धादिङ, ३ असोज । धादिङको गजुरी गाउँपालिका भ्रष्टाचार र अनियमितताको केन्द्रविन्दु बन्दै गएको छ । गाउँपालिकाको बजेटमा हुने विभिन्न निर्माण कार्यको ठेक्का पट्टामा चरम मिलमतो र अनियमितता हुने गरेको पाइएको हो ।
केहीदिन अघि गजुरी गाउँपालिका २ मलेखुमा निर्माण भएको माछाको मूर्तिमा भएको भ्रष्टाचारको चर्चा सेलाउन नपाउँदै अर्को काण्ड बाहिर आएको छ ।
गाउँपालिका कर्मचारी र अध्यक्षको मिलेमतोमा ग्याबियन जाली र पाइप खरिदका लागि भएको ठेक्कामा चरम मिलेमतो भएको पाइएको हो ।
गाउँपालिकाले ठेक्काको सुचना नै मिलेमतोमा अघिल्लो दिनको पत्रिकामा छाप्न २ दिनपछि इमेल गरेको रहस्यमयी घटना बाहिर आएको छ । बजारमा प्रकाशन समेत नहुने प्रेस काउन्सिल र सुचना विभागमा नविकरण समेत नभएको धादिङ आवाज दैनिकले सुचना छापेको थियो ।
तर, शंकाष्पद विषय के छ भने भदौ १३ गते गाउँपालिकाको अधिकांश ठेक्का पार्ने सेटिङवाला ठेकेदार ज्ञानलाल श्रेष्ठलाई नै ठेक्का दिने गरि गाउँपालिकाका प्राविधिक ज्ञाननारायण श्रेष्ठले धादिङ आवाजलाई सुचना छापिदिन आग्रह गर्दै इमेल गरेका छन् त्यो पनि दुई दिनअघिको मितिमा ।
उनले १३ गते इमेल गरेको देखिन्छ जबकी ११ गतेको मिति राखेर पत्रिकामा सुचना छापिएको छ । स्रोतका अुनसार धादिङमा यो पत्रिका बजारमा कतै देखिँदैन । यसरी नै गाउँपालिकामा हुने ठेक्का पट्टामा मिलेमतोमा ब्याट डेट अर्थात अघिल्लो दिन र महिनाका मिति राखेर ठेक्का पट्टाको सुचना छाप्दै आएको छ ।
गाउँपालिकाले ठेक्काको सुचना वेभसाइट, आफ्नो सुचना पाटीमा समेत प्रकाशन गर्नुपर्छ । तर, गजुरी गाउँपालिकाले उक्त सुचना वेभसाइटमा राखेको छैन । सुचना पाटीमा टाँसेको भएपनि ठेकेदार ज्ञान श्रेष्ठले सुचना नै च्यातेर फालिदिएका छन् । गाउँपालिकाका सुचना अधिकारी विवेक नेपालले गाउँपालिकाको सुचना पाटीमा टाँसेको सुचना ठेकेदार श्रेष्ठले च्यातिदिएको बताए ।
त्यति मात्रै होइन गाउँपालिकाले सुचना छाप्न तथा सुचनाको फम्र्याट बनाउन कर्मचारी नै खटाएको हुन्छ । ती कर्मचारीले नै पत्रिकालाई प्रकाशन हुनुभन्दा अघिको मितिमा इमेल गर्नुपर्ने हुन्छ । तर प्राविधिकले अघिल्लो दिनको मितिमा पत्रिकामा सुचना छाप्न भन्दै इमेल गर्नुले पत्रकारसँगको मिलेमतो समेत देखिन्छ ।
स्रोतका अनुसार यी विवादित ठेकेदारले गाउँपालिकाबाट हुने अधिकांश ठेक्का हत्याउँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतलाई आर्थिक प्रभावमा पारेर उनले यस्तो ठेक्का हत्याउने गरेको स्रोत बताउँछ ।
प्राविधिक ज्ञान नारायण श्रेष्ठले आफूले गाउँपालिकाकै अध्यक्षको निर्देशनमा अघिल्लो मितिमा सुचना छाप्न इमेल गरेको बताउने गरेका छन् ।
यद्यपी दियोपोस्टले उनको नम्बरमा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । यदि उनले आफ्नो धारणा राख्न चाहेमा हामी अपडेट गर्ने नै छौँ ।
युवाहरुको सक्रियतापछि ठेक्का रद्द
किर्ते मितिमा पत्रिका प्रकशन गरि ठेक्कामा मिलेमतो गरेको विषय बाहिर आएपछि युवाहरुले गाउँपालिका अध्यक्ष बस्नेतसहितका उच्च अधिकारीलाई घेराबन्दीम राखेका थिए । प्रमाणसहित बस्नेतलाई भट्न गजुरी गाउँपालिका पुगेका युवाहरु आउने सुचना पाएपछि गाउँपालिका अध्यक्ष बस्नेत कार्यालय छाडेर भागेका थिए ।
उनीहरुले बस्नेतलाई खोज्दै अनियमितताको विषयमा जवाफ मागेका थिए । जवाफ दिनुपर्ने गाउँपालिका अध्यक्ष बस्नेत युवाहरुअघि निरिह जस्ता देखिन्थे ।
युवाहरुले गत भदौ ११ गते नै गाउँपालिकामा उजुरी दिएका थिए । गाउँपालिकामा सामुहिक उजुरी परेको भन्दै गाउँपालिकाले विज्ञप्ति नै निकालेर ठेक्का रद्द गरेको जानकारी दिएको छ ।
गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत राजन घिमिरेद्वारा जारी विज्ञप्ति प्रहरी सुरक्षा घेरामा सुचना अधिकारी विवेक नेपालले उक्त ठेक्का रद्द भएको जानकारी गराएका हुन् । तर, उनले ठेक्का रद्द भएको विषयमा जारी गरेको विज्ञप्तिमा आफ्नो गलत क्रियाकलाप ढाकछोप गर्न बन्दाबन्दी र कोभिड १९ लाई कारण देखाएका छन् ।
विज्ञप्तिमा कुन पत्रिकामा ठेक्का प्रकाशन गरिएको हो भन्ने विषयमा केही लेखिएको छेन । सुचना अधिकारी नेपालका अनुसार प्राविधिक श्रेष्ठले नै सुचना छाप्न पत्रिकामा इमेल गरेका थिए ।