काठमाडौं, १७ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शनिबार ४ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक आइतबार साँझ ४ बजे बस्ने बताइएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बालुवाटारमा बसेको बैठकले सचिवालय बैठक बस्ने तय गरेको थियो । तर बैठकको आन्तरिक तयारीबारे गृहकार्य गर्न बाँकी रहेको भन्दै अध्यक्षद्वयको सहमतिमै भोलिका लागि बैठक सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
यसअघि असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले १० दिनको म्याद दिएर पार्टीको साँगठनिक एकताको बाँकी काम टुङ्ग्याउने जिम्मा दुई अध्यक्ष तथा महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको थियो । सो समय घर्के पनि गृहकार्य अझै गर्न बाँकी रहेको बताइएको छ ।