काठमाडौं १४ कात्तिक । दुई तिहाईको सरकारका चर्चित, आशा गरिएका र जिम्मेवारी मन्त्रीबारे एकैजसो आएका दुईवटा समाचारको सामाजिक संजालमा चर्चा भए । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे सुरु ६ महिनामा सकिने । त्यस्तै अर्को समाचार थियो मनकामना केबलकारमा तीनवटा डिब्बा थपिए ।
यो समाचार सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसँग जोडिएर आएको थियो । किनकी विमानस्थलको रनवेको सुरुवात र केबलकारको तीनवटा डिब्बा थप्ने कार्यक्रमको उद्घाटन युवा मन्त्री अधिकारीले गरेका थिए ।
‘पर्यटनमन्त्री रविन्द्र अधिकारी जत्तिको युवाले समेत विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) कालोपत्रे सुरु भएको पनि रिबन काटेर उद्घाटन गर्न थाले । सरकारले पूर्वाधारका राम्रा गरेपनि विभागीय मन्त्रीहरुका यस्ता रहर सुन्दै नमज्जा लाग्ने क्या ।’ पत्रकार खगेन्द्र पन्तले फेसबुकमा स्टाटस लेख्दै युवा नेता मन्त्री हुँदाको प्राथमिकताबारे व्यंग्यपूर्ण स्टाटस लेखे ।
उनको स्टाटसमा कमेन्टस गर्दै अर्का पत्रकार विशाल सापकोटाले लेखे– सोमबार मात्र उनले जमानामा स्थापना भएको मनकामना केबलकारमा थपिएको तीन वटा डब्बा (गण्डोला को उद्घाटन गरे । जस्तो कि, चलिरहेको रेस्टुरेन्टमा तीन वटा टेबुल थपियो, मन्त्रीले गरे उद्घाटन’ भन्दै हाँसोयुक्त व्यंग्य जनाए ।
यी प्रतिनिधिमूलक टिप्पणीले पनि हाम्रा जिम्मेवार मन्त्रीका प्राथमिकता केमा छन् भन्ने दर्शाउछन् । मन्त्री अधिकारीले नै फेसबुक र ट्वीटरमा धावनमार्गका पिच सुरु भएको आफ्नै फोटो राख्दै र ६ महिनामा काम सकिने जानकारी गराएका छन् । उनले फोटो राखेपछि छिटो काम सक्नका लागि अधिकांशले सुझाव दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो महिना महिना दिनमा पिच गर्नुपर्ने गरी धावनमार्ग बनाउन नहुने भन्दै बलियो र गुणस्तरीय बनाउन सामाजिक संजालबाट सुझाव आएका छन् । अबको ६ महिनाभित्र टर्मिनलसहितका सबै काम सकाउन मन्त्री अधिकारीले निर्देशन दिएका छन् ।
तर, रनवे कालोपत्रे सुरु भएकै दिन मनकामनाको मन्दिरसम्म पुग्ने केबलकारमा तीनवटा डिब्बा थप्ने जस्तो सामान्य काम पनि मन्त्री गरेको भन्दै उनको प्राथमिकताप्रति सामाजिक संजालमा व्यंग्य पोखिएको हो ।
आशा गरिएका मन्त्रीले प्रभावकारी कामका लागि दबाब दिनु र अग्रसरता दिनु राम्रै भए पनि सामान्य कामको लागि पनि रिबन काटेको भन्दै प्राथमिकता बदल्न उनलाई सामाजि संजालमार्फत सुझाइएको हो ।