काठमाडौं, २० असोज । सरकारी कर्मचारीको कार्यालय समय १०–५ हो । अस्पतालको हकमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि भने स्वास्थ्य संस्थाले नै ड्युटी समय निर्धारण गरेका हुन्छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय तोकेको छ ।
फलस्वरुप चिकित्सकहरुले तलबको आधा बराबरको रकम अतिरिक्त भत्ताको नाममा लिन पाउँछन् । न्याम्स अन्तर्गत वीर अस्पतालमा कार्यरत केही चिकित्सक भने हागिर मात्रै गरेर दिउँसोको समयमा भने नीजि अस्पतालको सेवामा लाग्ने गरेको भेटिएको छ । त्यस्ता कामचोर डाक्टरहरुले ८ घण्टा खटिने डाक्टर सरह अतिरिक्त तलबभत्ता समेत असुल्दै आएको भेटिएको छ ।
डा. बिप्लव सापकोटा प्रतिष्ठान अन्तर्गत वीर अस्पतालका १० औँ तहका अर्थोपेडिक सर्जन हुन् । उनको दरबन्दी भैरहवा स्थित भिम अस्पतालमा हो । उनी विगत केही वर्षदेखि राजधानीमा रहेको वीर अस्पतालमा काजमा खटिएका छन् । न्याम्सले उनलाई नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा खटाएको छ । तर, करिब २ महिना अगाडीदेखिको ट्रयाक रेकर्ड हेर्दा सापकोटाले हाजिर मात्रै गरेका छन् । तर उनी कतिबेला अस्पतालबाट निस्कन्छन् र कहाँ जान्छन् भन्ने जानकारी अस्पताल व्यवस्थापनलाई छैन ।
‘२ महिना अगाडीदेखिको रेकर्डमा उहाँले हाजिर गरेको देखियो तर साँझमा निष्केको कुनै रेकर्ड छैन,’ वीर अस्पताल स्रोतले भन्यो,‘यहाँ हाजिर गर्ने र अन्तै काम गर्ने गर्नुहुन्छ ।’
सरकारी अस्पतालबाट तलबभत्ता खाने डा.सापकोटा राजधानीको सबैभन्दा महँगो अस्पताल नर्भिक अस्पतालको नेतृत्व तहमा छन् । नर्भिकको वेभसाइटमा जनाइए अनुसार उनी मेडिकल उपनिर्देशक हुन् । उनी वीर अस्पतालमा हाजिर गरेर नर्भिक अस्पतालको ड्युटीमा रहने गरेको स्रोतले बतायो । उनका लागि भनेर नर्भिक अस्पतालले छुट्टै क्वाटर समेत बनाइदिएको छ ।
तर, उनी खटिनुपर्ने राष्ट्रिय ट्रमा सेन्टरमा भने कहिलेकाँही मात्रै जान्छन् । दियोपोस्टले कार्यालय समयमा राष्ट्रिय ट्रमा सेन्टरको टेलिफोन नम्बर ०१४२३९१६१ मा सम्पर्क गरेर डा. विप्लव सापकोटा कार्यालयमा रहे नरहेको विषयमा जानकारी मागेको थियो । फोन उठाउने व्यक्तिले आफ्नो नाम अशोक धिताल रहेको बताए ।
‘म उहाँलाई प्राय यहाँ देख्दिनँ । उहाँ यहाँ कमै आउनुहुन्छ । सायद विदामा हुनुहुन्छ,’ उनले भने,‘हामीले फोन हान्दा पनि उठाउनु हुन्न उहाँ कहाँ हुनुहुन्छ भन्ने पत्ता लगाउनै गाह्रो छ ।’
सरकारी अस्पतालबाट तलबभत्ता लिने तर नर्भिक अस्पतालको नेतृत्वमै रहेर जनताको करमाथि रजाई गरिरहेका डा. सापकोटाको विषयमा हामीले ट्रमा सेन्टरकै एक उच्च अधिकारीलाई सम्पर्क गर्यौँ ।
‘सरकारीमा त जागिर धान्ने मात्रै हो । अर्को अस्पतालमा उपनिर्देशक पनि छन् रे । जे गरेपनि हुन्छ । यहाँ कसैले केही कारबाही गर्दैन । उहाँको प्रशासनिक जिम्मेवारी वीरमा हो । तर, ट्रमामा काम गर्नुहुन्छ । उहाँले ट्रमा सेन्टरको हाडजोर्नी विभागिय प्रमुख रुद्र मरासेनीलाई नर्भिकमा जागिर लगाइदिनु भएको छ । उहाँलाई पनि नर्भिकमा लगेपछि हाइसन्चो भयो । डा. ऋषि भन्ने हुनुहुन्छ उहाँलाई पनि नर्भिकमै जागिर लगाइएको छ दुवै जना डाक्टरलाई नर्भिकमा लगाएपछि उ सुरक्षित भयो,’ ट्रमा सेन्टकरकै एक चिकित्सकको भनाई छ,‘भन्नलाई सरकारी भनेपनि यहाँ नीजि अस्पतालका व्यापारिको रजगज छ ।’
त्यसो त सरकारले यस्ता कामचोर डाक्टरलाई तह लगाउन एक डाक्टर एक स्वास्थ्य संस्थाको नीति ल्याउने तयारी गरेको थियो । तर, सापकोटा जस्तै माफिया व्यापारीको सहयोगी डाक्टरहरुको मिलेमतोमा यो नीति जारी हुनबाट रोकिएको छ ।
‘हामीले नै एक चिकित्सक एक स्वास्थ्य संस्था हुनुपर्छ भनेर जोड दिएका थियौँ । त्यो भए मात्रै सरकारी अस्पताल र स्वास्थ्य सेवा अलि सुधारिन्थ्यो । एउटा डाक्टरले एक ठाउँमा मात्रै काम गर्नुपर्छ । सरकारी डाक्टरले सरकारीमा मात्रै काम गर्नुपर्छ,’ वीर अस्पतालकै एक उच्च अधिकारीले भने,‘जो दुई ठाउँमा काम गर्छन् त्यसलाई बाई बाई गरिदिउँ । डाक्टरको खडेरी छैन यो देशमा छैन । यो नीति कार्यान्वयन गर्न मन्त्रीले प्रयास गर्नु भएको हो । तर, यस्तै ब्वाँसाहरुले छेकेर कार्यान्वयन गर्न दिएका छैनन् । यीनीहरुको पहुँच ठूलो छ ।’
हुन त डाक्टर विप्लव सापकोटा आफूलाई विश्वकवि दाबी गर्ने र सुशासनको वकालत गर्ने बसन्त चौधरीको स्वामित्व रहेको नर्भिक अस्पतालको उपनिर्देशक छन् ।
उनी काजमा कार्यरत रहेको वीर अस्पताललाई प्रतिष्ठानको रुपमा रुपान्तरण गरेपछि विहान पनि एक घण्टा थपेर ९ बजेदेखि नै कार्यालय समय बनाइएको थियो । तर, सापकोटाले अस्पतालको निर्देशनलाई खुलमखुल्ला चुनौती दिएका छन् ।
यस विषयमा हामीले वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई सम्पर्क गरेका थियौँ । शुरुमा उनले आफूलाई डाक्टरहरुको ड्युटीको विषयमा जानकारी नहुने र ट्रमा सेन्टरलाई नै थाहा हुने बताए । ‘तपाईंहरुको समन्वय नहुँदा यस्ता कामचोर डाक्टरहरुले उन्मुक्ति त पाइरहेका छैनन् ? भन्ने दियोपोस्टको प्रश्नपछि उनले आफूले यस विषयमा बुझेर तत्काल कारबाही गर्ने प्रतिक्रिया दिए ।
‘म केही सोधपुछ गर्न सक्छु । हाजिर गरेर नर्भिक तिर लाग्यो भने मलाई थाहा हुँदैन । म के बुझ्छु भने हाजिर गरेर ट्रमामा काम गरिरहेको छ भन्ने बुझ्छु । यहाँ काम गर्ने भएपो मैले काममा छ छैन भनेर बुझ्छु त,’ डा. सेन्चुरी भन्छन्,‘त्यसको बेनिफिट उसले लिइरहेको छ । हामीले समन्वय गरेरै पठाएको हो ।’
डा सेन्चुरीले डा. सापकोटा लगायत अर्थोपेडिट डाक्टरहरुको सबै रेखदेख ट्रमा सेन्टरबाटै हुने बताए ।
‘अर्थोपेडिक डक्टर सापलाई पुरै ट्रमा सेन्टरले हेरिरहेको छ । उनीहरु काम गर्ने उतै हुन् । यहाँ हाजिर गरेर यता देखा पर्नुहुन्न । यस विषयमा उतै सोध्नुपर्छ, उता गएकै छैन भने बुझेर कन्फर्म गर्नुपर्छ । यहाँ हाजिर गरेर ट्रमामा गएको छैन भने बदमासी गर्यो नी होइन र कारबाही हुन्छ,’ उनले भने ।
डा सेन्चुरीले सरकारी अस्पतालका डाक्टर नीजि अस्पतालको नेतृत्व तहमा भएर बस्न नमिल्ने समेत बताए । ‘सञ्चालक भएर बस्नका लागि पनि अनुमति चाहिन्छ । कार्यालय समय बाहिर काम गर्न सक्छन् भन्ने नेपाल सरकारको पोलिसिमै छ,’ उनले भने,‘एक डाक्तर एक स्वास्थ्य संस्था भन्ने विषय अक्षरस पालना हुन सकेन । हिजोको अभ्यास के छ भने कुनैपनि व्यक्ति कार्यालय समय बाहेक नीजि अस्पतालमा काम गर्न स्विकृत लिनुपर्ने भन्ने छ । स्वीकृत लिएको छैन भने इलिगल हुन्छ ।’
यता ट्रमा सेन्टरका निर्देशक डाक्टर सन्तोष पौडेलले भने आफ्नो प्रशासनिक जिम्मेवारीमा नपरेका कारण समस्या भएको बताए । ‘खासमा प्रशासनिक जिम्मेवारी मेरो मातहतमा छैन,’ उनले भने,‘मेरो मातहतमा भएको भए यस्तो अवस्था आउने थिएन ।’
नर्भिकबाट मासिक ३ लाख रुपैयाँ तलब बुझ्छन् सापकोटा
नर्भिक अस्पताल स्रोतका अनुसार डा. सापकोटालाई अस्पताल भित्रै भव्य क्वार्टर उपलब्ध गराइएको छ । उनी अस्पतालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्र बहादुर सिंहको मातहमा रहनेगरि उप निर्देशक छन् । उनले मासिक ३ लाख रुपैयाँ नर्भिक अस्पतालबाट पाउँदै आएको स्रोत बताउँछ ।
‘नर्भिकमा रातमा काम गर्छु : डा. सापकोटा
डा. सापकोटालाई दियोपोस्टले पहिलो प्रश्न सोधेको थियो,‘तपाईं वीर अस्पतालमा काजमा खटिनु भएको छ । तर, त्यहाँ हाजिर मात्रै गरेर नर्भिकमा ड्युटीमा पुग्नु हुँदोरहेछ । नेपाली जनताको करबाट तपाईंलाई राज्यले दिएको तलबको दुरुपयोग भएन र ?’
जवाफमा सापकोटाले भने,‘कुरा ठीकै हो । होइन म नर्भिकमा नाइटमा काम गर्छु ।’
दियोपोस्टले तपाईं ‘डे’ दिउँसै नर्भिकमा देखिनुहुन्छ नी ? भन्ने प्रश्न गर्दा उनको जवाफ थियो,‘कहिलेकाँही काम पर्दा जाने हो ।’
डा. सापकोटाले दैनिक ट्रमा सेन्टरमा कति जना विरामीको ओपिडी सेवा हेर्छन् भन्ने वास्तविक विवरण समेत दिन सकेनन् । ‘हामी कोभिडमा समुह समुह छुट्याएको हुन्छ । अस्ति मैले अपरेशन गरेँ । आजै मात्रै १५÷२० जना विरामी हेरेँ,’ उनले भने,‘लिस्ट अनुसार नै हुन्छ ।’
डा सापकोटाले आफ्नो समायोजन भिम अस्पताल भैरहवामा रहेको स्वीकार गरे ।