पर्यटन मन्त्री पाण्डेलाई दिनुपर्छ भन्दै नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीको घुस आतङ्क

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन मन्त्री बद्रि बहादुर पाण्डेलाई मनाउन रकम दिनुपर्ने भन्दै सरुवा हुन लागेका कर्मचारीसँग घुसको दररेट नै कायम गरेका छन् ।

नेपाल एयरलाइन्सबाट विभिन्न देशमा रहेका कार्यालयमा पोस्टिङ हुन लागेका कर्मचारीहरुलाई मन्त्री पाण्डेलाई खुसी पार्न रकम आवश्यक परेको भन्दै घुसको दर रेट कायम गरेका हुन् । कतिपय कर्मचारीसँग उनले खुलमखुल्ला घुस उठाइरहेका छन् । जापान र हङकङ लगायत मुलुकमा पठाइने कर्मचारीबाट प्रतिव्यक्ति २० लाख रुपैयाँ दिनुपर्ने अधिकारीको माग छ । ‘मैले १६ लाख रुपैयाँसम्म दिएँ तर, अध्यक्षज्यूले मान्नु भएन । २० लाख नै चाहियो भन्नु भएको छ,’ जापान पोस्टिङका लागि दौडधुप गरिरहेका एक आकांक्षी कर्मचारीले दियोपोस्टसँग भने ।

अधिकारीकी श्रीमतीसँगै मेडिकल क्षेत्रका एक व्यक्तिलाई साथै लिएर गहनापोखरीस्थित निवास पुगेका अर्का एक आकांक्षी कर्मचारीले पनि हङकङ वा जापान मध्ये १ ठाउँ मिलाइदिन भन्दै रकम कबोलेर फर्केको समाचार सोतको दाबी छ । साउदी अरेबियाको दमाम, युएईको आबुधावी, मलेशियाको क्वालालाम्पुर, कतारको दोहा पोस्टिङ चाहने कर्मचारीलाई १५ लाख रुपैयाँ घुस दररेट कायम गरेका अधिकारीले केही कर्मचारीसँग रकम समेत असुलीसकेका छन् । मिगि केसी र गुरु शाह मानव तस्करीमा परेका २ कर्मचारी हुन् ।

उनीहरु जापान वा हङकङका लागि दौडधुपमा छन् । नरेश यादवले १५ लाख बुझाएको स्रोतको दाबी छ । यसैगरि अध्यक्ष अधिकारीलाई अरविन्द कामती, प्रभाकर भट्टराई, तेज थापा, कमल सेन ठकुरी लगायत कर्मचारीले घुस रकम बुझाएका छन् । उनीहरुसाग पोस्टिङ भएको ठाउँ अनुसारको रकम अधिकारीले बुझेका छन् । उनले मन्त्री पाण्डेलाई खुसी पार्न भन्दै दिल्ली, मुम्बई र बैंगलोर जान चाहने कर्मचारीबाट जनही ३ लाख भारतीय रुपैयाँ बुझाउनुपर्ने सर्त राखेका छन् ।

स्रोतका अनुसार पाण्डेको ग्रिन सिग्नलका कारण अधिकारीले धमाधम घुस उठाइरहेका हुन् । अधिकारीसँगै मिलेर घुस उठाउन क्रियाशिल पाण्डे नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा काम गर्न नसकेको गुनासो गरेका थिए । त्यसको जवाफमा पार्टी सभापति देउवाले काम गर्न नसके राजिनामा दिएर आउन निर्देशन दिएका थिए ।

यस विषयमा प्रतिक्रिया लिन नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीको मोबाइल नम्बरमा सम्पर्क गर्दा कार्यालयमा आएर भेट्न प्रस्ताव गरे । दियोपोस्टले अधिकारी समक्ष टेलिफोनबाटै प्रश्नको जवाफ दिन आग्रह गर्दा उनले अस्विकार गरे ।
यसअघि समेत अधिकारीले नेपाल एयरलाइन्स भित्र यौनहिंसाको आतंक मच्चाएको खबर दियोपोस्टले प्रकाशन गरेको थियो ।

अपडेट

यसैबीच प्रकाशित समाचारलाई लिएर नेपाल एयरलाइन्सका कर्मचारीहरुले खण्डन गरेका छन् । प्रेस काउन्सिलको निर्देशाअनुसार उनीहरुले प्रेसित गरेको खण्डन प्रकाशित गरेको छ । प्रकाशित समाचारको खण्डन जस्ताको तस्तै यहाँ राखिएको छ ।

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन