दियोपोस्ट संवाददाता
धादिङ, २३ भदौ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदीमा प्रहरी चौकीकै अगाडी कुटाकुट भएको छ ।
कुटाकुटमा वडाध्यक्ष रण बहादुर शाही समेत समलग्न भएको भिडियो प्राप्त भएको छ । केराको बोट काटिएको विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि छलफलमा भेला भएको समयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको हो । स्थानिय विपक्षि कार्यकर्तामाथि हात हाल्न वडा नम्बर २ बाट निर्वाचित वडाध्यक्ष रण बहादुर शाही समेत देखिएका छन् ।
ज्वालामुखि २ काफलपानीका बाबुराम गिरिको केराको बोट काटिएको भन्दै उनले प्रहरीमा उजुरी गरेका थिए । उक्त विषयमा विवाद भएपछि छलफलका लागि प्रहरी चौकी मैदीमा भेला भएका नेपाली कांग्रेस र नेकपा समर्थित कार्यकर्ताबीच प्रहरी कार्यालय अगाडी नै कुटाकुट भएको हो ।
कुटपीटमा वडाध्यक्षका छोरा समेत देखिएका छन् । घटनाको विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्तालाई सम्पर्क गर्दा फोन उठेन ।
द्रष्टब्य : समाजमा हुने यस्ता हिंसात्मक घटनाले बाल मस्तिस्कमा गम्भिर असर पर्ने भन्दै यहाँ प्रकाशित भिडियो युट्युबले आफ्नो वेभसाइटबाट हटाएपछि यहाँ नदेखिएको हो ।