काठमाडौं, कात्तिक ८ । खानेपानीमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिमा खानेपानी रकमान्तर गरी आर्थिक चलखेल गर्न सघाउनेलाई नै संयोजकको जिम्मा दिईएको छ । रकमान्तर गरि आर्थिक अनियमितता गरेको भन्ने समाचार विभिन्न संचामाध्यमहरुमा आएपछि खानेपानी मन्त्री विना मगरले छानविन गर्न निर्देशन दिएकी थिइन् ।
मन्त्रीको निर्देशनअनुसार उनले रकमान्तरबारे छानबिन गर्न सात प्रदेशमा सातैवटा छानबिन समिति गठन गरेका हुन्। सचिव ठाकुरले सातवटै प्रदेशमा रकमान्तर गरी थप बजेट निकासा गरिएकोबारे छानबिन गर्न प्रदेश नं। १ सिनियर डिभिजनल इन्जिनियर अरुण सिंखडालाई संयोजक बनाएका हुन्। विभागको योजना शाखामा बसेर सिंखडाले थप बजेट कहाँ–कहाँ दिनुपर्छ भनेर सचिव र महानिर्देशकलाई सहयोग गर्दै आएका थिए।
मन्त्रालय स्रोतका अनुसार रकमान्तर गरी थप बजेट गोलमाल गर्ने कार्यमा सचिव र महानिर्देशक दुवै संलग्न छन्। ‘उनीहरूकै अगुवाइमा गरिने छानबिन केवल नाटक हो’, स्रोतले भन्यो, ‘छानबिन गर्ने नै हो भने सचिव र महानिर्देशकलाई मन्त्रालय र विभागबाट हटाउनुपर्छ, अनि मात्र स्वतन्त्र छानबिन हुन्छ।’
मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशीघ्र छानबिन टोली गठन गर्न मन्त्री मगरले सचिव ठाकुरलाई निर्देशन दिएको नोटमा उल्लेख छ। रकमान्तरबारे थप रिपोर्ट आएपछि पुनः बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए। विहीबारको अन्नपुर्ण पोष्टमा खबर छ ।