धादिङ २३ असोज । धादिङका गुण्डा नाइकेको रुपमा परिचित राधाकृष्ण भण्डारी उर्फ राधे पक्राउ परेका छन् ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको जनाएको छ ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेको भन्दै जनप्रतिधिले उनलाई रोक्न भनेका थिए । गाउँपालिका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जनाइएको छ ।
यद्धपी भण्डारीले गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलको काठमाडौंमा बनिरहेको घरमा निशुल्क रुपमा बालुवा गिटि उपलब्ध गराउँदै आएका थिए । स्रोतका अनुसार उनीबाट बालुवा लिने जनप्रतिनिधिले उनलाई धम्की दिँदै आएको आरोप छ ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् ।