कोरोना महामारीमा नीलकण्ठका मेयरको राजनीति : निषेधाज्ञा उलंघन गर्दै भिडभाड गरेर पार्टी प्रवेश !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १२ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । विहिबार मात्रै देशभर १ हजार भन्दा बढी संक्रमित थपिए । कोरोना संक्रमणबाट धादिङ समेत अछूतो रहन सकेको छैन ।

कोरोना संक्रमणबाट निलकण्ठ नगरपालिका १४ धुवाँकोटमा एक जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको दर अन्य क्षेत्रमा भन्दा निलकण्ठमा धेरै छ ।

सोही कारण जिल्ला प्रशासन कार्यालय धादिङले निलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा निषेधाज्ञा जारी छ । भदौ १६ गतेसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । तर, निलकण्ठ नगपालिकाका मेयर भिम प्रसाद ढुंगानालाई भने कोरोना महामारी राजनीतिक अवसर बनेको छ ।

सामान्य जनताको स्वास्थ्यमा खेलवाड गर्दै ढुंगाना पार्टी प्रवेश गराउँदै हिँडेका छन् । कतिपयले यसलाई मेयर ढुंगानाको घिनलाग्दो राजनीतिको संज्ञा दिएका छन् ।


धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ५ खाल्टे डाँडा गाउँमा ढुंगाना सहभागी भएर २३ जना भन्दा बढी कार्यकर्तालाई पार्टी प्रवेश गराएको खुलेको छ । निकै भिडभाड सहित आयोजित कार्यक्रममा बालबालीका समेत सहभागी भएको भिडियोमा देख्न सकिन्छ । मेयर ढुंगानाले नवप्रवेशीहरुलाई पार्टीको परिचय पत्र समेत दिएको बताइएको छ ।


कार्यक्रममा ढुंगानाले कम्युनिष्ट सरकारको चर्को आलोचना समेत गरेका थिए । उनले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओलीले समुन्द्रै नभएको देशमा पानी जहाज ल्याउने सपना बाँढेर झूटो बोलेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर सभापति शम्भु सिंह ठकुरी, नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरी अधिकारी लगायत सहभागी थिए ।


जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई दियोपोस्टले यहि विषयमा प्रश्न गरेको थियो । उनका अनुसार तोकिएको क्षेत्रहरुमा अलि कडाई गरिएको र जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लाका कुनै पनि स्थानमा भिडभाड गरेर कार्यक्रम गर्न पाइँदैन । सिडिओ पौडेलका अनुसार मेयर ढुंगानाले निषेधाज्ञा उलंघन गरेर पार्टी प्रवेश कार्यक्रम गरेको विषयमा अहिले जनप्रतिनिधि सहित बैठक बसिरहेको छ । ‘म अहिले त्यही बैठकमा छु । त्यही विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

सम्बन्धित खबर