काठमाडौं, २४ भदौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा केही खुकुलो पार्ने योजना सहित नयाँ निषेधाज्ञा आदेश जारी गरेका छन् । उनको आदेश अनुसार अब पसलहरु बार अनुसार चल्नेछन् । १६ सिट भन्दा ठूला सार्वजनिक गाडी चल्न पाउने छैनन् । ती गाडीहरु पनि जोर विजोर नम्बरको आधारमा मात्रै चल्न पाउनेछन् । तर, सपिङ मल लगायत भिडभाड हुने क्षेत्र पनि बार अनुसार नै चल्नेछन् ।
उनको यो आदेशले कोरोना भाइरस कोभिड १९ कति नियन्त्रण होला त्यो भने समयको गर्भ भित्रै छ । तर, प्रहरी, सेना र सशस्त्र प्रहरीको परिचालनको जिम्मा पाएको शक्तिशाली सिडिओको निषेधाज्ञा आदेशलाई भने सुरक्षा निकायकै अधिकारीहरुले व्यंग्य गर्न थालेका छन् ।
दाहालले निषेधाज्ञाको आदेश जारी गरेपछि नेपाल प्रहरीबाट गत वर्ष मात्रै अवकाश पाएका नेपाल प्रहरीका एक डिआइजीले सिडिओको आदेशको खुलेरै व्यंग्या गरेका छन् । उनले कुनकुन बार कोरोना छिर्छ भन्दै व्यंग्य गरेका छन् ।
‘अलि अलि नमिले जस्तो, अमिल्दो, कस्तो कस्तो …… । सपिङ्ग मल, फेन्सी लगायतका कस्मेटिक पसलहरु हप्तामा ३ दिन (सोमवार, बुधवार र शनिवार) कोरोना प्रवेश निषेध । जत्ति भीड भए पनि हुने,’ जोशिले सिडिओको आदेश सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्,‘१४ सिटे वा सो भन्दा माथिका सवारी साधनहरुमा कोरोना प्रवेश निषेध । भाँडाकुडाँ र भान्साका सामानका पसलहरुमा हप्तामा ३ दिन, आईत, मंगल र शुक्रवार कोरोना प्रवेश गर्न पाउने छैन । फर्निचर र अटोमोबायल पसलहरुमा सोमवार र बुधवार कोरोना छिर्न सक्ने छैन ।