रसुवाको कालिका गाउँपालिका अध्यक्ष सिता पौड्यालको ‘ठगीधन्दा’ : कार्यालय सहयोगी नै ठगीको शिकार !

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०१, २०७८ | १६:४१:५६

रसुवा । रसुवाको कालिका गाउँपालिकाकी अध्यक्ष सीता कुमारी पौडेल (अधिकारी)ले आफ्नो नाममा दर्ता नै नभएको जग्गा विक्री गरेर ५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनले उक्त जग्गा कृषि विकास कार्यालय सेवा केन्द्र कालिकास्थानका कार्यालय सहयोगीलाई बिक्री गरेकी हुन् । स्थानियबासीका अनुसार अध्यक्ष पौडेलले बैना स्वरुप शुरुमा २ लाख रुपैयाँ र २०७१ साल जेठ ३ गते ३ लाख रुपैयाँ गरि जम्मा ५ लाख रुपैयाँ लिएकी थिइन् । उनीहरुबीच लेनदेन कागजात समेत थियो ।

तर, जब जब जग्गा पास गर्ने समय आयो तब अध्यक्ष पौड्यालले २०५६ सालमा सुकुम्बासी आयोगले श्रीमान नमीनाथ अधिकारीको नाममा श्रेस्ता कायम गरेपनि पुर्जा नदिएको बताउन थालिन् ।
पैसा दिएर उक्त जग्गाको लालुपुर्जा विहिन भएर बसेका पीडित बालकृष्ण घिमिरेलाई घर खाली गर्न भन्दै गाउँपालिका अध्यक्ष पौड्यालले धम्की दिने गरेको पीडितले बताए । उनले न्यायको लागि जिल्ला प्रहरी कार्यालय रसुवामा जाहेरी समेत दिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ २ गते नै दिएको जाहेरी दर्ता गर्न अस्विकार गरेको छ ।

पीडित घिमिरेका अनुसार उनीहरुबीच दिदिभाईको सम्बन्ध थियो । प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार अध्यक्ष पौडेले पनि पीडितलाई भाई नै भनेर सम्बोधन गर्ने गर्थिन् । कालिकास्थानस्थित घिमिरे परिवारले होटल सञ्चालन गर्दैै आएको थियो । उक्त होटल नजिकै जग्गा जोड्न पाए हुन्थ्यो भन्ने श्रीमतीको चाहनाको आधारमा जग्गा किनेको पीडित परिवारले बताएको छ ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित पौडेलले राजनीतिक प्रभावकै कारण आफ्नो मुद्दा दर्ता नभएको पीडितको गुनासो छ । यस विषयमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष सिता पौड्याल अधिकारीको मोबाइल नम्बरमा फोन गर्दा उनले फोन उठाइनन् ।

 

सम्बन्धित खबर