १० लाख रुपैँया र दलित समुदाय व्यवसाय बिकास कर्जा स्वरुप १० लाख रुपैँयासम्म गाउंपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । उक्त कर्जाहरुमा महिला उद्यमशिलताको हकमा हाल ३ प्रतिशत व्याज र अन्य कर्जाको हकमा ४ प्रतिशत व्याजदर ग्राहकले तिर्नुपर्ने उल्लेख छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उनले बैँकको सहकार्यका लागि धन्यवाद दिँदै सहुलियतपूर्ण कर्जाको माध्यमबाट गाउँपालिका क्षेत्रका बासिन्दाहरुमा उद्यमशिलताको बिकास गरि रोजगारीका अवसरहरुको सृजना गर्दै समग्र गाँउपालिकाको आर्थिक स्तर उकास्न सकिने धारणा व्यक्त गरे । अध्यक्ष आचार्यले मालारानी गाउँपालिकाकाका युवाहरु स्वरोजगार भई आर्थिक उन्नतीका कायमा सकृय सहभगी हुनेमा आफु बिश्वस्थ रहेको बताए ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रमुख प्रसाशकिय अधिकृत लगायत पालिकाका सम्पुर्ण कर्मचारी, बुद्धिजिवि बर्गहरु, कृषि बिकास बैंकका कर्मचारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।