अनलाइनबाट एनओसी आवेदन लिने शिक्षा मन्त्रीको घोषणा हावादारी : केशरमहलमा हजारौँको भिड !

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ असोज । शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयले गत असार ३१ गतेदेखि अध्ययन भिषामा विदेश जाने नेपाली विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) खुला गर्यो ।

अनलाईन प्रविधिबाटै एनओसीको आवेदन फारम भर्न पाइने व्यवस्था मिलाएको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति नै निकालेको थियो । तर, मन्त्रालयको विज्ञप्ती हावादारी सावित भएको छ ।

केशरमहल स्थित शिक्षा मन्त्रालयको एनओसी शाखामा कोरोना महामारीबीच ठूलो भिडभाड देखिएको छ ।

आइतबार हजारौंको संख्यामा एनओसी अगाडी पुगेका विद्यार्थीहरु न त व्यक्तिगत दूरी कायम गर्न सक्थे न त अधिकांशको मुखमा मास्क नै थियो ।


मन्त्रालयले अनलाइन प्रणालीबाट व्यवस्थापन गर्न नसक्दा यस्तो स्थिति आएको सहभागीहरुले बताएका छन् । उनीहरुको भिडभाडका कारण कोरोना संक्रमण बढ्ने खतरा देखिएको छ ।


शनिबार सार्वजनिक विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै एक हजार १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

मन्त्रालयले अनलाईन प्रणालीबाट एनओसी वितरण नगरे समस्या झनै बढ्न सक्ने आशंका गरिएको छ ।


शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा मन्त्रीपरिषदले नै एनओसी खुला गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस