माओवादी केन्द्रको खबरदारी सभा : कमजोर धरातलमा वैकल्पिक शक्ति बन्ने अवसर !

दियोपोस्ट संवाददाता  

काठमाडौं । शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा खबरदारी सभा सम्पन्न गर्यो । सत्ता राजनीतिको म्युजिकल चेयरबाट बाहिरिएको करिब ४ वर्षपछि माओवादी केन्द्र फेरी सडकमा उत्रिएको हो । माओवादी केन्द्रले आफूलाई फेरी वैकल्पिक शक्तिको रुपमा उदाउने कोशिस गरेको देखिन्छ ।

माओवादी केन्द्रले आफ्नो विगतको रणनीति परिवर्तन गर्दै, एक्लै अघि बढ्ने र वैकल्पिक शक्तिको रूपमा उभिने प्रयास सभामा व्यक्त नेताहरुको भनाईबाट बुझ्न सकिन्छ । विशेषगरी भ्रष्टाचार विरोधी अभियान र सुशासनको मुद्दालाई लिएर माओवादी केन्द्रले आवाज उठाएको छ । तर, माओवादी भित्रको आन्तरिक सुशासन भने माओवादी केन्द्रका लागि कठिन रुपमा जकडेको छ । नेताहरु सत्तामा रहँदा पटक पटक भएका विभिन्न काण्डहरुमा माओवादी केन्द्रकै अधिकांश नेताहरु मुछिएका छन् ।

यद्धपी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनमा विगतका गल्तीहरूलाई स्वीकार गर्दै भविष्यमा नयाँ राजनीतिक यात्रा सुरु गर्ने संकेत गरेका छन् । उनले भने,“हामीले विगतमा दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गर्यौं । तर अब हामी एक्लै हिँड्ने छौं र जनताको विश्वास जित्ने छौं ।’

प्रचण्डले जतिबेला यो घोषणा गरेका छन् त्यतिबेला उनकै पार्टी भित्रका उच्चस्तरिय नेताहरु दलाल र पुँजीवादी चरित्रमा परिणत भएका छन् । उनकै पार्टीका उपाध्यक्ष सुनकाण्ड र बलात्कार काण्डले जेल बस्नु परेको छ । उनकै पार्टीका नेता पुत्रहरु सुनदेखि नुनसम्मको कारोबारमा उनले भनेकै दलाल पुँजीपतिहरुसँगको साझेदारीमा धन्दा चलाइरहेका छन् । त्यस्ता पात्रहरुलाई साथै लिएर प्रचण्डले कस्तो यात्रा गर्न सक्लान त्यो समयको गर्भमै छ ।

यसअघि नेकपा (एमाले) र माओवादीको एकीकरणपछि केपी शर्मा ओली नेतृत्वको आफ्नै सरकार विरुद्ध दाहाल सडकमा उत्रिएका थिए । त्यतिबेला तत्कालीन नेकपा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल लगायत पनि प्रदर्शनमा सहभागी भएका थिए । त्यसको ठिक चार वर्षपछी सडकमा उत्रिएका प्रचण्डले आफूलाई फरक रुपमा देखाउने कोसिश गरेका छन् ।

“लोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ । यसको रक्षा गर्नु हाम्रो पवित्र दायित्व हो । यदि हामीले खबरदारी नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्नेछ, अराजकतावादी र प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउने मौका पाउनेछन्,’ उनले भनेका छन् ।

पक्कै पनि संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन तत्कालिन नेकपा माओवादी र अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको हो । गणतन्त्र प्राप्तिपछिको अन्य दलले असाध्यै राम्रो काम गरेर वा गणतन्त्रको संस्थागत विकास गरेर जनमत हासिल गरेका पनि होइनन् । तत्कालिन माओवादी भित्रको फूट श्रङ्खला र नेताहरुको भ्रष्टिकरणले नै पुरानै दलहरु मलजल पाएका हुन् ।

शनिबारको संबोधनका क्रममा प्रचण्डले आगामी निर्वचनमा एक्लै प्रतिस्पर्धा गर्ने घोषणा समेत गरे । माओवादी धारका अन्य दलहरूसँग एकता गरी कांग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिने प्रचण्डले बताए । साथै, देशभित्रै लाखौं युवालाई रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धिमा जोड दिने र भ्रष्टाचार विरुद्धको अभियानमा एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यो खबरदारी सभा कसैलाई बचाउन आयोजना गरेको हैन । माओवादीलाई बचाउनु पर्दैन । सिआइबीका प्रहरीलाई अपराधमा प्रचण्ड देखिए पनि पक्राउ गरे हुन्छ भनेको हो । त्यस्तो भन्ने दलले कसैलाई बचाउन सभा गर्छ ? यी सबै अफवाह हो’ प्रचण्डले आफूलाई चोख्याउने कोशिस गरे । तर, भ्रष्टाचार र अनियमितताको आरोपबाट प्रचण्डको परिवार पनि अछूतो भने रहन सकेको छैन ।

उनकै भाई नारायण दाहालले काठमाडौं उपत्यकामा जोडेको अकुत सम्पत्तिबारे दियोपोस्टमै समाचार प्रकाशित छ । भ्रष्टाचार माओवादी भित्र प्रचण्डकै वरिपरि केन्द्रिकृत भएको भ्रष्टाचारीहरुलाई उनले कसरी कारबाही गर्लान ? यसको जवाफ पनि उनले पार्टी भित्र दिनुपर्नेछ । हिजोका इमान्दार नेता कार्यकर्ता पलायन भएका छन् । हिजो इमान्दार भनिएकाहरु पनि अहिले विभिन्न आर्थिक अपराधमा मुछिन थालेका छन् ।

प्रचण्डले यो खबरदारी सभा पहिलो चरणको चेतावनी मात्र भएको र सरकारले विपक्षी दलका जायज मागहरू सम्बोधन नगरे सदन र सडक दुवैतिरबाट आन्दोलन गर्ने चेतावनी दिए । “हामी सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्न तयार छौं,’ उनले भने ।

तर, सदन र सडकमा माओवादी उपस्थिती कमजोर छ । माओवादीका असली कार्यकर्तामा नेतृत्वप्रति धेरै प्रश्न र आशंकाहरु छन् । यस्तो पृष्ठभूमिमा प्रचण्डले सदन र सडकबाट कसरी संघर्ष गर्छन् त्यो त समयले देखाउँछ नै । तर, नेपालको पछिल्लो राजनीतिक परिवेशमा नयाँ भनिएका वैकल्पिक शक्ति समेत पुरानै बोतलमा मिसिएपछि माओवादी केन्द्रलाई नयाँ अवसर भने पैदा भएको छ ।

सिफारिस