महेश बस्नेतले श्रीमती स्विकार गरेको प्रमाण लिन काठमाडौं प्रहरीद्वारा अस्विकार

दियोपोस्ट संवाददाता

काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय काठमाडौंले थप प्रमाणसहित एक पीडितले दिएको निवेदन दर्ता नगरेको आरोप लागेको छ ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले जबरजस्ती करणी, भ्रण हत्या र डाँका चोरी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । तत्कालिन प्रहरी नेतृत्वले जाहेरी दर्ता गरेको थियो । तर, दर्ता भएको जाहेरीलाई मुद्दा नचलाउने निर्णय गरि तामेलिमा राखिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

  

तर, पीडितले उक्त निर्णय विरुद्ध उच्च अदालत पाटनमा परमादेश माग गर्दै रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशहरु ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले गत भदौ २६ गते थप प्रमाणसहित निवेदन दिए मुद्दा चल्ने आधार जिवित रहेको तर्क गर्दै रिट खारेज गरिदिएको थियो ।

अदालतले भनेअनुसारको प्रमाण लिएर पीडितले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा निवेदन दिएकी थिइन् । ‘अघिल्लो दिन भोली तपाईंले प्रमाणसहित निवेदन ल्याउनुस् भनेर म गएँ तर, भोलीपल्ट माथिको आदेश भन्दै मेरो निवेदन लिन अस्विकार गरियो ।’ पीडितले दियोपोस्टसँग भनिन् ।

पीडितका अनुसार महेश बस्नेतले आफू श्रीमान बनेर भारतीय अस्पतालमा भ्रण हत्या गराएको प्रमाणसमेत पेश गरिएको थियो । दियोपोस्टलाई प्राप्त कागजातमा बस्नेतले हस्ताक्षर गरेको देखिन्छ ।

भारतको तुलसी हेल्थ केयर अस्पतालमा बस्नेतले आफू ती महिलाको श्रीमान भएको कागजातमा हस्ताक्षर गरेका छन् । उक्त कागजातमा ती महिलाले आत्महत्या प्रयास गरेको विवरण समेत उल्लेख गरिएको छ । सो लगायत थप प्रमाण लिएर पीडितले दिएको थप निवेदन प्रहरीले लिन समेत अस्विकार गरेको हो ।

सम्बन्धित खबर

सिफारिस