काठमाडौं, ३० साउन । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पोर्चुगलबाट पक्राउ गरेको छ ।
सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देवः विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप लागेकामध्ये काभ्रे भुम्लु गाउँपालिका–१ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको हो ।
नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् ।
मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको सिआइबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंकका विभिन्न शाखा कार्यालयमा विभिन्न सवारी साधन सुरक्षण वापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रुपैयाँ लिएका थिए । उनीहरुले ऋण नतिरेपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी पाएका थिए ।
नक्कली कागजात आधारमा ऋण दिने बैंकका उच्च अधिकारीले भने उन्मुक्ति पाएका छन् ।