काठमाडौँ, ७ भदौ । मास्क नलगाई हिँडेका व्यक्तिलाई प्रशासनले पक्राउ सम्म गरिरहेको छ । तर, अरुलाई नियम सिकाउने व्यक्ति भने मास्क समेत लगाउँन जान्दैनन् । त्यसो त कोरोनाले ठूलो सानो भन्दैन । हाम्रा मुलुकका ठूला बडा भनाउँदाहरु भने कोरोनासँग समेत रवाफ देखाउँछन् । उनीहरु सामान्य नागरिकका अघि आफूलाई शासक र प्रशासक ठान्ने घटना नौलो होइन तर रोगसँगै समेत उनीहरुले दादागिरी देखाएका छन् ।
आइतबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सुरक्षाकर्मीको दलबलसहित सीमानाकाको अनुगमनमा निस्किका थिए । अनुगमनका क्रममा नौ वटा मोटरसाइकलमा भारतबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल जफत गरेर वीरगन्ज भन्सारमा बुझाएका प्रजिअ पण्डितले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले उक्त पोस्टमा आफ्नो तस्विर समेत राखेका छन् । अनुगमनका क्रममा खिचिएको उक्त फोटो भने हास्यास्पद देखिन्छ । उनले लगाएको मास्कले मुख र नाक होइन निधार छोपेको थियो । निधारमा रहेको टोपी मुनि उनले मास्क लगाएका थिए ।
तस्विरमा उनले मास्क कतै निधारमा लगाएका छन् भने कतै चिउँडोमा लगाएका छन्।
उनीसँगै रहेका केही सुरक्षाकर्मीले समेत मास्कको सही प्रयोग गरेका छैनन्। फोटोमा प्रजिअ पण्डितसहित सुरक्षाकर्मीहरुबीच पर्याप्त दूरीसमेत कामय गरेको देखिँदैन।
पण्डित भन्छन्,‘जे मन लाग्छ त्यहि लेख्दिनुस्’
उनको मास्क लगाउने तरिकाको विषयमा दियोपोस्टले उनलाई सम्पर्क गरेको थियो । ‘मास्क नलगाएपनि दूरी मिलाएको छु । यसमा तपाईंलाई जे मन लाग्छ लेख्नुस्’ उनले भने ।