मलेशियामा गुण्डागर्दी गर्ने डेभिड श्रेष्ठ सिआइबीको फन्दामा, अपहरणको उजुरीपछि पक्राउ !

दियो पोस्ट  

काठमाडौं, १३ असोज । मलेशियामा रहेर गुण्डागर्दीमा समलग्न दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड पक्राउ परेका छन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको हो । यद्धपी सिआइबीले उनलाई पक्राउ गरेको विषयमा आधिकारिक पुष्टि भने गरेको छैन ।


स्रोतका अनुसार डेभिडलाई व्युरोले आज पक्राउ गरेको हो । मलेशियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले त्यहाँ रहेका नेपाली युवाहरुलाई कुटपीट गरेको विषयमा पीडित युवाले दिएको भिडियो बयान नै दियोपोस्टले फेला पारेको छ ।


ती युवाले आफूलाई डेभिड श्रेष्ठले निर्घात कुटपीट गरेको जानकारी दिएका छन् । उनलाई नेपालमा सिआइबीले कुन मुद्दामा पक्राउ गरेको हो भन्ने विषयमा सिआइबी उच्च स्रोतलाई प्रश्न गर्दा डेभिडलाई अपहरण मुद्दामा पक्राउ गरेको जानकारी दिए ।


डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ अनैतिक क्रियाकलापमा लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो ।

मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएका थिए ।