काठमाडौँ, १६ भदौ । बन्दाबन्दी र निषेधाज्ञाको ५ महिनापछि नेपालमा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान खोलेको सरकारले यातयात र आन्तरिक उडान भने बन्द गरेको छ ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ ।
सरकारले उडानबाट नागरिक ल्याए पनि उनीहरुलाई कसरी काठमाडौं वा यहाँबाट बाहिर लैजाने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन ।
आज पहिलो दिन बायुसेवा निगमले पहिलो दिन एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १ बजे जापानको नारिताका लागि उडान भर्ने तयारी थियो । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।
नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।