समाजवादमा पुग्ने नेकपा सम्धीवाद तर्फ : ईश्वर पोखरेलका सम्धीलाई सातौँ नियुक्ती !

दियोपोस्ट संवाददाता

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो चुनावी घोषणा पत्रमै समाजवादसम्म पुग्ने लक्ष राखेको हो । दुई पार्टी मिलेर बनेको नेकपालाई जनताले चुनावमा झण्डै दुई तिहाईको मत समेत दिए । तर, यो सरकारका नियुक्तहरु भने पटक पटक विवादमा मुछिँदै आएको छ । लगानी बोर्डका सिइओमा विचौलिया दिपक भट्टलाई नियुक्त गरेको घटना सेलाउन नपाउँदै अर्को नियुक्तीले समाजिक सञ्जाल रंगिएको छ ।


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी नाता पर्ने प्रा.डा उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने गरी सञ्चालक नियुक्ती गरेपछि चर्को आलोचन शुरु भएको हो ।
यस अघि सात स्थानमा नियुक्ती खाएका कोइरालाको योग्यता के हो ? भन्ने बहस समेत शुरु भएको छ । कोइरालालाई अर्थमन्त्रालले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।


मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका थिए । रक्षामन्त्री पोखरेलको दवावमा उनलाई उक्त पदमा नियुक्त गरिएको बताइएको नेकपा भित्रै चर्चा छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्षमा कोइरालालाई नियुक्त गर्ने तयारी सहित लाभको पद दिइएको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था रहेको छ । बुधबार बस्ने बैठकले उनलाई अध्यक्षमा चयन गर्ने स्रोतले बतायो । तर उनको नियुक्ती अघि नै विवादास्पद बनेको छ ।

२०५१ सालदेखि नै कोइरालालाई पोखरेलकै कारण विभिन्न सरकारी निकायमा नियुक्ती दिइँदै आएको छ । उनलाई तत्कालिन एमाले सरकारले खाद्य संस्थानको महाप्रवन्ध नियुक्त गरेका थियो ।
खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए ।

पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । उनी त्यहाँ हुँदा समेत उनको राजिनामा माग गरेर आन्दोलन नै भएको थियो । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ ।

उनले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्ति पाएको बेला भने परीक्षा पुस्तिकाका लागि कमसल कागज खरिद गरेको भन्दै उनीमाथि छानविन समेत भएको थियो । तर, उनीमाथि छानबीन हुँदै गर्दा उनले मध्यपश्चिमाञ्चल विश्व विद्यालयको बन्ने मौका पाइहाले ।


आशिर्वादको भरमा त्यहाँ पुगेका उनले आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध छानविन गर्यो । उनीविरुद्ध विश्वविद्यालयमा आन्दोलनै भएको थियो । उनीमाथि छानबीन चलिरहेकै बेला पोखरेलकै जोडबलमा उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएका हुन् ।

यो नियुक्ती थाहा पाएका नेकपाका कार्यकर्ताले पार्टी सम्धीवादमा पुगेको भन्दै नेताहरुको आलोचना थालेका छन् ।

सम्बन्धित खबर

सिफारिस