बेत्रावतीमा ११ दिनपछि जीवित उद्दार गरिएकी महिला बोल्न सक्ने अवस्थामा

दियोपोस्ट संवाददाता

 काठमाडौं। नुवाकोट र रसुवाको सीमावर्ती क्षेत्र बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। लमजुङ लिरुङ हिमालको उत्तरी मोहडाबाट आएको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा उनको  उद्धार गरिएको हो ।

उनी बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो।

श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेकी छन्। शनिबार उद्धार टोलीले पानी खुवाउँदा उनले पानीसमेत खाएकी छन्।

उद्धारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।

बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चन्द्रिका जीवितै भेटिनुलाई असाधारण घटनाका रूपमा लिइएको छ।

आज मात्रै अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँनागरिकको जीवितै उद्धार गरिएको छ ।

सम्बन्धित खबर