‘छूटको नाममा बजाजद्वारा झूटको व्यापार : पल्सर किन्ने ग्राहकमाथि ठगीधन्दा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ असोज । नेपालमा आफूलाई सर्वाधिक विक्रीकर्ताको रुपमा दाबी गर्दै आएको बजाज मोटरसाइकलले झूटो प्रचार गरेर आफ्नो ब्राण्डिङ गर्दै आएको पाइएको छ ।


नेपालमा बजाजको मोटरसाइकल विक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले ग्राहकमाथि झूटो प्रचारको आडमा लुटधन्दा मच्चाउँदै आएको पाइएको छ । बजाजले सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा एकथाथरि प्रचारबाजी गर्ने तर स्वरुममा भने ठगी गर्दैै आएको ग्राहकहरुले बताएका छन् ।

केहीदिनअघि देखि बजाजले रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने भन्दै शुन्य प्रतिशत ब्याज, रु १० हजार रुपैयाँ छुट वा २० प्रतिशत डाउन पेमेन्टको आधारमा बजाजको पल्सर २२० एबिएस दिने भन्दै प्रचारबाजी जरेको थियो ।

तर, सोही प्रचारको आधारमा मोटरसाइकल खरिदका लागि बजाजका स्वरुपम पुगेका दर्जनौँ ग्राहक भने ठगीएका छन् । उनीहरुले झूटो विज्ञापन गरि आफूहरुलाई ठगी गरेको भन्दै सामाजिक सञ्जालमै व्यापक प्रतिक्रिया दिएका छन् ।


‘शोरुममा जाँदा विज्ञापनमा भनिए जस्तो छैन । जनता झुक्याउने काम बन्द गर । जनता झुक्याउने काम त नेताको हो तिमी पारदर्शी व्यापार गर,’ सामाजिक सञ्जालमा सुसन चितवनेले लेखेका छन् ।

त्यस्तै लैनचौरको बजाज शोरुमले आफूलाई नराम्रोसँग ठगी गरेको सचिन भट्टराईको गुनासो छ । ‘लैनचौरको बजाज शोरुमले फसायो । ५० प्रतिशत डाउन पेमेन्टमा १ लाख ७५ हजार रुकम लियो । शुन्य प्रतिशत ब्याज भन्छ,’ सचिनको गुनासो छ,‘किस्ता सहित बाइकको मुल्य हिसाब गर्दा ३ लाख १० हजार बढी पर्छ । सर्भिस चार्ज भनेर ८ हजार रुपैयाँ लियो । अन्त जम्मा ३२ सय हुने रहेछ । सबैजना सावधान रहनुहोला ।’


त्यस्तै बजाजले मोटरसाइकल बेच्दा ग्राहकलाई लेगगार्ड र हेलमेट भने छुट्टै बेच्ने गरेको पाइएको छ । ‘लेग गार्ड र हेल्मेट मा ग्राहकलाई नसोधी बेच्ने काम कहिले बन्द हुन्छ । भ्याट बिल मा बाइकको मुल्य मात्रै चढाउने अनि हेल्मेट र लगगार्डको पैसा रातो रसिदमा । पल्सर किन्दा होसियार,’ सावधानी गराउँदै नविन रेग्मीले लखेका छन् ।

विज्ञापनमा ५० प्रतिशत क्यास डाउन पेमेन्टमा बजाजको मोटरसाइकल दिने भनेर गरिएको प्रचारको विश्वासमा अर्का एक व्यक्ति पनि बजाजको शोरुम पुगे । तर झन्जटिलो प्रक्रियाले उनी हैरान बने । ‘बजाज बाइक ५० प्रतिशत डाउन पेमेन्टमा लिन गएको थिएँ । एकदमै गाह्रो रहेछ । घर खेत नै धितो राख्नुपर्ने झन्जटिलो प्रोसेस छ,’ ती व्यक्तिले सामाजिक सञ्जालमा लखेका छन्,‘लिन गएको पाइएन । विज्ञापनमा मात्रै सजिलो हो व्यावहारमा देखिँदैन ।’


अर्का एक युवाले पनि बजाजले विज्ञापनमा एउटा र शोरुममा अर्कै कुरा गरेको बताए ।
सामाजिक सञ्जालमै विकल नाम गरेका युवाले बजाजको झूट पोल खोलिदिएका छन् । ‘स्क्याम पनि कति गर्न जानेको १० हजार छुट भन्ने अनि दिन चाहीँ ६ हजार दिन्छु त्यसमा पनि ४ हजारको चाहीँ गिफ्ट सामन भनेर जबरजस्ती भिडाउने ? यसलाई १० हजार छुट गरेको भनिन्छ र,’ उनी लेख्छन्,‘झूटको स्क्याम नगरौँ हजुर जे छ त्यही बनाएर हालौँ ।’


सामाजिक सञ्जालमै प्रदिप पोखरेलको आक्रोश भिन्न छ । ‘कामै छैन यस्तो अफर । लोनमा बाइक लिए शोरुमले छुट नदिने, सहकारी बैंकबाट गरे छुट बैंकले खाने । शुन्य प्रतिशत ब्याज भन्याछ तर ५० थोक जोड्याछ,’उनले भने,‘५० प्रतिशत डाउन पेमेन्ट भन्या छ तर, जमानत बस्नेत मान्छे काठमाडौंमा घर भएको चाहिनेरे । बाइक नै राखिसकेसी फेरी दुनियाँ चटक किन ? मान्छे झुक्याउने मेलो ।’


बजाजको स्क्यामबाट मदन कँडेल पनि हैरान छन् । ‘३ लाखको मोटरसाइकल किन्न जाँदा ३ करोडको सम्पत्ति देखाउनुपर्छ । घर भएको मान्छेको दस्तखत, नागरिकता देखि घरको लालपूर्जासम्म छोड्दैनन्,’ उनको आक्रोश छ ।

सम्बन्धित खबर

सिफारिस