हिरासतमा यातना दिएर हत्या गरेको अभियोगमा रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी !

दियो पोस्ट  

रौतहट,२४ भदौ । प्रहरी हिरासत भित्रै रौतहट गरुडा नगरपालिका वडा नम्बर ५ का विजय महराको मृत्यु प्रकरणमा प्रहरी प्रमुख सहित ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् ।

प्रहरीले मृतक विजयमाथि चरम यातना दिएको समेत भेटिएको छ । उनको शरिरमा प्रहरीले कुटपीट गरेको र चोटपटक समेतको तस्विर सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

गाउँकै युवक निरन्जन राम हत्या आरोपमा ३२ साउनमा पक्राउ परेका विजय महराको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
घिटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ ।

उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
जाहेरीका लागि काठमाडौंबाट अधिवक्ता बद्रि प्रसाद भुसाल रौतहट, इन्द्र अर्याल, अधिबक्ता ओम प्रकास सेन ठकुरी, अधिवक्ता समर बस्नेत र जनकपुरबाट अधिबक्ता दिपक विश्वकर्मा अम्बेडकराइट राज रजक, मानव अधिकारकर्मी बिनोद महरा लगायत रौतहट पुगेका थिए ।

सम्बन्धित खबर