काठमाडौं । चीनका सर्वोच्च नेता सी चिनफिङले आगामी पाँच वर्षका लागि सात सदस्यीय स्थायी समिति सार्वजनिक गरेका छन्। आफ्नो तेस्रो कार्यकालका लागि सीले उदाउँदा नेताहरु ली चियाङ, ली सी, तिङ सुइसियाङ र काइ चीलाई स्थायी समितिमा बढुवा गरेका हुन्।
त्यस्तै वाङ हुनिङ र चाओ लेची पनि स्थायी समितिमा छन्। यी नयाँ अनुहारलाई स्थायी समितिमा ल्याएर सीले आफ्नो तेस्रो कार्यकालको आधार तयार गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सकिएको भोलिपल्ट आइतबार यी नेताहरुलाई सीले ग्रेट हल अफ द पिपुलमा पत्रकार सम्मेलनमा ल्याएका हुन्।
सिन्ह्वाका अनुसार पार्टीको वरीयताक्रम यसप्रकार छः महासचिव सी, ६९, ली चियाङ, ६३, चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ,६० र ली सी ६६ छन्। यसको अर्थ ली चियाङ प्रधानमन्त्री बन्ने छन्। काइ ची पार्टी सचिवालयको प्रथम सचिव अर्थात् पार्टी सञ्चालनका लागि जिम्मेवार हुनेछन्।
तेस्रो स्थानका चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात्, संसदको अध्यक्ष हुनेछन्। वाङ हुनिङ सल्लाहकार समितिको अध्यक्ष हुनेछन्। ली सी भ्रष्टाचारविरोधी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनका प्रमुख हुनेछन्।
को हुन् प्रधानमन्त्री ?
राष्ट्रपति सीसँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए।
चियाङ पार्टीको साङ्घाइ प्रमुख थिए र यसअघि उक्त सहरमा भएको दुई महिने लकडाउनमा उनले नेतृत्व गरेका थिए।
स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा सहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
‘केन्द्रमा काम गरेको अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन्,’ अमेरिकन युनिभर्सिटीका प्राध्यापक याङ झाङले भने।
उनका अनुसार उपप्रधानमन्त्रीको रूपमा काम नगरी प्रधानमन्त्री बन्ने ली झाओ इनलाई पछि दोस्रो हुन्।
मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूले बताएका छन्।
यसअघिका प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा राष्ट्रपति सीसँग समेत प्रतिवाद गर्न सक्थे।
.
लीको बढुवाले चिनियाँ राजनीतिमा महत्त्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ।