काठमाडौं, २४ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गिरीबन्दु टि स्टेटको जग्गा प्रकरणमा ‘आफूलाई फसाइए’को प्रतिक्रिया दिएका छन् ।
शनिबार आफू निकटस्थहरुसँगको छलफलमा उनले आफ्नो सचिवालयकै व्यक्तिहरु प्रति रोश प्रकट गरेका हुन् । ‘त्यो प्रकरणमा लेनदेन भएको मलाई थाहा छैन । मलाई त राम्रो मात्रै सुझाव दिए । तर, अर्बौंको लेनदेनको कुरा आएपछि म झस्किएँ,’ ओलीको भनाई उदृत गर्दै शनिबार ओलीसँग भेटेर फर्किएका झापाकै एक नेताले भने,‘जस–जसले यो गरेको हो । उनीहरुलाई कठघरामा ल्याइयोस् । मेरै सचिवालयका मान्छे समलग्न छन् भने पनि छाड्न हुन्न ।’
उनी निकट ती व्यक्तिका अनुसार ओलीले तत्कालिन राजनीतिक सल्लाहाकार तथा हाल एमालेका स्थायी समिति सदस्य विष्णु रिमाल र स्वकिय सचिव तथा साला नाता पर्ने राजेश शाक्य प्रति चर्को आलोचना गरेका थिए । ‘हामीलाई देखाउन उहाँले दोहोरो व्यावहार देखाउनु भएको होइन जस्तो लाग्छ । तर फेरीपनि निर्णय त उहाँकै पालामा भएको हो । उहाँमाथि आरोप छ । झापाली जनताले पनि यो विषयमा प्रश्न गरेका छन्,’ उनले भने ।
झापाको विर्तामोड बजार नजिकै रहेको विर्तामोड नगरपालिका र अर्जुन धारा नगरपालिकामा ३ सय ४१ विघा जग्गा गिरीबन्धु टि स्टेटको नाममा रहेको थियो । भूमि सम्बन्धी ऐन २०२१ मा हदबन्दी भन्दा बढीको जग्गा स्वत सरकारमा फिर्ता हुने व्यवस्था छ । तर, राजाकालमा समेत उक्त जग्गा कसैले चलाउन सकेको थिएन ।
झापाकै केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पटक पटक ऐन संशोधन गर्ने कोशिस गरेका थिए । पछिल्लो पटक गत माघमा संसद विघटन गरेपछि ओली सरकारले भूमि सम्बन्धी ऐनको १८ औं संशोधन गर्दै उक्त जग्गा सट्टा पट्टा गर्ने तजबिजको अधिकार मन्त्रिपरिषदलाई हुने व्यवस्था गरेको थियो । गत असार २४ गते ओलीको मन्त्रिपरिषदको बैठकले गिरीबन्धुको नाममा रहेको ३ सय ४१ विघा जग्गा किनबेच गर्न दिने निर्णय गरेको थियो । उक्त जग्गाको मुल्य प्रति कठ्ठा १ करोड भएपनि भूमाफियाहरुले प्रति कठ्ठा केही लाखमै हात पारेर नजिकै पृथ्वी नगरमा रहेको केही जग्गा चिया बगानलाई उपलब्ध गराउन लागेका थिए । उक्त क्षेत्रमा स्मार्ट सिटिको नाममा घर जग्गा प्लटिङ गर्ने र बेचविखन गर्ने खेल शुरु भएको थियो ।