काठमाडौं । अर्बपति व्यापारी सुह्रिद घिमिरे काठमाडौं महानगरमा सेटिङ र जालसाँझीको आधारमा डोजर खरिद काण्डमा मुछिएका छन् । महानगरपालिकाले घिमिरेकै सेटिङका आधारमा डोजर खरिदको लागत अनुमान तयार पारेर उनकै स्वामित्व रहेको कम्पनिबाट खरिद गरेको पाइएको हो ।
महानगरपालिकाले २ करोड ६० लाख रुपैयाँको लागत अनुमान तयार पारी एक ट्रयाक चेन डोजर खरिद गरेको थियो । महानगरपालिकाले बोलपत्र आह्वान गर्दा दुई वटा मात्रै कम्पनिले बोलपत्र दाखिला गरेका थिए । सो मध्ये लागत अनुमानको शुन्य दशमलव शुन्य ४ प्रतिशत मात्रै घटि कबोल गरेर घिमिरेको स्वामित्व रहेको कन्टिनेन्टल ट्रेडिङ ईन्टर प्राइजेजले २ करोड ५९ लाख ९० हजार रुपैयाँमा डोजर खरिदको ठेक्का पारेको थियो । लागत अनुमान तयार पार्दा महानगरपालिकाले तीन वटा आपुर्तिकर्ताको कोटेशन माग गरेको थियो ।
‘२ करोड ६० लाख लागत खुलाई दररेट पेश गर्ने कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राइजेजको कोटेशनकै आधारमा लागत अनुमान तयार पारेको देखिन्छ,’ महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा भनिएको छ,‘कोटेशन पेश गर्ने अर्को आपूर्तक बतास ट्रेक्टर प्रा.लीले रु २ करोड ३० लाख रुपैयाँ लागत पर्ने खुलाएको छ ।’
महानगरपालिकाले कोटेशन पेश गर्ने कम्पनीकै स्पेशिफिकेसनसँग हुबहु मिल्ने गरी लागत अनुमान तयार पारेको समेत महालेखाको ठहर छ ।
महानगरपालिकाले खरिद गरेको कोमात्सु कम्पनिको ट्रयाक चेन डोजर मोडल डि ८५ हो । यसलाई अन्तर्राष्ट्रिय बजारमा अहिले २ करोड ८० लाख रुपैयाँ पर्ने कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राइजेज प्रालीका ‘कन्स्ट्रक्सन इक्विपमेन्ट डिभिजन’का कार्यकारी निर्देशक टंक प्रसाद भट्टले बताए । उनका अनुसार महानगरपालिकामा मात्रै ३ वटा यस्ता डोजर बिक्री भइसकेका छन् । नेपाली सेनालाई पनि यस्तै डोजर बिक्री गरेको उनले बताए ।
कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राइजेजले राजधानीको बालाजु औद्योगिक क्षेत्रमा कौडीको भाउमा सरकारी जग्गा हत्याएर सरकारलाई लामो समयदेखि भाडा समेत तिरेको छैन । व्यापारी घिमिरले बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डका प्रमुख नाइके समेत हुन् ।
उनले बालुवाटारको सरकार जग्गा आफ्नी श्रीमती र सासु आमाको नाममा राखेर बेचविखन गरेका थिए । महानगरपालिकाको खरिद प्रक्रियामा आफुहरुले नियमित प्रक्रियाबाटै गएको र भञ्सारबाट सबै कागजात आएको उनको दाबी छ ।
उनले डोजर तथा स्क्याभेटर बिक्रीमा समेत चरम लुट मच्चाउँदै आएका छन् । घिमिरेका उक्त कम्पनिले भन्सार छलीका डोजर तथा स्क्याभेटर विक्री गर्दै आएको छ ।
राजश्व र सबैतिर सेटिङ भएका उनी प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा निकट व्यक्ति हुन् । उनी विरुद्ध सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।