काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ ।
मंगलबारको कान्तिपुर दैनिकमा खबर छ – बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० जनकराज दाहालले बताए । सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।
फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिँदै छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि थप निर्णय लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाको संयुक्त सुरक्षा र डीसीसीएमसीको बैठक डाकिएको काठमाडौंका प्रजिअ दाहालले बताए ।
‘मंगलबार तीनवटै जिल्लाको डीसीसीएमसी, सुरक्षा समिति र मेयरहरु सहभागी हुने गरी विभिन्न बैठक डाकेका छौं, संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यसअघि जारी गरिएको निषेधाज्ञाबारे समीक्षा र आगामी निर्णयबारे विस्तृतमा छलफल हुन्छ ।’
प्रजिअ दाहालले निषेधाज्ञाले उपत्यकामा जोखिमको मात्रा घटाउन मद्दत पुगेको दाबी गरे । ‘जोखिम कम गर्न निषेधाज्ञा अझै केही समय लम्ब्याउनुपर्छ भन्ने विभिन्न पक्षबाट रायसुझाव आएका छन्, डीसीसीएमसी र संयुक्त सुरक्षा बैठकमा यसको पनि समीक्षा हुन्छ,’ उनले भने, ‘सायद अर्को एक साता निषेधाज्ञाको अवधि बढ्न सक्छ ।’
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले बुधबारबाट जारी गरिएको एक साता लामो निषेधाज्ञाले जोखिम बढ्न दिएको छैन भन्ने हाम्रो निष्कर्ष हो, सुरक्षा निकाय र स्थानीय तहबाट पनि त्यही किसिमको प्रतिक्रिया आएको छ,’ प्रजिअ भट्टले कान्तिपुरसँग भने, ‘अझै एक साता निषेधाज्ञा बढाएर अझै एक साता निषेधाज्ञा बढाएर ‘समुदायस्तरमै परीक्षणको दायरा बिस्तार र अत्यावश्यकबाहेकका काममा मानिसको आवागमन पूर्ण रूपमा ठप्प पार्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा एक साता बढाउने निर्णय भएको र यसलाई काठमाडौं र ललितपुर प्रशासनसहितको संयुक्त बैठममा पेस गरिने बताइन् । ‘निषेधाज्ञाले जोखिम बढ्न दिएको छैन, अझै एक साता निषेधाज्ञा बढाएर अत्यावश्यक कामबाहेकमा कसैलाई पनि निस्कन नदिने गरी निर्णय हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका छौं,’ प्रजिअ पाण्डेले भनिन्, ‘तर चहलपहल पूर्णरूपमा नियन्त्रण गर्न सकिएको छैन, मर्निङवाक र इभिनिङवाकका नाममा जथाभावी आउजाउ भइरहेको छ, यसबारे आगामी संयुक्त बैठकले अझै कडाइ हुने गरी निर्णय लिन्छ ।’
मन्दिररपाटीपौवा र खुला स्थानमा गएर भीडभाड गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको उनले बताइन् । ‘मर्निङवाकमा निस्किएको मान्छे मन्दिर छेउमा गएर घण्टी बजाउँछ, अर्को मान्छे आएर त्यही घण्टी बजाउँछ, दायाँबायाँ हेर्दै चुरोट पिउँछ, बाहिर सटर बन्द गरेर भित्रबाट खाजा र भट्टी पसल चल्दा रहेछन्,’ उनले भनिन्, ‘संक्रमणमा किन बल प्रयोग गर्नू भनेर हामीले लचकता अपनाएका हौं, अबको निषेधाज्ञामा प्रशासनले त्यस्तो लचकता सहँदैन, निर्मम रूपमा प्रस्तुत हुन्छ ।’ निषेधाज्ञाकै बेला कोरोना परीक्षणको दायरा नबढाए जोखिम नियन्त्रण गर्न कठिनाइ हुने उनले बताइन् ।
काठमाडौंका प्रजिअ दाहालले ‘मर्निङवाक’ मा ननिस्कन बारम्बार आग्रह गर्दा पनि अटेर हुन थालेकोले बल प्रयोग नै गर्न प्रहरीलाई निर्देशन दिइएको बताए । ‘मर्निङवाक, इभिनिङवाक लगायतबाट हुने आउजाउले आफू त जोखिममा परे नै, अरूलाई पनि संक्रमणको दलदलमा फसाउने खतरा भयो,’ उनले भने, ‘अब अत्ति भयो, केही दिनका लागि घरभित्रै बसेर व्यायाम गर्दा हुन्छ, जथाभावी बाहिर निस्किए बल नै प्रयोग हुन्छ । जसले आदेशको उल्लंघन गर्छ, उसले कैद र जरिवानाको सामना गर्न तयार भए हुन्छ ।’ गत मंगलबार राति बसेको उपत्यकास्थित तीन जिल्लाकै संयुक्त सुरक्षा समिति बैठकले अत्यावश्यक र सरकारले आउजाउ गर्न दिने भनी तोकिएबाहेकका वस्तु तथा सेवाको कारोबार र मानिसका आउजाउ भदौ १० गतेसम्मका लागि बन्द गरेको थियो ।