Exclusive खुलाशा, ‘महामारीमा महाअपराध’ : लम्पी स्किन रोग विरुद्धको खोप नै नक्कली !

‘महामारीमा खोप किर्ते गर्नु महाअपराध हो’

- सुदीप विश्वकर्मा / खुमा वली  

 

काठमाडौं । आजभन्दा २ वर्षअघिदेखि नेपालमा गाईभैँसीमा लम्पी स्किन डिजिज अर्थात (एलएसडी) रोग देखिन थाल्यो । यो रोग मोरङको सुन्दरहरैँचा नगरपालिकामा पहिलो पटक देखिएको थियो । यो रोग लागेपछि गाई भैँसीको खुट्टा सुन्निने, जीउभरि फोका आउने, कानमा गिर्खा देखिने र यो रोग लागेपछि घाँसपानी खान समेत छाड्ने गर्दछन् । गत चैत्रदेखि नेपालमा यो रोगको महामारी नै फैलियो । पशु सेवा विभागले उपलब्ध गराएको तथ्यांक अनुसार लम्पी स्किन महामारीबाट विगत ५ महिना यता ५२ हजार ४ सय ५८ को मृत्यु भएको छ भने, १५ लाख १९ हजार ७ सय ७९ संक्रमित भएका छन् ।

नेपाल पशु चिकित्सा परिषदले गत असारमा प्रधानमन्त्रीलाई बुझाएको सुझाव अनुसार यो आर्थिक वर्षमा महामारीबाट १ खर्ब २६ अर्बको पशु धनको क्षति हुने अनुमान थियो । महामारी नियन्त्रणका लागि सरकारले खोप आयात केही कम्पनीहरुलाई अनुमति दिएको थियो ।

विभागले दियोपोस्टलाई सूचनाको हक सम्बन्धी निवेदनपछि उपलब्ध गराएको विवरण अनुसार खोप आयात गर्ने कम्पनीहरुले विश्व स्वास्थ्य संगठन (डब्लुओएएच)ले निर्धारण गरेको खोप सम्बन्धी प्राविधिक मापदण्ड बमोजिम खोप आयात गर्न पाउँछन् । सोही मापदण्ड अनुसार तीन वटा कम्पनीहरुले खोप आयातका लागि अनुमति पाएका थिए । यसरी अनुमति पाउनेहरु मध्ये एक कम्पनिले नक्कली कागजात पेश गरि खोप आयात र बिक्री गरिरहेको खुलाशा भएको छ । विभागबाट खोप आयातको अनुमति पाएको कान्तिपुर भेट डिस्टिब्युटर्सले नक्कली कागजात पेश गरेकै भरमा विभागले खोप आयात र बिक्रीको अनुमति दिएको फेला परेको हो ।

विभागमा पेश गरेको एयु प्यान भ्याकको सर्टिफिकेट र भ्याक्सिन डाटासिट जसमा म्यानुफ्याक्चर मिति नै फरक फरक छ ।

 

दियोपोस्टको लामो खोज र अनुसन्धानपछि यो तथ्य पुष्टि भएको छ । विभागका उच्च अधिकारीको मिलेमतोमा आम किसानमाथि गम्भिर खेलवाड भएको फेला परेको हो । विश्वभरका मुलुकमा पशुका लागि दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको सहयोग केन्द्रका रुपमा स्थापित प्रयोगशालाबाट प्रमाणित भएको हुनुपर्छ । विश्व स्वास्थ्य संगठनले यसरी स्थापित गरेको प्रयोगशालामध्ये अफ्रिकन युनियनले स्थापना गरेको एयु प्यान भ्याक नामक प्रयोगशाला ईथिओपियामा छ । सोही एयुको प्रमाणपत्र नक्कली बनाएर कान्तिपुर भेट डिस्टिब्युटर्सले आम किसानको पशु जीवनमा नक्कली भ्याक्सिन वितरण गरिरहेको खुलेको हो । कान्तिपुरले विभागमा पेश गरेको एयुप्यान भ्याकको सर्टिफिकेट हामीले एयुका आधिकारीक प्रतिनिधिलाई भेरिफाई गराएका थियौँ ।

प्यान भ्याकले दियोपोस्टलाई दिएको जवाफ

 

ती प्रतिनिधिले उक्त सर्टिफिकेट नक्कली रहेको जवाफ दिएका छन् । विभागमा कान्तिपुरले पेश गरेको भ्याक्सिन क्वालिटि सर्टिफिकेट माग गरि दियोपोस्टले सूचनाको हक प्रयोग गरेर सूचना माग गरेको थियो । विभागका सूचना अधिकारी डा. चन्द्र प्रसाद ढकालले व्यापारिक गोपनियता भन्दै अन्तर्राष्ट्रिय संस्थाबाट जारी प्रमाण पत्र लुकाउने कोसिस गरे । आम किसानले आफूले प्रयोग गरेको भ्याक्सिन विश्व स्वास्थ्य संङ्गठनबाट सर्टिफाइड हो की होइन भन्ने विषय विभागकै वेभसाइट मार्फत थाहा पाउने अधिकार भएपनि रोक लगाएको भन्दै दियोपोस्टले पुनः निवेदन दिएपछि उनले यी कागजात उपलब्ध गराएका हुन् ।

विभागमा कान्तिपुरले हेस्टर बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियाबाट उत्पादिन खोप सर्टिफाइड भएको प्रमाण पेश गरेको छ । जसमा रिपोर्टको डिटेल क्युसिआर अर्थात क्वालिटी कन्ट्रोल रिपोर्ट २१०७ मा डिटेल रहेको बताइएको छ । तर, उक्त रिपोर्ट गायब छ । दियोपोस्टले विभागका सूचना अधिकारी ढकालसँग क्युसिआर रिपोर्ट खै भनेर प्रश्न गर्दा उनी जवाफविहीन भएका छन् । उनले पशुसेवा विभागकै भेटेनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला बुढानिलकण्ठका कर्मचारी नविन उपाध्यायलाई सम्पर्क गर्न भने । तर, विभागका उपाध्यायको मोबाइल तीन दिनदेखि स्विच अफ छ । स्रोतका अनुसार प्रकरणबारे दियोपोस्टले खोज गर्न थालेदेखि नै उनी सम्पर्क विहिन छन् ।

 


कान्तिपुर भेटले हेस्टर बायोसाइन्स अफ्रिका लिमिटेड किबाह तान्जानियाबाट उत्पादित एलएसडी भ्याक्सिन बिक्री गरिरहे पनि हालसम्म उक्त कम्पनीले एलएसडी भ्याक्सिन उत्पादनको अनुमति नै पाएको छैन । एलएसडी भ्याक्सिन हेस्टरले पाएको हालसम्मको अपडेटमा देखिँदैन । जसको लिंकमा समेत हेर्न सकिन्छ । त्यस्तै कान्तिपुर भेटले पेश गरेको सर्टिफिकेटमा भ्याक्सिनको नाम (एलएसडी लम्पी सिल्ड—एन) उल्लेख छ । जबकी यो जोभ्याक नामक कम्पनीले उत्पादन गरेको भ्याक्सिन हो । जोर्डन बायोईन्डस्ट्रिजले उत्पादन गर्दै आएको छ । एयु प्यानभ्याकले उपलब्ध गराउने सक्कली प्रमाणपत्रमा क्युसिआर रिपोर्टको डिटेल हुने गरेको छ । तर, उनले पेश गरेका काजगजातमा क्युसिआरको रिपोर्ट नै गायब छ ।


‘एयु प्यानभ्याकले त्यस्तो प्रमाण पत्र दिने गरेको छैन । यो पनि नोट गर्नुहोला । हामीले दिने सर्टिफिकेटमा सबै डिटेल हुने गरेको छ,’ दियोपोस्टको प्रश्नको जवाफ दिँदै एयुप्यान भ्याकका प्रतिनिधि इथेल चित्संगोले भनेका छन्,‘जो यो रिपोर्टमा देखिएको छैन । यो सर्टिफिकेट आधिकारीक होइन ।’

तान्जानियाको स्वास्थ्य मन्त्रालयको कागजातमा समेत किर्ते
पशु सेवा विभागले खोप आयातका लागि प्राविधिक मापदण्ड (LSDHomogus Vaccine) (Neethling strain) न्युनतम Tcid x103.5 हुनुपर्ने उल्लेख छ । सोही मापदण्डलाई पालना गरेको देखाउन कान्तिपुर भेटले तान्जानियाँको स्वास्थ्य मन्त्रालय मातहत रहेको मेडिसिन एण्ड मेडिकल डिभाइसेस (टिएमडिए)को कागजात समेत किर्ते गरेको आशंका छ ।

पशु सेवा विभागमा रहेको तान्जानियाँको स्वास्थ्य मन्त्रालयको भनिएको कागजातमा उल्लेखित क्यु आर गर्दा देखिएको फरक ।

 

विभागले दियोपोस्टलाई उपलब्ध गराएको टिएमडिएको कागजात एउटा र त्यहीँ उल्लेख भएको क्युआरकोडमा अर्कै देखिन्छ । कागजमा नेम अफ प्रडक्ट अन्तर्गत कमन नेम भनेर लाइभ एचुनेटेड लम्पी स्किन डिजिज, स्ट्रेन निथलिङ्ग उल्लखे छ । तर, सोही कागजमा रहेको क्युआर गर्दा खुल्ने पेजमा निथलिङ्ग भन्ने शब्द नै देखिँदैन ।

करोडौँको अवैध खोप !

यसरी नक्कली कागजात पेश गरेर कान्तिपुर भेटले सन् २०२३ जुलाई ०६ मा ३ लाख डोज र जुलाई १४ मा ५ लाख डोज खोप आयात गरेको भेटिएको छ । तर, यो विवरण विभागले भने गोप्य राखेको छ । प्रति डोज २० रुपैयाँमा खरिद गरेर सर्वसाधरणलाई भने १ सय ४० रुपैयाँसम्म असुली गरिएको पाइएको छ ।

नक्कली भ्याक्सिन परेमा रोग फैलने खतरा हुन्छ : प्रवक्ता शाही

 


नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा.मनोज कुमार शाही नक्कली भ्याक्सिन प्रयोग भएको पाइएमा त्यसले पशु स्वास्थ्यमा गम्भिर असर पर्ने बताउँछन् । ‘यसले रोग फैलने र नियन्त्रण बाहिर जाने खतरा हुन्छ । खोप आयातको विषयमा सबै अनुमति दिने निकाय पशु सेवा विभाग हो,’ उहाँहरुले नै हेरेर दिनु भएको होला नी ?’

ढकाल भन्छन्,‘पशु स्वास्थ्य सम्बन्धी ऐन अनुसार हुन्छ’
यता पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकाल भने यो प्रकरणको बचाउमा छन् । यो विषयको सूचना मागेदेखि उनी सूचना लुकाउने कोशिसमा थिए । सरकारी कर्मचारी भएर व्यापारीक गोपनियकताको रक्षामा लागेका उनले केहीदिन सूचना लुकाएरै राख्न चाहेका थिए । तर, सूचनाको हक सम्बन्धी ऐन अनुसार मागिएको सूचना लुकाउन नमिल्ने भन्दै सूचना आयोगले नै जवाफ दिएपछि दिन बाध्य बनेका उनले अझै पनि केही सूचना लुकाएर राखेका छन् । उनले यदि कसैले किर्ते गरेको भए पशु सम्बन्धी ऐन अनुसार कारबाही हुने बताए । तर, यस्तो अपराध गरेको पाइए मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुन्छ ।

कान्तिपुर भेट भन्छ,‘प्यान भ्याकको सर्टिफिकेट अनिवार्य छैन’

यता कान्तिपुर भेट डिस्टिब्युटर्सका मालिक ऋषी बडालले आफूलाई तपाईंले प्यान भ्याट सर्टिफिकेट नक्कली बनाएको हो भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘विभागको कुनै पनि कानुनमा प्यान भ्याकको सर्टिफिकेट अनिवार्य छैन ।’
त्यसो भए किन त्यो सर्टिफिकेट पेश गर्नु भयो भन्ने प्रश्नमा उनले टालटुले जवाफ दिए । विभागमा सञ्चारमाध्यमले खबर लेख्ने क्रममा सुचना माग गरेपछि आफूले अन्य कागजात पेश गरेको समेत उनले खुलाशा गरे ।

खड्का भन्छन्,‘महामारीमा खोप किर्ते गर्नु महाअपराध हो’
राष्ट्रिय किसान संजाल समितिका संयोजक नहेन्द्र खड्का किशानले गाई भैँसीमा लगाउने खोप जस्तो संवेदनशिल विषयमा पनि किर्ते गर्नु र गुणस्तरमा खेलबाड गर्नु अपराध रहेको बताउँछन् । ‘अब आम किसानले लगाउने खोपमा कसरी विश्वास गर्ने ?’ उनले भने,‘ यस्तो कार्यमा संलग्नलाई फौजदारी अपराध कसुरमा कारबाही गर्नुस् ।’

सम्बन्धित खबर